सरकारलाई प्रभावकारी बनाउन जोखिम उठाएरै समीकरण परिवर्तन गरेँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौँ, २४ फागुन: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कामलाई प्रभावकारी बनाउन आफूले जोखिम उठाएरै सत्ता समीकरण परिवर्तन गरेको स्पष्ट पार्नुभएको छ ।   प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको जिज्ञासाको जवाफ तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राख्दै उहाँले कार्यक्षमता प्रमाणित नभए वा देशमा सकारात्मक परिवर्तन ल्याउन र आशा जगाउन नसके पद ओगटिनरहने घोषणा नै गरेको र आफ्नो प्रतिबद्धतामा गठबन्धनका केही घटकबाट अपेक्षित साथ नपाएको बताउनुभयो ।   “म सरकारको गतिसँग असन्तुष्ट छु भनेर मैले पटक–पटक भनिरहेकै हुँ । मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भए पनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्र निर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ”, प्रधानमन्त्री दाहालले भन्नुभयो ।  कसैलाई आफ्नो कदम अस्थिरता र गतिशीलता लागे पनि उक्त कदम देश र जनताको हितमा रहेको बताउनुभयो । आउँदा दिनमा सरकारका काम र परिणामबाट उक्त विषय प्रमाणित हुने उहाँको भनाइ छ ।  “सरकारका रूपमा हामीले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल नगरेका होइनौँ तर म तीव्रता चाहन्थेँ । औसत उपलब्धिको आत्मप्रशंसाको पिँजडामा अटाउने अवस्थामा म थिइँन र छैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “साथीहरूले व्यक्तिका रूपमा त मलाई माया गर्नुभयो तर परिवर्तन, सुशासन र समृद्धिको तीव्र आकांक्षा बोकेको प्रधानमन्त्रीका रूपमा मलाई न्याय गर्नुभएन ।”        प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले गर्नुभएको सम्बोधनको सम्पादित अंशः माननीय सांसदहरूले यही फागुन ६ देखि १८ गतेसम्मका छलफलमा केही विषयमा सरकारको धारणा माग गर्नुभएको थियो र त्यसमा सम्माननीय सभामुखबाट जवाफका लागि प्रधानमन्त्रीलाई रुलिङ गरिएको थियो । म आज माननीय सांसदहरूले उठाउनुभएका विषयको जवाफसँगै पछिल्लो राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा राख्दैछु ।  सुरू माननीयज्यूका प्रश्नको जवाफबाट गरौँ । राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनर्गठनसँगै माननीय सांसदका केही प्रश्नले जवाफ पाइसकेका छन् । उदाहरणका लागि बालकुमारी घटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुनर्गठनसँगै असान्दर्भिक भएको छ ।   सरकार सम्मानित संसद्प्रति उत्तरदायी नभएको केही माननीयको आरोप अलि अन्यायपूर्ण भयो भन्ने मेरो गुनासो छ ।  माननीय सांसदहरूसँग नियमित सवालजवाफको कार्यतालिका नै बनाएर सुरू गरिएको ‘प्रधानमन्त्रीसँग सांसद’ अभ्यास सम्मानित सदनमै पहिलोपटक हो । त्यस्तो अभ्यास सुरू गर्ने सरकार र प्रधानमन्त्रीलाई नै संसद्प्रति अनुत्तरदायी ठान्नु पक्कै न्यायपूर्ण हुँदैन । यो अभ्यासमा मैले केबल औपचारिकता पूरा गरेको छैन, हरेक सांसदका हरेक प्रश्नको विस्तृत जवाफ दिने प्रयास गरेको छु । म आगामी दिनमा संसद्सँग अझ धेरै अन्तक्र्रिया र जवाफदेहिताको विश्वास दिलाउँछु ।  संसद्का दुवै सदन अनि संसद्ीय समितिका बैठकमा सरकारको नियमित उपस्थिति रहिआएको छ र रहिरहनेछ ।  सांसदले मिटरब्याजपीडित जनताका समस्यामा सरकारको ध्यानाकर्षण गर्नुभएको छ । यो समस्यालाई बेलैमा बुझेर गत वर्षको चैत २० गते नै सरकारले अधिकारसम्पन्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको सम्मानित सदनलाई जानकारी नै छ । आयोगको आठ महिने कार्यकालमा देशभर करिब २७ हजार उजुरी सङ्कलन भएमध्ये पाँच हजारभन्दा बढी फछ्र्योट भएका छन् भने बाँकीका हकमा समाधान खोज्न गत माघ ३ गतेको मन्त्रिपरिषद् बैठकबाट नयाँ कार्यविधि स्वीकृत गरिएको छ । यसका साथै फौजदारी कार्यविधि संहिता, २०७४ मा संशोधन गरी मिटरब्याजको अनुचित लेनदेनलाई फौजदारी र सरकारवादी कसुरका रूपमा कारबाही अघि बढाउने व्यवस्था गरिएको छ ।  