जेठ २९, इस्लामावाद(पाकिस्तान) । पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब वृद्धि थोरै भएको भन्दै आन्दोलन शुरु गरेका छन् ।
सरकारले नयाँ आर्थिक वर्षमा १० प्रतिशत मात्रै तलब वद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब वृद्धि थोरै भएको भन्दै आन्दोलन शुरु गरेका हुन् ।उनीहरुले शुक्रवार बृहत प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब वृद्धि हुनुपर्ने मागसमेत गरेका छन् ।
गत तीन वर्षदेखि कर्मचारीहरुको तलब वृद्धि नभएकाले यस वर्ष धेरै वृद्धि हुनुपर्ने उनीहरुको भनाइ रहेको छ । आन्दोलनकारीले करारका कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने माग पनि राखेको जीयो न्यूजले समाचार सम्प्रेषण गरेको छ ।
प्रदर्शनकारीहरुले अर्थमन्त्रीसमेतलाई लक्षित गर्दै राष्ट्रिय संसद भवन अगाडि प्रदर्शन गरेका थिए । १० प्रतिशत मात्रै तलब वृद्धि गर्ने निर्णय संशोधन गर्न पनि उनीहरुले माग गरेका छन् ।
“सरकारले कम्तीमा २५ प्रतिशत तलब वृद्धि नगरेमा जुनको अन्त्यसँगै कडा आन्दोलन घोषणा गर्न बाध्य हुने एक कर्मचारी नेताले बताएका छन् ।
कर्मचारीहरुको आन्दोलनप्रति पाकिस्तान पिपल्स पार्टी (पीपीई) का अध्यक्ष बिलावाल भुट्टो जर्दारीले समर्थन गरेका छन् । कर्मचारीले आयोजना गरेको विरोध कार्यक्रममा समेत शुक्रवार उनी सहभागी भएका थिए । रासस/ एएनआई