ओमिक्रोनको त्रास : बुकिङ ‘होल्ड अन’ गर्न थाले पर्यटक

काठमाडौं । सन् २०२१ को अन्तिमतिर अर्थात् नोभेम्बरमा नेपालमा यो वर्षकै धेरै पर्यटक आएसँगै लयमा फर्किन थालेको पर्यटन क्षेत्रमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले धक्का दिने प्रारम्भिक अनुमान गर्न थालिएको छ । नयाँ भेरियन्ट नेपालमा समेत पुष्टि भएका बेला अहिले नेपाल आउन चाहने पर्यटकले बुकिङ ‘होल्ड अन’ गर्न आग्रह गर्न थालेको होटेल व्यवसायीहरूले बताएका छन् । सन् २०२१ को नोभेम्बरमा नेपालमा यसअघिका महीनाभन्दा धेरै पर्यटक घुम्न आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बरमा २६ हजार १३५ पर्यटक नेपालमा आएका छन् भने यसअघिको महीना अक्टोबरमा २३ हजार २८४ पर्यटक आएका थिए । पर्यटकको संख्या क्रमशः बढ्दै आएका बेला देखिएको ओमिक्रोनले त्रास सृजना गरेको छ । त्यसैले विभिन्न देशले उडान तथा भ्रमणमा रोक लगाएका छन् भने नेपालले पनि दक्षिण अफ्रिका, हङकङलगायत विभिन्न ९ देश र ती देशलाई ट्रान्जिट बनाएर आउने व्यक्तिलाई नेपाल प्रवेशमा रोक लगाएको छ । ओमिक्रोनको प्रभावले भन्दा पनि यसले उत्पन्न गरेको त्रासका कारण अहिले पर्यटक आउने वातावरण नै नभएको व्यवसायीहरू बताउँछन् । एस होटेल तथा रिसोर्टका कार्यकारी अध्यक्षसमेत रहेका पर्यटन व्यवसायी योगेन्द्र शाक्यले सन् २०२१ मा होटेलहरूको समग्र अकुपेन्सी औसतमा ३० प्रतिशत रहेको जानकारी दिँदै पर्यटन क्षेत्र लयमा फर्किन लाग्ने सम्भावनाका बीच ओमिक्रोन देखिएको बताए । अहिले जनवरी, फेब्रुअरीमा आउने र वसन्त यामसम्मका बुकिङ फ्रिज हुने अवस्था आउन सक्ने उनको भनाइ छ । शाक्यले ओमिक्रोन डरलाग्दो छैन भन्ने कुरा आएको भए पनि यसले एक किसिमको त्रास सृजना गरेको बताउँछन् । लुम्बिनीबाट भारततर्प जान लागेका पर्यटकलाई भारतले रोक लगाएको जानकारी आएको भन्दै उनले अहिले तत्काल नै केही समय ‘होल्ड’ हुने अवस्था आएको बताए । अबको २ महीनापछि मात्रै उठ्न थालेको पर्यटनमा ओमिक्रोनले कस्तो प्रभाव पर्छ भन्न सक्ने उनको विश्लेषण छ । ‘कोभिड पुष्ट हुँदै गर्दा हामीले पर्यटन लयमा फर्कन सन् २०२४ नै पर्खिनुपर्छ भन्ने प्रक्षेपण गरेका थियौं,’ शाक्यले भने, ‘तर, बीचमा पर्यटक आगमन बढेकाले २०२३ मा पर्यटन क्षेत्र लयमा फर्किने आश पलाएको थियो तर अहिले ओमिक्रोनले फेरि समस्या थपेको छ ।’ ओमिक्रोन देखिएपछि अहिले पर्यटक पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ । ‘अहिले पर्यटकहरू होल्ड अनको अवस्थामा छन्,’ उनले भने, ‘नयाँ भेरियन्टले कस्तो रूप लिन्छ भन्ने हो भेरियन्ट डरलाग्दो भएन भने डिसेम्बर, जनवरीतिर नै केही राम्रो संकेत देखिनेछ ।’ पर्यटन बोर्डले भने पर्यटक संख्या बढाउने गरी पर्यटन प्रवद्र्धन र प्रचारप्रसारको कार्यलाई निरन्तता दिने दाबी गरेको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मीले कोरोनाको नयाँ भेरियन्ट आउनासाथ आत्तिहाल्नुभन्दा पनि सावधानी अपनाएर अहिलेको प्रचारप्रसारलाई नै निरन्तरता दिने बताए । ‘पहिलोपटक कोरोना देखिँदा पनि हामी निकै आत्तिएका थियौं, तर त्यस्तो केही भएन,’ उनले भने, ‘ओमिक्रोनको जटिलताका विषयमा उल्लेख्य जानकारी नआएको हुँदा बोर्डले प्रचारप्रसार प्रवद्र्धनका लागि गरेका कुनै पनि कार्यक्रम स्थगित गर्दैन ।’ बोर्डले ७ ओटै प्रदेशमा टुरिस्ट मार्ट गर्ने, बोर्डर सिटी प्रवर्द्धनलाई निरन्तरता दिने उनको भनाइ छ । अहिले आएको पर्यटक संख्यालाई बढाउने गरी बोर्डले काम गर्ने उनले बताए । कोरोना भाइरस देखिएसँगै अन्य देशभन्दा पनि भारत अर्थात् नजिकका पर्यटक भित्र्याउने रणनीतिमा बोर्ड लागेको छ ।

