दक्षिण कोरियामा नेपालीलाई कोरोनाको निःशुल्क खोप प्रदान गरिँदै

सिओल । दक्षिण कोरिया सरकारले आफ्नो देशमा बसोबास गर्ने नेपालीलाई निःशुल्क खोप उपलब्ध गराउने भएको छ । सरकारले आफ्नो देशमा बस्ने स्वदेशी तथा विदेशी सबैलाई निःशुल्क रूपमा प्रदान गर्ने भएको हो । दक्षिण कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका प्रमुख जुङइयुन क्युङले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ विरुद्वको खोप कोरियामा रहने सम्पूर्ण स्वदेशी तथा विदेशी नागरिकलाई निःशुल्क प्रदान गर्ने बताउनुभएको हो । यसअघि आफ्ना स्वदेशी नागरिकलाई मात्र निःशुल्क प्रदान गर्ने बताए पनि नयाँ निर्णय गर्दै विदेशीलाई पनि उक्त खोप निःशुल्क दिने भएको हो । यससँगै यहाँ रहेका ५० हजारभन्दा बढी नेपालीले पनि उक्त खोप निःशुल्क प्राप्त गर्न सक्ने भएका छन् । आगामी महिनादेखि सञ्चालन गर्ने भनिएको उक्त खोपको पहिलो प्राथमिकतामा अग्रमोर्चामा रहने स्वास्थ्यकर्मी, स्वयम्सेवक पर्ने छन् । त्यसपछि प्राथमिकतानुसार वृद्ध, बालबालिका, अशक्त, अपाङ्गता भएका व्यक्ति हुँदै सबैलाई वितरण गरिने छ । यद्यपि अवैधानिक तबरले बस्ने तथा स्वास्थ बिमा नभएका विदेशी नागरिकलाई भने उक्त खोप निःशुल्क दिने वा नदिने भन्नेबारेमा भने कोरिया सरकार मौन छ । कोरियामा अवैधानिक तवरले बस्नेहरूको सङख्या पनि ठुलै हुन सक्ने अनुमान छ । दक्षिण कोरियामा पछिल्लो समय कोरोनाको नयाँ प्रजाति पनि पुष्टि हुनुका साथै सङ्क्रमण तीव्र रूपले फैलिएको छ । केही सातादेखि दैनिक एक हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिने क्रम देखिएको थियो तर यो साता भने दैनिक सङ्क्रमितको सङ्ख्यया ४०० भन्दा तल झरेको छ ।