नेपाल इकोनोमिक्स ओलम्पियाडको चौथो संस्करण शुरू, ‘विद्यार्थीलाई 'प्लस टू'मै वित्तीय साक्षरता’

काठमाडौं । नेपाल इकोनोमिक्स ओलम्पियाड (नियो)को चौथो संस्करण काठमाडौमा शुरू भएको छ । ३ दिनसम्म चल्ने कार्यक्रमको शुक्रवार ललितपुरस्थित काठमाडौं कलेज अफ म्यानेजमेन्ट (केसीएम) मा उद्घाटन भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले नुनदेखि सुनसम्म आयात गर्ने नेपालको मुद्रालाई अन्तरराष्ट्रिय बजारले नचिन्ने भएकाले डलर सञ्चितीमा चाप पर्ने गरेको बताए ।  नेपालको अर्थतन्त्र मन्दीउन्मुख भएको भन्दै यो कोभिड पछि रुस युक्रेन युद्धको प्रभाव भएको पनि उनले बताए । विश्वव्यापी रुपमै ब्याजदर बढाएकाले महँगी पनि बढेको र यसले सबै क्षेत्र प्रभावित भएको उनको भनाइ थियो ।  यद्यपी चालू आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिट्यान्स आप्रवाह २४ प्रतिशतले बढेको, वस्तु आयात २० प्रतिशतले घटेको तथ्याङ्कले केही आशा देखिएको पनि  उनले बताए । त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष विश्वानाथ पौडेलले नियोले विद्यार्थीहरूलाई वित्तीय साक्षरता र व्यवस्थापकीय सीप सिकाउनुका साथै अन्तरराष्ट्रिय मञ्च पनि उपलब्ध गराउँदै आएको बताए । कार्यक्रमको हरेक संस्करणमा आफू जोडिएको भन्दै अर्थशास्त्र पढ्ने विद्यार्थीहरूले अन्य कुन विषय पढ्ने भन्ने बारेमा पनि उनले सुझाव दिएका थिए । नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष जनार्दन बरालले हामीहरूले अर्थतनत्रको बारेमा चासो नराखेकै कारण आर्थिक रुपमा हामी पछि परेको बताए । उनले स्कुल लेभलबाटै अर्थतन्त्रको बारेमा जान्ने अवसर पाएका विद्यार्थीहरू पढ्नको लागि विदेश गएपनि स्वदेशमा फर्केर आए धेरै अवसर पाइने बताए । नेपाल स्टक ब्रोकर एशोसियशनकी उपाध्यक्ष सरिता बिष्टले वित्तीय साक्षरता बढाउने यस्ता कार्यक्रम नगर्ने हो भने र वित्त बजारको बारेमा जानकारी नै नहुने हो भने मुलुक नै डामाडोल हुने बताइन् । अहिलेको युवा पुस्ताले वित्तीय रुपमा चासो राख्नेक्रम बढेकोले भोलिका दिनमा अर्थतन्त्रमा सहयोग पुग्ने पनि उनको विश्वास छ । ज्योति विकास बैंकका बजार अधिकृत बसन्त दाहालले यसरी गाउँ गाउँमा पुगेर विद्यार्थी ल्याइ वित्तीय साक्षरता र व्यवस्थापकीय ज्ञान दिने कार्यक्रम आफैमा महत्वपूर्ण भएको बताए । यस्तो कार्यक्रमले विजेता हुनु मात्रै ठूलो कुरा नभएर कार्यक्रममा सहभागी हुनुपनि ठूलो कुरा भएको उनको भनाइ छ । प्लस टू तहमा व्यवस्थापन संकाय अध्ययनरत ८० जना विद्यार्थीको सहभागीता रहेको उक्त कार्यक्रम ३ दिन सम्म चल्ने नियो द्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।  क्षेत्रीय प्रतिस्पर्धामा देशभरका १६२ कलेजका १००० भन्दा धेरै विद्यार्थीहरू सहभागी भएकोमा उत्कृष्ट ७५ जना विद्यार्थी राष्ट्रिय ओलम्पियाडका लागि छानिएका थिए । सिधै छानिएका ५ जना सहित ८० जना विद्यार्थीहरू राष्ट्रिय ओलम्पियाडमा प्रतिस्पर्धा गर्ने छन् । सहभागीहरूले बिजनेश केश एनलाइसिस, सिमुलेशन र अर्थशास्त्र विषयसँग सम्बन्धित प्रश्न समेटिएको ३ घण्टाको लिखित परीक्षा दिनुपर्छ । केश एनलासिसमा कुनै व्यवसाय कसरी सञ्चालन गर्ने ? कसरी व्यवस्थापन गर्ने ? भन्ने आफ्नो आइडिया दिनुपर्छ । राम्रो आइडिया  पिच  गर्नेलाई विजेता बनाइन्छ । सिमुलेसनमा भने सहभागीहरूलाई निश्चित रुपैयाँ दिएर स्टकमा लगानी गर्ने गेम खेल्न लगाइन्छ । यो गेम अन्तरराष्ट्रिय ओलम्पियाडले अनलाइनबाटै खेलाउँछ । यसमा विस्तृत लगानी योजना बनाएर धेरै प्रतिफल लिन सक्नेलाई विजेता बनाइन्छ । लिखित परीक्षामा भने अंक दिइन्छ ।  राष्ट्रिय ओलम्पियाडबाट छानिएका उत्कृष्ट ५ जना विद्यर्थीले अन्तरराष्ट्रिय इकनोमिक्स ओलम्पियाडमा भाग लिन पाउँछन् । यस अघिका अन्तरराष्ट्रिय प्रतिस्पर्धामा अन्तिम ३ स्थानसम्म हाँसिल गर्दै आएकोमा यसपाली भने आयोजकले गोल्ड मेडल जित्ने लक्ष्य लिएको नियोका साझेदारी निर्देशक दीपक भण्डारीले बताए । कार्यक्रमलाई नेपाल स्टक ब्रोकर एशोसियशन (एसबान), ज्योति विकास बैंक, नेपाल धितोपत्र बोर्ड (सेवोन), नेपाल आर्थिक पत्रकार समाज (सेजन), सानीमा बैंक, नबिल बैंक, प्रभु बैंक, मुक्तिनाथ विकास बैंक, समृद्धि फाउन्डेशन, सीएमएस ग्रुप, प्रतिभा स्कुल, किङ्स कलेज लगायतका संस्थाहरूले सहयोग गरेका छन् ।