हावाहुरीले पोल्ट्रि व्यवसाय संकटमा

कैलालीको धनगढीका दलबहादुर शाहले राम्रै आम्दानी हुने सोचेर आठ वर्षअघि ऋण खोजेर कुखुरापालन व्यवसाय सुरु गरे । छ जनाले संयुक्तरूपमा सुरु गरेको कुखुरापालन व्यवसाय राम्रोसँगै चल्दै आएको थियो । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को जुगेडामा १८ कट्ठामा कुखुरापालन व्यवसाय सुरु गरेका उनले बैंकबाट सवा एक करोड ऋण र छ जनाको दुई करोड गरी सवा तीन करोड लगानीमा १२ हजार लेयर्स जातको कुखुरापालन व्यवसाय गरेका थिए । “दैनिक २६ पेटी अण्डा उत्पादन हुने हुने गरेको थियो,” उनले भने, “हावाहुरीले कुखुरा, फर्म तथा दाना, मेसिनलगायत सामान उडाएर कामै नलाग्ने बनाइदिएपछि बैंकको किस्ता र काम गर्ने मजदूरलाई तलव खुवाउनै समस्या परेको छ ।”

सम्बन्धित सामग्री

मल अभावले झापाको केराखेती संकटमा

वैशाख ३, झापा । यहाँ केराखेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण संकट आएको बताएका छन् । यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ ।  विगतमा ५० बीघा जमीनमा केराको खेती गरेका कनकाई नगरपालिका–३ का बेनु पराजुलीले आम्दानी सोचेभन्दा कम भएपछि यसपाली ३० बीघाको केराखेती मासेको बताए । शुरुमा ‘केरा जोन’ बनाउने उद्देश्यले खेती शुरु गरे पनि मल अभाव र लकडाउनका कारण केराखेतीबाट ठूलो घाटा व्यहोर्नु परेको उनको भनाइ छ ।             विगतमा पकेट, ब्लक क्षेत्र घोषणा गरेर सरकारी अनुदान लिएका किसानले पछिल्लो समय भाडामा लिएको जग्गासमेत जग्गा धनीलाई नै फर्काउँदै केराको खेती घटाउन थालेका छन् । विगतमा जिल्लाको कनकाई–५, शिवसताक्षी नगरपालिका–७, बाह्रदशी गाउँपालिका–६ र झापा गाउँपालिका–७ मा दुर्गामाता तथा कोलाखेती कृषि फार्मले ४०० बीघा जमीनमा व्यावसायिक केराको खेती गर्दै आएका थिए ।             किसानहरु बेनु पराजुली, हिमदल पराजुली, कुलप्रसाद चिमरिया, लक्ष्मी चिमरिया र गणेश सङ्ग्रौलाले संयुक्तरुपमा फार्म सञ्चालन गरेका थिए । उनीहरुले स्थानीय किसानको जग्गा पाँच वर्षका लागि भाडामा लिएर सामूहिक केराखेती शुरु गरे पनि तीन वर्षमै लगानीसमेत उठ्न नसकेपछि जग्गा फिर्ता गर्दै केरा खेती मास्न थालेका हुन् ।             केराखेती गर्ने यहाँको सबैभन्दा ठूलो फार्मका रुपमा परिचित दुर्गामाता तथा कोलाखेती कृषि फार्मले यसपाली लगभग १०० बीघा जग्गाको केराखेती मासेको छ । खेतीमा चाहिएका बेला रासायनिक मल नपाइने भएको हुँदा उत्पादनमा ह्रास आउने गरेको फार्मका अध्यक्ष लक्ष्मी चिमरियाले बताए ।              वर्षमा केरालाई तीन पटकसम्म मल लगाउनुपर्ने जनाउँदै उनले गत वर्ष एकपटकसमेत मल लगाउन नपाउँदा उत्पादनमा ह्रास आएको गुनासो गरे । केराखेती गर्नका लागि युरिया, डिएपी, पोटास र फस्फोरस मलको आवश्यकता पर्दछ ।                   फार्मले दुई वर्ष कृषि ज्ञान केन्द्रबाट खेतीका लागि ५० प्रतिशत लगानी गर्ने सर्तबमोजिम  ५० लाख रुपैयाँ अनुदान लिएको थियो । उनले विसं २०६६/ ०७७ मा ३२ लाख रुपैयाँ र विसं २०७७/ ०८८ मा १३ लाख रुपैयाँ अनुदान प्राप्त भएको जानकारी दिए।             अनुदान लिने झन्झटिलो प्रक्रिया, समयमा मल नपाउनेलगायत कारण केराखेतीतर्फ किसानको आकर्षण घट्दो छ । ‘केराको बजार राम्रो छ, व्यापारीसम्म हाम्रो सिधै पहुँच पुग्दैन, ठेकेदारमार्फत बेच्दा भने जस्तो दाम नै पाइँदैन, अनि कहाँबाट नाफा हुनु’, पराजुलीले निराश हुँदै भने । उनले चिनी चम्पा र मालभोग केराको खेती गरेका छन् ।            कृषि ज्ञान केन्द्रले आर्थिक वर्ष २०७७/ ०७८ मा जिल्लामा १ हजार ८०० हेक्टर क्षेत्रमा केराको व्यावसायिक खेती भएको बताएको छ । समयमा मल नपाइने, विभिन्न किसिमका रोग लाग्ने र मौसमी हावाहुरीले केराका बोट ढाल्नेलगायत कारण किसान मारमा परेको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत गणेश शिवाकोटीले जानकारी दिए ।।             उनले केरालाई जैविकसँगै रासायनिक मलको पनि आवश्यकता पर्ने तर समयमा नपाइने समस्याका कारण पनि किसान मारमा परेको जानकारी दिए । उनका अनुसार व्यावसायिक केराखेती गर्ने किसानले बाली बिमा नगर्दा प्राकृतिक प्रकोपका कारण क्षति भएका बेला उनीहरुले राहत नपाउँदा पनि ठूलो क्षति व्यहोरिरहेको देखिन्छ ।  उनले साना किसानले उत्पादन गरेको केरा विचौलियामार्फत बेच्नुपर्दा मारमा परेको बताए । रासस