सम्बन्धित सामग्री

‘आर्थिक मन्दी र ओमिक्रोन त्रासले चितवनमा आएनन् पर्यटक’

पुस १४, चितवन । हरेक नयाँ अंग्रेजी वर्षको पूर्व सन्ध्यामा चितवनका होटल भरीभराउ भएपनि यसपटक भने पर्यटकको न्यून उपस्थिति रहेको छ ।  सौराहा तथा चितवनका अन्य पर्यटकीय गन्तव्यमा पनि पर्यटकको उपस्थिति पातलो छ । विगतका वर्षहरुमा थलिएको पर्यटनलाई सिजन शुरु भएसँगै उकासिने आशा गरेपनि पर्यटकको न्यून उपस्थितिले उत्साहमा कमी आएको पर्यटन व्यवसायी बताउँछन् ।  अहिले देखिएको बैंकिङ तरलता अभाव र ओमिक्रोन भाइरसको त्रासका कारण पर्यटक आगमन कम हुन पुगेको पर्यटन व्यवसायीको निचोड छ । क्षेत्रीय होटल संघ चितवन, सौराहाका अध्यक्ष दिपक भट्टराई गत वर्षको तुलनामा यस अंग्रेजी वर्षको पूर्व सन्ध्यामा आधाभन्दा कम पर्यटकको उपस्थिति रहेको बताउँछन् । ‘पोहोरको जस्तै यसपटक पनि पर्यटक भरीभराउ हुने आशा गरेका थियौं उनले भने, हालसम्म ४५ प्रतिशत पनि रुम अकुपाई छैन । कति होटल त खाली जस्तै छन् ।’ अहिले पर्यटकको संख्या कम भएपनि अंग्रेजी नयाँ वर्षबाट भने पर्यटक आउनेमा आशावादी रहेको उनी बताउँछन् ।   हुनत चितवनको पर्यटन बाह्य पर्यटक र जंगल सफारीमा आधारित पर्यटन हो । युरोप लगायत अन्य देशहरुमा ओमिक्रोन प्रभाव बढेको र अझैपनि सहज रुपमा पर्यटक नेपाल आउन नसकेकोले पर्यटकको संख्यामा कमी देखिएको हो ।  अर्कोकुरा केही महीनादेखि बैंकमा तरलताको अभाव कारण हरेक क्षेत्र सुस्त र आर्थिक गतिविधि कम भएका कारण पनि यसको असर पर्यटन क्षेत्रमा परेको हो ।  रेष्टुरेण्ट एण्ड बार एशोसियन (रेवान) सौराहाका निर्वतमान अध्यक्ष दिपेन्द्र खतिवडा हाल सौराहामा केही भारतीय र चाइनिज पर्यटक देखिएपनि आन्तरिक पर्यटकको आगमननै अत्यन्त सुस्त भएको बताउँछन् । देशभर अधिवेशनको माओल, पर्यटकहरु छरिनु, विद्यार्थीहरुको परीक्षा लगायतका कारण परिवारसँगै घुम्न आउने पर्यटक पनि कम भएको उनको भनाइ छ । ‘ओमिक्रोन त्रास बाहिरी देशमा बढेपछि नेपालमा पनि यसको प्रभाव पर्छ नै उनले भने, पछिल्लो समय सौराहामा जस्तै सेवा सुविधा भएका होटलहरु पनि प्रशस्त हुन थाले ।  