नेपाल–भारत सीमाको दशगजामा कडाइ

वैशाख १७, बाँके । बाँकेस्थ्ति नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा कडाइ गरिएको छ । निर्वाचित नजिकिँदै जाँदा नाकाबाट अवैध हातहतियार भित्रिन सक्ने भन्दै कडाइ गरिएको हो । वैशाख ३० गते हुने गइरहेको स्थानीय तहको निर्वाचनमा खुला सीमाका कारण भारतबाट अवैध हतियार भित्रिएर निर्वाचन प्रभावित हुनसक्ने सम्भावना रहेकाले कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । अहिले जमुनाह र रुपैडिया नाकामा दुुवै देशका सुरक्षाकर्मीले आवागमनमा सुरक्षा जाँचलाई कडाइ गरेको संयुक्त सुरक्षा गस्तीसमेत शुरू गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । उनले सीमा क्षेत्रमा नेपाल र भारतको तर्फबाट शनिवार बस्ने संयुक्त सुरक्षा अधिकारीहरूको बैठकले नाकाका विषयमा ठोस निर्णय लिने पनि बताए । बैठकले निर्वाचनलाई ध्यानमा राखेर नेपालगञ्जको मुख्य नाका ७२ घण्टाका लागि पूर्णरुपमा बन्द हुनेलगायतका निर्णय हुने बताइएको छ । सीमा क्षेत्रको जमुनाह गेटबाट पश्चिम सुक्खा बन्दरगाह क्षेत्र र सो अगाडि साइगाउँसम्म सुरक्षाकर्मीले संयुक्त गस्तीसमेत गर्नेछन् । जिल्लासँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर पर्छ । रासस