यही १६ फागुनसम्म दुई हजार नौ सय ९४ वटा उजुरी आपसी मेलमिलापबाट फछ्र्योट भएका छन् ।  जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षको छलफलबाट मेलमिलाप गराउने र मेलमिलाप हुन नसके प्राप्त प्रमाणका आधारमा अदालतमा मुद्दा दर्ता गर्ने अहिलेको प्रयासबाट अब केही समयमै सबै उजुरी फछ्र्योट भइसक्नेछन् । मिटरब्याजका लेनदेनलाई एकमुष्ट रूपमा बदर गर्नुपर्ने मागसहित संघर्षमा रहेका नागरिक समूहसँग संवाद र समस्या समाधानका लागि गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन भएको छ ।  संघर्षरत पक्षसँग अहिले भइरहेको वार्ता छिट्टै तार्किक निष्कर्षमा पुग्ने मेरो विश्वास छ ।  सहकारीसँग जोडिएका समस्या समाधानका लागि राष्ट्रिय योजना आयोगका माननीय सदस्यको संयोजकत्वमा गठित कार्यदलले दिएका सुझाव कार्यान्वयन भइरहेका छन् । बचत तथा ऋणको मुख्य कारोबार गर्ने कुनै पनि प्रकृतिको सहकारी संघ, प्रदेश र स्थानीय तहबाट दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्रको स्वीकृतिमा रोक लगाइएको छ । वित्तीय सहकारी संस्थाको नियमनका लागि दोस्रो तहको नियामक निकाय बनाउने कानुनको मस्यौदा अन्तिम चरणमा पुगेको छ ।    सहकारी संघ संस्थाको सम्पत्ति र दायित्वलगायतको वित्तीय अवस्था देखिने श्वेतपत्र जारी गर्ने, सहकारीका सञ्चालक, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा व्यवस्थापकको सम्पत्ति विवरण पेस गर्ने र आगामी चैत मसान्तसम्म माग भएबमोजिमको बचत फिर्ता गर्ने गरी बचत फिर्ता कार्ययोजना विभागमा पेस गर्ने व्यवस्थाका लागि निर्देशन भइसकेको छ । सहकारी बचत तथा कर्जा सुरक्षण कोष, कर्जा असुली न्यायाधीकरण र सहकारी कर्जा सूचना केन्द्रलगायत संस्थागत संरचना स्थापना र सञ्चालनका लागि आवश्यक गृहकार्य भइरहेको छ ।    कार्य विस्तृतीकरण प्रतिवेदन संशोधनका लागि प्रस्ताव गरिएको छ । ठूला कारोबार गर्ने समस्याउन्मुख सहकारी संस्थाको पहिचान गरी नेपाल राष्ट्र बैंकको समेत सहभागितामा सघन अनुगमन कार्य प्रारम्भ गरिएको छ । हालसम्म १८ वटा सहकारी संस्थालाई सहकारी ऐन, २०७४ बमोजिम समस्याग्रस्त सहकारी संस्था घोषणा गरी सम्पत्ति र दायित्व फरफारक गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको छ । समस्याग्रस्त घोषणा गरिएका र समस्याउन्मुख देखिएका सहकारीका सञ्चालक र व्यवस्थापक एवं सम्बन्धित पदाधिकारीबाट नागरिकको बचत रकम अपचलन र आर्थिक अनियमिततामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट समेत अनुसन्धान भइरहेको छ ।  प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट दिइएको निर्देशनविपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थालाई छानबिन गरी कारबाहीको दायरामा ल्याउने कार्य सुरु भइसकेको छ ।  लघुवित्त वित्तीय संस्थाले आवश्यकता र औचित्यको आधारमा एक पटकका लागि असुल हुन बाँकी ब्याजको कम्तीमा पाँच प्रतिशत रकम असुल गरी २०८० चैत मसान्तसम्म कर्जाको पुनर्तालिकीकरण वा पुनर्संरचना गर्न सक्ने र त्यस्तो कर्जालाई सक्रिय कर्जामा वर्गीकरण गर्ने व्यवस्था गरिएको छ । तोकेभन्दा बढी लिइएको सेवा शुल्क फिर्ता गरी सम्बन्धित ऋणीको खातामा जम्मा गर्न दिएको निर्देशन कार्यान्वयन भइरहेको छ । गुनासो सुनुवाइ र त्यसको समाधानका लागि लघुवित्त संस्था सुपरीवेक्षण विभागमा बेग्लै डेस्कको ब्यवस्था गरिएको छ ।    दुग्ध किसानको भुक्तानी सहज बनाउन सरकार, सम्बन्धित उद्योगी–व्यवसायी र किसान सङ्गठनबीच वार्ता गराई किसानले पाउनुपर्ने पुस मसान्तसम्मको वक्यौता आगामी चैत २१ गतेभित्र भुक्तानी गरिसक्ने र अन्य नियमित भुक्तानी जारी राख्ने सहमति भएको छ ।  