सौराहामा मात्रै होइन चितवनका अन्य पर्यटकीय गन्तव्यहरुमा पनि पर्यटकहरुको चहलपहल अत्यन्त न्यून छ । अंग्रेजी नयाँ वर्ष शुरु भएपछि रुम बुकिङ हुन थाले पनि हाल भने रुम बुकिङको अवस्था दयनीय रहेको छ । चितवनको दोस्रो प्रमुख पर्यटकीय गन्तव्य मानिएको पटिहानीमा पनि पर्यटकको संख्या अत्यन्त न्यून छ ।  ‘अहिले अकुपाई कति छ भनेर भन्दा पनि भन्नै नहुने अवस्था छ । कसरा रिसोर्टका जनसम्पर्क अधिकृत सागर पौडेल भन्छन्, नयाँ वर्ष शुरु भएपछि भने केही रुम बुकिङ हुँदै गएका छन । हेरौं के हुन्छ ।’ पर्यटकको अहिलेको अवस्थाका कारण आफूहरु सिजनमा समेत अन्यौल हुने अवस्था रहेको उनले बताए ।  लकडाउन र निषेधाज्ञा खुलेपछि हरेक आर्थिक गतिविधि चलायमान देखिएपनि सबै क्षेत्रमा त्यति धेरै उत्साह छैन । आर्थिक मन्दीकै सानादेखि ठूला व्यवसाय, घरजग्गा कारोबार, अटोमोबाइल क्षेत्र तथा अन्य क्षेत्रपनि सुस्तनै देखिन्छ ।  ‘पर्यटन क्षेत्र सुस्त हुनुमा मुख्य कारण दुईओटा देखिन्छ, पर्यटनविद् डाक्टर विश्व सुबेदी भन्छन्, एक तरलताको अभाव अर्को ओमिक्रोनको त्रास । अर्कोकुरा मौसमले पनि साथ दिएको छैन ।’ चितवनमा हरेक क्षेत्रमा सानादेखि स्तरीय होटलहरु र पर्यटकीय गन्तव्य संख्या बढी भएकोले पनि सौराहा लगायत अन्य प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको संख्या कम देखिएको डा. सुवेदीले बताए ।  ‘अहिले होटलहरुको संख्या पनि चितवनमा तीव्र रुपमा वृद्धि हुँदै गएको छ । होटलको अनुपातमा पर्यटकको संख्या कम भयो ।’ उनले भने । कोरोना कहरकै कारण पछिल्लो समय अधिकांश पर्यटकहरु शान्त, कम भीडभाड र फरक फरक ठाउँमा घुम्न जाने बानीको विकास भएकोले पनि पर्यटकको आगमन कम देखिएको उनको भनाइ छ ।

ओमिक्रोनको त्रास : सिक्किममा विदेशी पर्यटक प्रवेशमा रोक

झापा : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास फैलिएसँगै पूर्वोत्तर भारतको सिक्किममा विदेशी पर्यटकहरूलाई प्रवेशमा रोक लगाइएको छ।सिक्किम सरकारले बुधबार बिहान ६ बजेदेखि लागू हुने गरी १५ दिनका लागि विदेशी पर्यटकहरूलाई प्रवेशमा रोक लगाएको पर्यटन मन्त्री बिएस पन्तले जानकारी दिए।डिसेम्बर १ देखि १५ तारिखसम्म सिक्किम भ्रमणमा आउने विदेशी पर्यटकलाई इनर लाइन पर्मिट, रेस्टिक्डेट एरिया पर्मिट र प्रोटेक्टेड एरिया पर्मिट जारी नगरिने उनले बताए।राज्य सरकारले नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको जोखिमलाई म