महाकाली नदीको बाढीले दार्चुला सदरमुकाम खलङ्गामा वितण्डा मच्चाएको छ वर्ष पूरा भएको छ । वि. संं . २०७० साल असार २ गतेबाट महाकालीमा आएको बाढीले दार्चुला सदरमुकामको भौगोलिक स्वरुप नै परिवर्तन भएको थियो ।
छ वर्ष अघि एउटै लहरमा जोडिएको दार्चुला सदरमुकाम अहिले स्वरुप परिवर्तन भएर तीन टुक्रामा विभाजित छ । २०७० असार २ गतेबाट महाकाली नदीमा आएको बाढीले दार्चुलाका झण्डै डेढ सय घर परिवार तथा दर्जन बढी सरकारी कार्यालय बगाउँदा करोडौँको धनमाल क्षति भएको थियो ।
जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङक अनुसार ११ ओटा सरकारी कार्यालय बगाउँदामात्रै २३ करोड ७९ लाख ३५ हजार दुई सय ७८ रुपियाँ बराबरको क्षति भएको थियो । बाढीमा परी दुई जनाको ज्यान गएको थियो भने दर्जनौँ परिवार विस्थापित भएका थिए । तर पीडितहरूले भने तत्कालीन अवस्थामा सरकारबाट ३५ हजार रुपियाँ राहतबाहेक केही सुविधा नपाएको गुनासो गरिरहेका छन् ।