बजेटमा रूग्ण उद्योग पुनरुत्थानका कार्यक्रम नआएकामा संघको असन्तुष्टि

विराटनगर । सरकारले आगामी आर्थिक वर्ष ०७८/८९ का लागि ल्याएको बजेटमा उद्योगी व्यवसायीका १२ मुद्दा सम्बोधन नभएको, १३ वटा सरकारको घोषणा कार्यान्वयनको चुनौती रहेको र २९ वटा सकारात्मक रहेको मुलुककै जेठो औद्योगिक तथा व्यापारिक संगठन मोरङ व्यापार संघले जनाएको छ । अध्यक्ष प्रकाश मुन्दडाले लिखित रूपमा बजेटबारे प्रतिक्रिया जनाउँदै उक्त कुरा बताएका हुन् । विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, विराटनगर चक्रपथ निर्माण, उर्लाबारी– रंगेली–विराटनगर राजमार्गको स्तरोन्नति र विराटनगरका रुग्ण उद्योगहरूको पुनरुत्थान बजेटमा नसमेटिएकामा उनले असन्तुष्टि जनाए । सरकारले उद्योग र व्यवसायको क्षेत्रमा बजेटमा २९ वटा सकारात्मक विषय ल्याएको, बजेट कार्यान्वयनमा १३ चुनौती रहेको र विभिन्न १२ वटा मुद्दा सम्बोधन नभएको संघले जनाएको छ । सरकारले गर्नुपर्ने र सम्बोधन नभएका विषयमा निर्यातजन्य उद्योगलाई प्रोत्साहनको व्यवस्था नभएको, भारतसँगको व्यापार घाटा कम गर्न एवं सन्तुलित विकास गर्न आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उद्योगलाई अनुदानको व्यवस्था नगरेको, औद्योगिक पार्क दुई तहमा बनाउनुपर्नेमा एक तह मात्र गरिएको उसको भनाइ छ । कपडा र होजियारी उद्योगलाई कुनै पनि सुविधा प्राप्त नभएकाले लामो समयदेखि संघले उठाएका माग सम्बोधन हुन नसक्दा सीमापारिका बजार गुल्जार भई यससँग सम्बन्धित स्वदेशी उद्यमी व्यवसायी पलायन हुने सम्भावनालाई बजेटले रोक्न नखोजेको उनले टिप्पणी गरे । यस्तै, विद्युत् विकास विभाग तथा राष्ट्रिय गौरवका आयोजनाले स्वदेशमै उत्पादन हुने वस्तु १ प्रतिशत भन्सार दरमा आयात गर्ने÷गराउने परिपाटीको अविलम्ब अन्त्य गरी यस्ता उद्योगको संरक्षण गर्नेतिर बजेटले ध्यान दिन नसकेको संघको ठहर छ । बजेटका सकारात्मक पक्ष धेरै रहेको जनाउँदै संघले २९ वटा बुँदामा त्यसलाई उल्लेख गरेको छ । ‘बजेट वक्तव्यका सकारात्मक पक्षले विगत वर्षदेखि निजी क्षेत्रका उद्योगी, व्यवसायी र सम्बद्ध संघ–संस्थाले उठाउँदै आएका अधिकांश मुद्दा सम्बोधन गर्न सफल भएकाले समग्रमा यो बजेट निजी क्षेत्रमैत्री बन्न सक्ने उल्लेख छन् ।