चितवन (अस) । चितवन उद्योग संघको आयोजनामा भएकोे तीन दिने छैटौं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी २५ हजारले अवलोकन गरेका छन ।
चितवन उद्योग संघ अध्यक्ष त्रिलोचन कँडेलले पहिलो दिन ६ हजार, दोस्रो दिन ९ हजार र तेस्रो दिन १० हजारले मेला अवलोकन गरेको जानकारी दिए ।
उनका अनुसार यो औद्योगिक मेला केवल निर्माण तथा उत्पादनजन्य र नवीनतम प्रविधिको प्रर्दशनी भएकाले लक्षित वर्गले मात्र अवलोकन गरेका हुन् ।
‘यो प्रदर्शनी मेला, महोत्सवजस्तो होइन । युवा उद्यम लक्षित र बीटुबी प्रकारको प्रदर्शनी हो । कोभिड–१९ का कारण युरोपलगायत अन्य देशका प्रदर्शनकर्ताले बुकिङ रद्द गरेकाले पनि अघिल्ला वर्षको तुलनामा स्टल तथा अवलोकनकर्ता कम भएका हुन्’, उनले भने ।
प्रदर्शनीमा डा. महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र र अल्लोबाट निर्मित नेपाली कपडाको स्टल आकर्षणको केन्द्र बनेको चितवन उद्योग संघले जनाएको छ । आविष्कार केन्द्रको पहिलो प्रदर्शन भएको एवं नेपालकै आविष्कारकले बनाएका प्रविधि र उत्पादन भएकाले स्टलमा अवलोकनकर्ताको बढी रुचि देखिएको कँडेलको बुझाइ छ ।
डा. पुन र उनको टिमले निर्माण गरेका सागसब्जी राख्ने सब्जी कोठी, नवजात शिशुलाई न्यानो बनाउने बेबी वार्मर, कफी भुट्ने कफी रोस्टिङ, गेडागुडी भुट्ने मल्टी ग्रेन रोस्टर, नान बनाउने इलेक्ट्रिक नान रोटी मेकर, अन्डाबाट चल्ला निकाल्ने एग इन्क्युवेटर, चियापत्ती सुकाउने टी ड्रायर, मेडिकल ड्रोनलगायतका १० भन्दा बढी उत्पादन प्रदर्शनीमा राखिएका थिए ।
राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेका सबै उत्पादनबारे अवलोकनकर्ताको चासो बढी देखिएको आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले बताए । यस्तै, सिस्नो प्रजातिबाट बुनिएको अल्लोको कपडाको स्टलमा पनि उत्तिकै आकर्षण रहेको थियो ।