श्रीलंकामा ‘नेपाल प्रवर्द्धन’ कार्यक्रम

काठमाडौं । श्रीलंकामा ‘नेपाल प्रवर्द्धन’ कार्यक्रम सम्पन्न भएको छ । बुद्ध जन्मस्थलसहित नेपालका धार्मिक तथा अन्य पर्यटकीय गन्तव्यको प्रसारप्रसारका लागि उक्त कार्यक्रम गरिएको हो । नेपाल पर्यटन बोर्ड र सिद्धार्थ होटल संघ (सान)को आयोजनामा श्रीलंकाका दुई शहरमा यो कार्यक्रम गरिएको बताइएको छ । गत बुधवार क्याण्डीमा नेपाल प्रवर्द्धन कार्यक्रम गरेका व्यवसायीले शनिवार कोलम्बोमा नेपाल प्रवर्द्धन तथा ‘बिजनेस टु बिजनेस’ कार्यक्रम गरेका हुन् । कार्यक्रममा लुम्बिनीसहित बुद्धिष्ट सर्किटको प्रचारप्रसारमार्फत नेपाललाई पर्यटकीय हब बनाउने सन्दर्भमा छलफल भएको सिद्धार्थ होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले जानकारी दिए । व्यवसायीले कार्यक्रममा आफ्नो टुर प्याकेज प्रवर्द्धन समेत गरेका थिए । उनीहरूले श्रीलंकाबाट गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सीधा उडानका लागि पहल गर्नुका साथै बौद्ध सर्किटको टूर प्याकेज बनाउन आग्रह गरेका छन् । कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले नेपाल ऐतिहासिक पर्यटकीय गन्तव्य भएको भन्दै श्रीलंकाली नागरिकलाई नेपाल घुमेर विशिष्ट अनुभव लिन आग्रह गरे । सचिव अधिकारीले गौतमबुद्ध विमानस्थलमा कम्तीमा साताको एक उडान गर्न श्रीलंकन एयरलाइन्सलाई आग्रह गरे । संघका अध्यक्ष श्रेष्ठले धेरैभन्दा धेरै श्रीलंकाली नागरिकलाई लुम्बिनीमा स्वागत गर्न आफूहरू आतुर रहेको बताए । नेपालमा बुद्धजन्मस्थलको भ्रमण गरेर मात्र अन्य गन्तव्यको भ्रमण प्रारम्भ गर्न उनको आग्रह थियो । श्रीलंकाका ओभर्सिज बुद्धिष्ट टुर अर्गनाइजेसन एशोसिएशनका सचिव महेन्द्र हलोलुवालले धेरै श्रीलंकाली नेपाल भ्रमणका लागि इच्छुक रहेको बताए । आफूहरूले टूर प्याकेज बनाउँदा नेपाललाई मुख्य प्राथमिकतामा राख्ने गरेको उनको भनाइ थियो । श्रीलंकन भिक्षु उदय धम्म थेरोले धार्मिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण मुलुक नेपाल श्रीलंकाली नागरिकको भ्रमणको रोजाइमा रहेको बताए । श्रीलंकन लोटस टुर्स एण्ट ट्राभल्सका अध्यक्ष हर्बट विजेथुंगाले कोलम्बो र क्याण्डीमा भएको नेपाल प्रवर्द्धन कार्यक्रम उपलब्धिपूर्ण हुने अपेक्षा गरे । श्रीलंकन एयरलाइन्सका नेपाल प्रमुख निलिना पाथेरानाले आफूहरूको चाहना नेपालको पर्यटकीय शहरमा उडान गर्ने रहे पनि विभिन्न कारणले ढिलाइ भएको भन्दै आउँदा दिनमा काठमाडौंसहित भैरहवा र पोखरा उडानका लागि पहल गर्ने बताइन् । यस्तै नेपाली राजदूतावास कोलम्बोका द्वितीय सचिव विश्वास भट्टले यस्ता कार्यक्रमले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने बताए । नेपाल प्रवर्द्धन कार्यक्रममा नेपालका सरकारी अधिकारीसहित होटल संघ तथा ट्राभल व्यवसायी गरी १८ जना व्यवसायी सहभागी थिए । यस्तै, श्रीलंकाका १५० भन्दा बढी ट्राभल तथा टुर अपरेटर र होटल व्यवसायी सहभागी थिए ।