काठमाडौं । राष्ट्रिय जनमोर्चाका नेता बोमबहादुर खत्रीलाई कोरोना संक्रमण पुष्टि भएको छ । राजधानीको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत खत्रीको बुधबार साँझ कोरोना संक्रमण भएको रिपोर्ट आएको हो ।
प्युठान जिल्ला विकास समितिका पूर्व सभापति खत्री स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार ह्याम्स अस्पतालमा भर्ना हुनुभएको थियो । सुगर, प्रेसर जस्ता समस्याबाट लामो समयदेखि पीडित रहनुभएका खत्रीलाई निमोनिया देखिएको छ भने ज्वरो र स्वासप्रस्वासमा समस्या भएको छ ।
उहाँको शरीरमा अक्सिजनको मात्रा पनि घटबढ भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । विभिन्न समस्याबाट पीडित नेता खत्रीलाई कोरोना संक्रमणसमेत देखिएपछि उपचार लम्बिने अवस्था देखिएको छ ।
उहाँको अवस्था अनुसार अझै केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने र उपचार खर्च पनि केही महंगो हुने देखिएको राजमो नेता आनन्द शर्माले बताउनुभयो ।
मंगलबार अस्पताल भर्ना हुनुभएका नेता खत्रीको स्वास्थय अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार छुट्टाछुट्टै विज्ञप्ति निकालेर सीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो ।
यो पनिः
महामन्त्री सिंह र राजमो अध्यक्ष केसीद्वारा खत्रीको स्वास्थ्य लाभको कामना
राष्ट्रिय जनमोर्चाका नेता बोमबहादुर खत्री अस्पताल भर्ना