पर्वत । गैह्र आवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुल आचार्यले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई नागरिकता दिलाउनेलगायत तीन ओटा माग सम्बोधन गर्न सरकारसँग पहल भइरहेको बताएका छन् । पर्वतको कुश्मामा सोमवार सामाजिक संघसंस्थाका प्रतिनिधिसँग उनले उक्त कुरा बताएका हुन् ।
आचार्यले गैह्र आवासीय नेपालीलाई नागरिकता दिलाउन, सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन र अनलाइन डलर एकाउण्टबाट देशमा सहजरुपमा रकम पठाउन मिल्ने व्यवस्थाका लागि नेपाल सरकारसँग पहल भइरहेको बताए । गैह्र आवासीय नेपालीहरूलाई नागरिकता दिलाउने विषयमा सरकारसँग निरन्तर पहल भइरहेको बताउँदै उनले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँगको भेटमा पनि यो कुरा उठाएको बताए । ‘राष्ट्रपतिज्यूले सकारात्मक जवाफ दिनुभएको छ,’ आचार्यले भने ‘नागरिकताको विषय संसद्मा दुई पटकसम्म पुगिसकेको छ । अब सार्थकरूपमा सरकारले नागरिकताको विषय टुंगाउने छ भन्ने आशा छ ।’
उनले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न पनि पहल भइरहेको बताए । सामाजिक सुरक्षा कोष स्थापना गर्नका लागि सबै तयारी पूरा भएको र केही दिनमा प्रधानमन्त्री पुष्पकमल दाहालले कोषको उद्घाटन गर्ने उनले जानकारी दिए ।
उनले अनलाइन डलर एकाउण्ट बनाएर अनलाइनमार्फत देशमा रकम पठाउने र चाहेको बेला झिक्न मिल्ने व्यवस्था गराउने विषय एनआरएनको प्राथमिकतामा रहेको उल्लेख गरे । यस्तो व्यवस्थाले पूँजी चलायमान हुने, हुण्डी लगायतका गैह्र कानुनी कारोबार रोकिने आचार्यले विश्वास व्यक्त गरे ।
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयरपूँजीमा १० प्रतिशत कोटाको व्यवस्था भएकोमा उनले खुशी व्यक्त गरेका छन् । कुश्मामा पछिल्लो समय बढेको पर्यटकीय आकर्षणलाई दिगो बनाउन गैह्र आवासीय नेपालीहरूले पाँच तारे होटल सञ्चालन गर्ने योजना बनाएको पनि उनले बताए ।
आफ्नो जन्मथलो पर्वतमा पर्यटनको विकास, शिक्षामा सुधार, स्वास्थ्यका पूर्वाधार थप, धार्मिक क्षेत्रको प्रचारप्रसारमा गैह्र आवासीय नेपाली संघको तर्फबाट आवश्यक पहल गरिरहेको आचार्यले बताए ।