लुम्बिनी अन्तर्राष्ट्रिय सम्मेलनमा दलाई लामा सहभागी हुने चर्चा सत्य थिएन । त्यसमाथि त्यो सम्मेलन स्थगित भइसकेको छ । कपिलवस्तुको रामग्रामको जग्गा लिज सम्बन्धमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दिएको निर्देशन लुम्बिनी विकास कोषको कार्यकारिणी समितिले कार्यान्वयन गरिसकेको छ ।   रुसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको छ । रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कूटनीतिक दबाब बढाइएको छ । रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउने, मृतकका परिवार तथा घाइतेलाई क्षतिपू्र्ति उपलब्ध गराउने, अनि युक्रेनी सेनाले बन्धक बनाएका नेपाली नागरिकलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा सम्बन्धित देशका अधिकारीहरूसँग विभिन्न तहमा कुराकानी भइरहेको छ ।  पछिल्लो समयमा क्षतिपूर्ति र बीमा रकम नेपाली राजदूतावासको खातामा जम्मा गरी कन्सुलर सेवा विभागमार्फत पीडित परिवारलाई उपलब्ध गराउन रूस सरकार सहमत भएको छ । अध्ययन छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्नबाहेकका नागरिकले रूस यात्रा गर्नु परे ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको छ ।   पछिल्ला राजनीतिक घटनाक्रम, विशेष गरी सत्ता–समीकरणमा भएको फेरबदल र त्यसमा मेरो पक्षबारे संसद्लाई पक्कै जिज्ञासा छ । नेपाली कांग्रेसले सरकारमाथिको विश्वासको मत फिर्ता लिइसकेकाले मैले फेरि विश्वासको मतका लागि सदनमा विस्तृतमा आफ्नो पक्ष राख्न बाँकी नै छ तैपनि यसको तरङ्ग र प्रभाव अलि व्यापक भएकाले संक्षेपमा आफ्नो धारणा राख्न चाहन्छु ।  यो सम्मानित संसद्लाई इमानपूर्वक भन्नुपर्छ, अघिल्लो सत्ता–गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल ‘प्रचण्ड’का रूपमा म कुनै समस्या या अप्ठ्यारोमा थिइनँ, न प्रधानमन्त्री पद नै असुरक्षित थियो । नेपाली कांगेसको नेतृत्व र मबीच व्यक्तिगत अविश्वास पनि केही थिएन । टिकिरहनु मात्रैलाई स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको समस्या पनि थिएन । यो करिब ११ महिना लामो पछिल्लो साथ र सहकार्यप्रति म विशेषतः नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवा र साथीप्रति आभारी छु ।  अहिले पनि हाम्रो निजी सम्बन्धमा कम्तीमा मेरा तर्फबाट उति नै सद्भाव छ । तर, राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक परिणाम निर्णायक हुँदा रहेछन् । अघिल्लो गठबन्धनमा पनि त्यही भयो ।  निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले जुन तहमा कांगे्रसलाई सघायो, त्यही तहमा आफूले सहयोग पाएन । त्यसले आपसी विश्वास कमजोर बनाएकै थियो, निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट पनि नेतृत्व पछि हट्यो । एउटा परिस्थतिमा फेरि जोडिएपछि पछि कोसी प्रदेशमा त कांग्रेसको एउटा समूहले विद्रोह नै गर्‍यो । गठबन्धनको नैतिकताको कसीमा त्यो ‘विद्रोह’ दण्डित हुनुपर्ने थियो तर भयो पुरस्कृत ।  राष्ट्रियसभा निर्वाचनमा त्यो समूहले माओवादी उम्मेदवारलाई अन्तरघातबाट पराजित नै गर्‍यो ।  यता कांग्रेस महासमिति बैठकमा बिनासन्दर्भ त्यही गठबन्धनको निन्दा सुरू भयो जुन गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो । निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारमाथि अनावश्यक र बेसमयको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक थिएन । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको अनि समावेशी, धर्मनिरपेक्ष र समाजवादोन्मुख संविधान निर्माणको मुख्य साझेदार रहेको नेपाली कांग्रेसको महासमिति बैठकमा ‘स्टल’ नै राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो, त्यसले कांग्रेसको संविधानप्रतिको प्रतिबद्धतामै आशङ्का जनाउन सक्ने जमिन तयार गर्‍यो ।   महासमितिमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र होइन, दानवीकरण नै गरियो र ०४७ सालकै संविधान ठीक भएको आशयको प्रतिवेदन वितरण गरियो । यसरी हामीबीच हिजो मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत शङ्का र अविश्वासको वातावरण बन्यो ।  सरकारका रूपमा हामीले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल नगरेका होइनौँ तर म तीव्रता चाहन्थेँ । औसत उपलब्धिको आत्मप्रशंसाको पिँजडामा अटाउने अवस्थामा म थिइँन र छैन । मैले यही सम्मानित संसद्मा विश्वासको मत माग्दै गर्दा यही रोष्टमबाट भनेको थिएँ, तेश्रो पटक म प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुण्ड्याउन यहाँ उभिएको छैन । एकवर्ष कार्यकाल पुरा भएपछिको सम्बोधनमा त मैले कार्यक्षमता प्रमाणित नभए वा देशमा सकारात्मक परिवर्तन ल्याउन र आशा जगाउन नसके पद ओगटिनरहने घोषणा नै गरेको थिएँ । मेरो यो तहको प्रतिबद्धतामा गठबन्धनका केही घटकबाट मैले अपेक्षित साथ पाइनँ । म सङ्केतमा केबल यत्ति भन्छु, साथीहरूले व्यक्तिका रूपमा त मलाई माया गर्नुभयो तर परिवर्तन, सुशासन र समृद्धिको तीव्र आकांक्षा बोकेको प्रधानमन्त्रीका रूपमा मलाई न्याय गर्नुभएन ।  सरकारको गतिसँग असन्तुष्ट छु भनेर मैले पटकपटक भनिरहेकै हुँ । मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भए पनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्रनिर्माणमा लाग्ने ? मैले दोस्रो विकल्प रोजेँ । त्यो कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन् । अब यो कति परिणामुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ । कसैलाई मेरो कदम अस्थिरता लाग्न सक्छ, कसैलाई गतिशीलता तर यसको केन्द्रमा म छैन, मेरो पद छैन, देश र जनताको हित छ । आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्न प्रतिबद्ध छु ।  सरकारमा लामो अनुभव भएका नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीको साथ छ । यो सङ्कटमा साथका लागि म ती दल र नेतृत्वप्रति आभारी छु । अर्कातिर नयाँ उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरूको पनि अब सरकारमा उल्लेखनीय प्रतिनिधित्व छ । सडकमा बसेर प्रतिक्रियाको राजनीति गर्ने सजिलो विकल्प उहाँहरूसँग थियो तर सत्तामै गएर आफूलाई प्रमाणित गर्ने चुनौतीपूर्ण बाटो उहाँहरूले रोज्नुभएको छ । मेरो नेतृत्वप्रति उहाँहरूको भरोसालाई मैले एउटा ठूलो जिम्मेवारी मानेको छु ।   म पुस १० गते नेकपा (एमाले) सहितका दलको समर्थनमा प्रधानमन्त्री निर्वाचित भएको थिएँ । अहिले फेरि एमाले, रास्वपा, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीलगायत दलसँगको सहकार्यमा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । यो नयाँ सहकार्यका लागि म पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीजीमा विशेष धन्यवाद व्यक्त गर्दछु । त्यसैगरि पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सबै दल र नेताहरूमा आभार प्रकट गर्दछु । विश्वास छ- नयाँ गठबन्धनको दायरा थप फराकिलो बन्दै जानेछ ।  अन्त्यमा, मलाई विश्वास छ, हामीले एकै ठाउँमा उभिएर शासनका लक्ष्यहरू हासिल गर्नेछौँ । गठबन्धनका सबै घटकका तर्फबाट म सङ्कल्प गर्दछु, हाम्रो लक्ष्य सत्ता हुने छैन, सुशासन, सामाजिक न्याय र समृद्धि हुनेछ । मलाई विश्वास छ, सम्मानित संसद्ले यसको स्वामित्व लिनेछ ।  

सम्बन्धित सामग्री

