सीईओ रेग्मीलाई बर्खास्त गर्ने मन्त्री आलेको तयारी, बहुमत पुर्याउन आजै सदस्य नियुक्त गर्दै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पर्यटन बोर्डका सीईओ डा. धनञ्जय रेग्मीलाई जसरी पनि हटाउने अभियानमा लागेका छन् । उनले यसका लागि पूर्व तयारी गरिरहेका छन् ।सोही तयारी अनुरुप पर्यटन बोर्डमा निजी पर्यटन व्यवसायीका तर्फबाट २ जना बोर्ड सदस्य आजै नियुक्तिको तयारीमा मन्त्री आले लागेका छन् । यसका लागि उनले बुधबार मात्रै सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा माया शेर्पा र राजेन्द्र सापकोटा सदस्य रहेको सिफारिस समिति बनाएका थिए । ‘फास्ट ट्र्याक’मा काम गर्ने गरी बनाईएको समितिले शुक्रबार २ सदस्यका लागि नाम सिफारिस गर्ने तयारी गरेको छ । बिहिबारबाट विप्लव पौडेल र पम्फा धमलाको कार्यकाल सकिएको छ । त्यसैले शुक्रबार नै नयाँ सदस्य नियुक्तिको हतारोमा मन्त्री आले लागेका हुन् ।बोर्डमा बहुमत पुर्याउने दाउमा मन्त्रीमन्त्री आले बोर्डका सीईओ डा. धनञ्जय रेग्मीलाई हटाउने अन्तिम तयारीमा छन् । डा. रेग्मीलाई हटाउनकै लागि मन्त्री आलेलाई आजै नयाँ बोर्ड सदस्य आवश्यक परेको हो ।सीईओ रेग्मीविरुद्ध जाँचबुझ गर्न गठित समितिले सोधेको ४ दिने दोस्रो स्पष्टिकरण उनले फागुन ४ गते बुझेका थिए । उनले फागुन ७ गतेसम्म स्पष्टिकरण बुझाउनुपर्ने छ । तर, ७ गते शनिबार परेकाले उनले आइतबार दोस्रो स्पष्टिकरणको जवाफ बुझाउने अनुमान गरिएको छ । समितिले सीईओ डा. रेग्मीलाई ‘तपाईंलाई किन बर्खास्त नगर्ने’ भनेर सोधेको छ । आइतबार उनले स्पष्टिकरण बुझाए पनि नबुझाएपनि सोमबारसम्म बोर्ड बैठक राखेर उनलाई बर्खास्त गर्ने ‘फइनल मुड’मा मन्त्री आले पुगेका छन् । सोमबार बोर्ड बैठक बस्नुअघि हिजोबाठट रिक्त भएको २ सदस्य पदमा जसरी पनि शुक्रबारै नियुक्ति गर्न मन्त्री आले जोडबलले लागेका छन् ।यदि सोमबार अगाडी नै रिक्त सदस्य नियुक्त गर्न नसके बोर्डमा बहुमत नपुग्ने जोखिम छ । बोर्डमा निजीक्षेत्रबाट प्रतिनिधित्व गर्ने ५ जना बोर्ड सदस्यबाहेक बाँकी सदस्य सरकारी प्रतिनिधि हुन्छन् । उनीहरू बोर्डमा पदेन सदस्य मात्रै हुन् । त्यहाँ प्राइभेट सेक्टरबाट गएका ५ जनाको समर्थनबिना बोर्ड बैठकमा अध्यक्ष तथा पर्यटन सचिव एक्लैले निर्णय गर्न सक्ने अवस्था हुँदैन । त्यसैले मन्त्री आले ढिलोमा आइतबारसम्म बोर्डमा नयाँ सदस्य नियुक्त गरेरै छाड्ने कसरतमा छन् ।को बन्ला बोर्ड सदस्य ?निजी क्षेत्रबाट बोर्ड सदस्य हुने ५ जनामध्ये ३ जनामा उपाध्यक्ष चन्द्र रिजाल, ङवाङ शेर्पा र कृष्ण शाहको कार्यकाल २ वर्ष बाँकी छ । नयाँ बोर्ड सदस्यका लागि नेकपा एकिकृत समाजवादीनिकट पर्यटन व्यवसायीहरुले लविङ गरिरहेका छन् । मदन आचार्य र कुमार थापा (अन्जान) ले लविङ गरिरहेको बताइन्छ । तर, रिक्त २ जनामध्ये १ जना महिला भएकाले १ जना महिलालाई बोर्ड सदस्य बनाउनैपर्ने बाध्यतामा मन्त्री आले छन् । कार्यकाल सकिएका २ मध्ये एक माओवादी निकट भएकाले अहिले फेरि माओवादीले पनि यसअघि आफूले पाएको कोटा पुनः पाउनेपर्ने दाबी गरेर आलेलाई हैरानी दिएको छ । सिफारिस समितिका कुनै पनि सदस्यलाई बाहिर बोल्न मन्त्री आलेले बन्देज लगाएका छन् ।