काठमाडौं । नेपालमा चालू आर्थिक वर्षको आठ महीनामा एक करोड ४३ लाख घनफिट काठ उत्पादन भएको छ । नेपाल सरकारले शनिवार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार चालू आवको गत फागुनसम्ममा सो परिमाणमा काठ उत्पादन भएको देखिएको हो । यसैगरी गत आवको सोही अवधिमा भने एक करोड ९४ लाख २४ हजार घनफिट गोलिया काठ उत्पादन भएको थियो । यसैगरी चालू आवको आठ महीनामा १० हजार ६७७ चट्टा दाउरा उत्पादन भएको छ भने गत आवको सोही अवधिमा १० हजार ५८२ चट्टा दाउरा उत्पादन भएको थियो ।
वन तथा वातावरण मन्त्रालयले वार्षिक दुई करोड घनफिट गोलिया काठ उत्पादन गर्ने लक्ष्य राखेको प्रवक्ता मेघनाथ काफ्लेले जानकारी दिए । यद्यपि बजारमा भने वार्षिक तीन करोड घनफिटभन्दा बढी काठको माग छ ।
नेपालमा वर्षेनि अर्बौं मूल्यका गोलिया काठ, काठजन्य सामग्री, विभिन्न किसिमका फर्निचर आयात हुने गरेको छ । मन्त्रालयले यसअघि वैज्ञानिक वन व्यवस्थापन विधिबाट मागअनुसारको काठ उत्पादन गर्ने र विदेशी काठको आयात कम गर्ने नीति लिएको थियो । तर सामुदायिक वन उपभोक्ता महासंघ नेपाललगायत संस्थाले शुरूदेखि नै वैज्ञानिक वन व्यवस्थापनको विरोध गरिरहेको सन्दर्भमा तत्कालीन वनमन्त्री प्रेमबहादुर आलेको कार्यकालमा वैज्ञानिक वन व्यवस्थापन विधि नै खारेज गरिएको थियो ।
नेपालमा साल, सिसौजस्ता कडा काठको मात्र बढी प्रयोग हुने गरेको र ‘कुकाठ’ भनिने नरम काठको उचित सदुपयोग हुन नसक्दा काठको माग र आपूर्तिमा सन्तुलन हुन नसकेको यस क्षेत्रका व्यवसायीको भनाइ छ । साथै नेपाली काठ विदेशी काठको तुलनामा निकै महँगो रहेको छ । नरम काठको सिजनिङ र ट्रिटमेन्ट गरी प्रयोग बढाउनुपर्ने र सरकारले पनि सो नीति प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका पूर्वअध्यक्ष कपिलप्रसाद अधिकारीले बताए ।
नेपालमा वन क्षेत्रले ५९ लाख ६२ हेक्टर र अन्य झाडी तथा बुट्यान क्षेत्रले ६ लाख ४८ हजार हेक्टर भूभाग ओगटेको छ । कुल भूभागको ४० दशमलव ४ प्रतिशत वन र ४ दशमलव ४ प्रतिशत झाडी तथा बुट्यान क्षेत्र गरी कुल वन क्षेत्र ४४ दशमलव ८ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ । नेपालको भू–धरातलीय आधारमा सबैभन्दा बढी वन क्षेत्र मध्यपहाडमा रहेको छ भने कम तराईमा छ । हालसम्म १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष र ६ संरक्षण क्षेत्र गरी २० संरक्षित क्षेत्र छन् । नेपालको कुल ३४ हजार ४२० वर्गकिमी अर्थात् २३ दशमलव ४ प्रतिशत भू–भाग संरक्षित क्षेत्रअन्तर्गत १ लाख ९२ हजार २७ दशमलव ४३ हेक्टर वन क्षेत्र व्यवस्थापन गरिएको तथ्यांक छ । रासस