सत्ता समीकरण बदल्नुपर्ने खास कारण यस्तो रहेछ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कामलाई प्रभावकारी बनाउन आफूले जोखिम उठाएरै सत्ता समीकरण परिवर्तन गरेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफ तथा पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राख्दै उहाँले कार्यक्षमता प्रमाणित नभए वा देशमा सकारात्मक परिवर्तन ल्याउन र आशा जगाउन नसके पद ओगटिनरहने घोषणा नै गरेको र आफ्नो प्रतिबद्धतामा गठबन्धनका केही …

खोप अभियान प्रभावकारी बनाउन सुझाव

काठमाडौं । तीव्रगतिमा फैलिरहेको कोरोना संक्रमण नियन्त्रणमा लिन सरकारले विशेषज्ञ चिकित्सकसँग छलफल गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एशोसिएशनका पदाधिकारी तथा संक्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणबारे छलफल गर्नुभएको हो । छलफलमा नेपालमा कोरोना संक्रमणको विद्यमान अवस्था, आगामी दिनमा कसरी अगाडि बढ्ने तथा बढिरहेको संक्रमण कसरी रोक्ने भन्ने विषयमा विशेषज्ञले सुझाव राखेका छन् । चिकित्सकहरूले ओमिक्रोन भेरियन्टलाई नियन्त्रणमा लिन सरकारले चाल्नुपर्ने कदमबारे ध्यानाकर्षण गराएका छन् । सहभागी विशेषज्ञ चिकित्सकले कोरोना संक्रमण परीक्षणको दायरा बढाउनुपर्ने, काठमाडौं उपत्यकामा मात्र नभई प्रत्येक जिल्लामा डेडिकेटेड कोभिड अस्पतालल बनाउनुपर्ने, आइसोलेशन सेन्टर, होल्डिङ सेन्टर बनाउनुपर्ने, महामारीविरुद्ध लड्न पर्याप्त जनशक्तिको व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । पछिल्ला केही दिनयता संक्रमितको उपचारमा संलग्न चिकित्सकसमेत संक्रमणको मारमा परेका छन् । त्रिवि शिक्षण, वीरलगायत अस्पतालका स्वास्थ्यकर्मीमा ठूलो संख्यामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्यकर्मीमा संक्रमण फैलँदा नागरिकले उपचार नपाउने जोखिम बढेको छ । केही अस्पतालका चिकित्सक, नर्समा संक्रमण देखिएको, जनशक्तिको अभाव भएको, दक्ष जनशक्तिको अभाव कसरी पूरा गर्ने र स्वास्थ्यकर्मीको स्वास्थ्य स्थितिलाई कसरी मजबूत बनाउने भन्नेबारे चिकित्सकहरूले सुझाव दिएको पाटन अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले जानकारी दिए । सरकारले कोरोना नियन्त्रणका लागि विभिन्न आदेश जारी गरेको छ । सरकारले जारी गरेका आदेशको कार्यान्वयन गर्न क्रियाशील हुनुपर्ने विज्ञहरूको सुझाव थियो । अनावश्यक भीडभाड नगर्ने, अत्यावश्यक अवस्थामा बाहेक घर बाहिर ननिस्कने भनी सरकारले भनिरहे पनि अझै पनि भीडभाड देखिएको भन्दै चिकित्सकहरूले चिन्ता व्यक्त गरेका थिए । जनस्वास्थ्यका मापदण्ड पालनामा सरकारले कडाइ गर्नुपर्ने चिकित्सकको सुझाव थियो । चिकित्सकहरूले तत्कालै लकडाउन गर्नुपर्ने अवस्था नरहेको भन्दै सरकारलाई जारी आदेशको कार्यान्वयन र स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न सुझाव दिएका थिए । ‘छलफलमा सहभागी चिकित्सकहरूले अहिले नै लकडाउन गर्नुपर्छ भनेर सिफारिस गर्नुभएको छैन, लकडाउन त्यो अवस्थामा गर्नुपर्छ, जतिबेला हाम्रो स्वास्थ्य प्रणालीले धान्न सक्दैन, अस्पतालमा अक्सिजन र बेड पुग्दैन,’ छलफलमा उठेका विषयबारे प्रकाश पार्दै प्राडा कोइरालाले भने, ‘स्वास्थ्य मन्त्रालयका सचिवले अहिले नै अस्पताल नभरिएको र यसअघिका तुलनामा अहिले अस्पतालमा व्यवस्थापन पनि राम्रोसँग भइरहेको जानकारी गराउनुभयो ।’ चिकित्सकहरूले लकडाउन गर्नुपरे पनि देशव्यापी रूपमा नभई स्मार्ट लकडाउनका रूपमा गर्न सकिने सुझाव राखेका थिए । रासस

यस्ता छन् सीसीएमसी बैठकले गरेका १३ निर्णय, खोप नलगाएकाले सार्वजनिक सेवा नपाउने

