वैशाख १४, चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले चालू आर्थिक वर्ष २०७७/०७८ को चैत महीनासम्ममा १ अर्ब १९ करोड रुपैयाँभन्दा बढीको विद्युत् विक्री गरेको छ ।
कार्यालयले चालू आवको नौ महीनामा १ अर्ब १९ करोड ४३ लाख ११ हजार ३०२ रुपैयाँ बराबरको विद्युत् विक्री गरेको हो । कार्यालयले विक्रीको अनुपातभन्दा बढी राजस्व यसअवधिमा संकलन गरेको छ ।
जसअनुसार चैत्र मसान्तसम्म कार्यालयले १ अर्ब १९ करोड ४९ लाख ९९ हजार ५५४ रुपैयांँ राजस्व संकलन गरेको छ । कार्यालयका लेखा प्रमुख चिरञ्जीवी शर्माले विगतका वर्ष तथा अगाडिका महीनाको बक्यौता संकलन गरिएकोले विक्रीभन्दा बढी राजस्व असुल भएको बताए ।
कार्यालयले गत वर्ष नौ महीनाको अवधिमा १२ करोड ८५ लाख ७२ हजार ६०३ युनिट विद्युत विक्री गरेको थियो । जसबाट १ अर्ब ३७ करोड लाख ८२ हजार ५२२ रुपैयाँ विद्युत् विक्री गरे मध्येबाट १ अर्ब ३१ करोड ३८ लाख १३ हजार ८५८ रुपैयाँ संकलन भएको हो ।
कार्यालयले विद्युत् महसुल, चुहावट कारबाही, बक्यौता रकम, कालोपाटी रकम लगायतका शिर्षकबाट राजस्व संकलन गर्ने गरेको छ ।
चितवनको सबैभन्दा ग्राहक संख्या बढी क्षमता भएको उक्त वितरण केन्द्रमा आव ०७६/ ०७७ मा ५७ हजार ३३ जना ग्राहक संख्या थिए भने चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा यो संख्या बढेर ५९ हजार ४३० जना पुगेको छ ।