नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नविन्द्रराज जोशीको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जली दिनका लागि राखिएको छ । मस्तिष्कघात भइ एक महिनादेखि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार राति निधन भएको हो । नेपाल विद्यार्थी सङ्घका पूर्वमहामन्त्री, काठमाडौंका पूर्वउपप्रमुख, संविधानसभा सदस्य जोशीले नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशकभन्दा लामो समय अनवरत सङ्घर्ष गरेका थिए । जोशीको आजै अपराह्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भएको छ ।