कोरोना सङ्क्रमणको लहर देखिन थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले नेपाल सरकारलाई विभिन्न सिफारिस गरेको छ । केन्द्रको आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न, २५ जना भन्दा बढी भेला हुन नदिन, सार्वजनिक स्थानमा जाँदा र सार्वजनिक सेवा प्राप्त गर्न खोप लगाएको कार्ड अनिवार्य देखाउन, खोप लगाएकालाई मात्र हवाई उडान गर्न दिन, स्मार्ट लकडाउन गर्ने अधिकार सिडिओलाई दिन लगायतका १३ बुँदे सिफारिस गरेको हो । यस्ता छन् केन्द्रका सिफारिस :  १. विश्व परिवेश र छिमेकी मुलुकहरुमा कोभिड १९ तीव्र रुपमा फैलिरहैको सन्दर्भलाई दृष्टिगत गरी सो को रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन जनचेतना अभिवृद्धि, औषधि तथा औषधिजन्य सामानहरु छिटो छरितो माध्यमबाट खरिद तथा आपूर्ति व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिश गर्ने । २. सार्वजनिक स्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्न आह्वान गर्ने । त्यस्तै नगरी नहुने नियमित कार्यक्रमको हकमा स्थानीय प्रशासनको अनुमति लिएर गर्ने व्यवस्था मिलाउने । अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जनाभन्दा बढि भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत् लेखि पठाउन सिफारिश गर्ने।३. सार्वजनिक स्थानहरुमा (कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदि ) प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको Vaccine लगाएको कार्ड ( मोवाइलमा फोटो भएपनि हुने ) साथमा राख्ने र ति निकायहरुले खोप कार्ड हरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउने गरी यही माघ ७ गतेदेखि लागु गर्ने व्यवस्थाका लागि सबै DCMC लाई गृह मन्त्रालय मार्फत् सिफारिश गर्ने । ४. माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य गर्ने । ५. देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरुले वार्षिक विदामा मिलान हुने गरी आगामी माघ १५ सम्म विदा दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मार्फत् सूचना जारी गर्न सिफारिश गर्ने । विदाकै अवधिमा १२ वर्ष देखि १७ वर्षसम्मका विद्यार्थीहरुलाई र १८ वर्षभन्दा माथिका सबै उमेर समुहका पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकहरुलाई खोप उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक खोप आपूर्ति गर्ने र जिल्ला खोप समन्वय समितिले प्राथमिकताका साथ अभियान संचालन गर्न सहजीकरण गर्ने । यस कार्यमा प्रदेश सरकारहरुले सहयोग र सहजिकरणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मार्फत् तथा सबै स्थानीय तहहरुलाई विगतमा झै आवश्यक सहयोग तथा सहजिकरण गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत् अनुरोध गर्ने । ६. नेपाल प्रवेश विन्दुमा एन्टिजेन परीक्षणको कार्यलाई थप प्रभावकारी बनाउने र त्यस्तो परीक्षणबाट Positive देखिएकाहरुलाई तत्काल संस्थागत आईसोलेसन (होल्डिङ्ग सेन्टर, होटेल आदि) मा राख्न सम्बन्धित DCMC ले समन्वय गर्ने र विगतमा भएको अभ्यास अनुरुप भुक्तानी गर्ने स्रोत सुनिश्चताको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने । )७. सार्वजनिक स्थानहरुमा निशुल्क एन्टीजन टेस्ट वुथहरु स्थापना गर्ने र नियमित खोप केन्द्रहरुमा खोपलाई अभियान कै रुपमा अगाडि बढाउने ।८. विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी जेड आकारमा वसाई व्यवस्था गरी संञ्चालन गर्न, परीक्षा केन्द्रमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न र भौतिक दूरीको प्रावधान कडाईका साथ परीपालना गर्ने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिश गर्ने।९. पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक तथा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरि उडान तालिका मिलाउने र माघ ७ गते पछि आन्तरिक उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउने। १०. नेपाल सरकारबाट २०७८।८।१३ र २०७८।९।८ मा जारी आदेशलाई अध्यागमन विभागबाट ट्राभल एडभाईजरी जारी गर्दा देहाय अनुसार थप स्पष्ट पार्ने । क. पूर्ण मात्रा खोप लगाएको र वोडिङ्ग पास जारी हुनु भन्दा ७२ घण्टा भित्रको PCR Negative भएको यात्रुलाई विदेशबाट नेपाल प्रवेशको लागि सम्बन्धित वायुसेवाले वोडिङ्ग पास जारी गर्ने । ख. कोभिड-१९को नयाँ ओमिक्रोन भेरियन्टको पहिलो पटक संक्रमण पहिचान भएका दक्षिण अफ्रिका लगायत ९ (नौ) देशहरुबाट नेपाल आउने वा ती मुलुकहरुमा ट्रान्जिट बनाई नेपाल यात्रा गर्ने नेपाली नागरिक, कूटनीतिक तथा अफिसियल राहदानी वाहक वा आवासीय प्रवेषाज्ञा प्राप्त यात्रुहरुको हकमा मात्रक्वारेण्टिन तथा आईसोलेसनको व्यवस्था लागू हुने | ११. अध्यागमन विभागले ट्राभल एड्भाइजरी सूचना जारी गर्दा गृह मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र परराष्ट्र मन्त्रालयसंग समन्वय गर्ने । त्यस्तो सूचनामा जारी भएको निश्चित मिति, समय र अवधी (duration) पछि मात्र लागु गर्ने व्यवस्था मिलाउने | १२. कोभिड-१९ संक्रमणको स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ र एकीकृत कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना, २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरुलाई गृह मन्त्रालय मार्फत् निर्देशित गर्ने ।१३. समाजमा ओमिक्रोन लगायतका भेरियन्टको प्रभाव र ध्यान दिनुपर्ने विषयमा स्वास्थ्य क्षेत्रका विभिन्न व्यक्तित्वहरु मार्फत नागरिक स्तरमा सकारात्मक सूचना जानकारी उपलब्ध गराउने कार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप पहल गर्ने ।

विकासको सुस्त गतिप्रति प्रधानमन्त्रीको असन्तुष्टि

काठमाडौं  । विकासको गति सुस्त भएकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गर्नुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधवार भएको बैठकमा देउवाले सरकारी कोषको रकम परिचालन नभएर बजारमा तरलता बढिरहेको सन्दर्भमा असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले विकास निर्माणले गति लिन नसकेकोतर्फ पनि सरकारी संयन्त्रको ध्यानाकर्षण गराउनुभएको छ । ‘विकास निर्माणका परियोजनाहरूको गति बढाउन अनावश्यक झन्झट हटाउने गरी लाग्नुहोस्,’ उहाँले निर्देशन दिँदै भन्नुभयो, ‘कानूनी समस्या भए त्यसमा पनि सुधार गर्ने गरी क्रियाशील हुनुहोला ।’ देउवाले राष्ट्रिय गौरवका आयोजनाले गति नलिएकोमा पनि चिन्ता व्यक्त गर्नुभयो । ‘राष्ट्रिय गौरवका आयोजनाको गति सन्तोषजनक नभएकाले प्रभावकारी रूपमा काम गर्नेगरी अनुगमन गर्नुहोस्,’ उहाँले भन्नुभयो, ‘यी आयोजनाको काम तीव्र बनाउन मूल्यांकन संयन्त्र बनाउनेतर्फ लाग्नु होला ।’ सरकारको साझा न्यूनतम कार्यक्रमको कार्यान्वयन, विकासमा प्राथमिकता र सुशासन प्रवर्द्धनबारे सबै मन्त्री, सचिवहरूसहित उच्च पदस्थ कर्मचारीहरूलाई प्रधानमन्त्रीले नौबुँदे निर्देशन दिनुभयो । उहाँले उक्त बैठकलाई सम्बोधनका क्रममा जनतालाई दिने सबै सेवा छिटोछरितो गर्ने गरी सबै तहका सरकारी कार्यालयहरूलाई चुस्त बनाउन भन्नुभएको छ । कोभिड–१९ को जोखिम कायमै रहेकाले खोप लगाउनयोग्य सबै नागरिकलाई कोभिडविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन पनि देउवाले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनुभयो । उहाँले देशमा लगानी आवश्यक रहेका स्वदेशी र विदेशी लगानीकर्तालाई लगानीमा प्रोत्साहन गर्ने कार्यक्रम कार्यान्वयन गर्दै उनीहरूको स्वागत र सम्मान कार्यक्रम अघि बढाउन पनि मातहतका निकायलाई निर्देशा दिनुभएको छ ।

पूर्व सूचना प्रणालीको बेवास्ताले ठूलो क्षति

कैलाली । गत कात्तिक १ गते कर्णाली नदीको बाढीले कैलालीको दक्षिण पूर्वी क्षेत्रमा ठूलो क्षति पुग्यो । बाढी आउनुभन्दा तीन दिन पहिले नै अधिकांशको मोबाइलमा एसएमएस आएको थियो । बाढी आउनसक्ने भएकाले नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो ।       टीकापुर नगरपालिका–८ वनगाँउका आशाराम कुश्मीको मोबाइलमा पनि सूचना आएको थियो । उनले त्यो सूचना हेरे । तर त्यसको पर्वाह भने गरेनन् । पूर्व सूचना प्रणालीका माध्यमबाट सूचना पाएका कुस्मीले त्यो कुरा अरूलाई पनि भनेनन् । अन्ततः बाढी आयो कुश्मीलगायत वनगाउँका बासिन्दालाई घरको अन्नपात, पशु चौपाया, ज्येष्ठ नागरिक तथा बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न निकै समस्या भएको भयो । ‘सूचना प्रणालीको पहुँचमा अझै पनि सबै नागरिक नभएकाले पूर्व सूचना प्रणाली प्रभावकारी हुन सकेको छैन, थाहा भएका नागरिकले अन्य नागरिकलाई सुसूचित गर्नुपर्ने रहेछ भन्ने ज्ञान भएको छ,’ उनले भने, ‘कहिलेकाहीँ मोबाइलमा नेटवर्कको समस्या छ, कामकै व्यस्तताले सूचना प्रणालीमार्फत पाएको सूचनालाई अवलम्बन गर्न सकिएको छैन ।’ सोही ठाउँका स्थानीयवासी धर्माबहादुर थारूले बाढीको पूर्व सूचना प्रणालीलाई समयमै अवलम्बन गर्न नसकेकै कारण बढी जोखिम हुने गरेको बताए । त्यसबाट बालबालिका, खाद्य बस्तु तथा पशु चौपायाको व्यवस्थापनमा चुनौती हुने गरेको उनको भनाइ छ ।     ‘सूचना नपाएकै भन्न मिल्दैन, हामीले बाढी नआएसम्म त्यसको पर्वाह नगरेका मात्रै हौं,’ उनले भने, ‘समुदायमा जनसंख्याको अवस्था हेरेर सूचना प्रणालीको प्रयोग गर्न आवश्यक छ, सूचना पाएकाले सतर्कताको मानसिकता बनाइसकेका हुन्छन्, सूचना नपाएका बढी प्रभावित हुने गरेका छन् ।’ टीकापुर–४ की रामदुलारी चौधरीले बर्सेनि बाढीबाट समस्यामा पर्दै आएको भन्दै घरभित्र र बाहिरको सामान व्यवस्थापन गर्दै समय जाने गरेको बताइन् । टीकापुरका नगर प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरका लागि कर्णाली नदी बाढीको मुख्य समस्या भएको बताए । विपद्को जानकारी गराउँदा पनि आफ्नो आँगनमा पानी नपुग्दासम्म स्थानीयवासीले पूर्व तयारीमा जुट्न नसक्नु नै अर्काे समस्या भएको उनको भनाइ छ । यस्तै जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले पूर्व सूचना प्रणालीका आधारमा प्राप्त भएको सूचनालाई ध्यानमा राख्दै स्थानीयवासीलाई सुरक्षित रहन आग्रह गरिँदै आएको बताए । तर त्यसको कार्यान्वयनमा बेवास्ता गर्दा बढी क्षति हुने गरेको उनको बुझाइ छ । भजनी नगरपालिका विपद् फोकलपर्सन खेमराज पनाडीले सूचना प्राप्त भए पनि नागरिकको बेवास्ताका कारण पूर्व सूचना प्रणाली नै प्रभावकारी नभएको बताए । समस्या आइपरेपछि मात्रै नागरिकमा चेतना आउने गरेको उनले सुनाए । यस्तै जोशीपुर गाउँपालिकाकी कार्यपालिका सदस्य लक्ष्मी महतोले विपद्का घटना दिउँसोभन्दा रातिको समयमा बढी हुने गरेको भन्दै बालबालिका र ज्येष्ठ नागरिकलाई व्यवस्थापन गर्न चुनौती रहेको बताए । टीकापुर–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले विपद्का घटना नसोचेकै समयमा पनि हुने गरेकाले पूर्व सूचना प्रणालीलाई सबैले आत्मसात् गर्नुपर्ने आवश्यकता औंल्याए । नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाका सभापति जगदीश्वर पण्डितले सूचना प्रणालीलाई प्रभावकारी बनाउन गाउँका बडघरलाई सूचित गराउन आवश्यक रहेको भन्दै प्रधानमन्त्री स्वरोजगारमा आबद्ध भएका युवालाई विपद्सँग जोड्न आवश्यक रहेको बताए । रासस

संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पुरा गर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पुरा गर्ने बताएका छन् । सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले यसलाई प्रभावकारी बनाउन सरकारका साथै आमनागरिकको पनि उत्तिकै भूमिका हुने भन्दै कोरोना संक्रमण र रोकथामका लागि जारी भएका स्वास्थ्य मापदण्ड पालनामा जोड दिए । उनले आम नागरिकलाई आह्वान गर्दै भने, ‘सकभर घरमै बसौं, घरबाहिर निस्कनै परे सही तरिकाले अनिवार्य रुपमा मास्क लगाऔँ ।’ उनले कोरोनाबाट जोखिम हात धुन, स्यानिटाइजरले ह