नेपाल एसबिआई बैंकको साधारण सभा पुस २० गते, ५.३१ % लाभांश प्रस्ताव

मंसिर २८, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले पुस २० गते २८ औं वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीले त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने भएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियु्क्ती र निजको पारिश्रमिकसमेत निर्धारण गर्नेछ ।  सभाले कम्पनीले प्रस्ताव गरेको कुल ५ दशमलव ३१ प्रतिशत लाभांशलाई समेत वितरणयोग्य बनाउनेछ । यस वर्ष कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. ९  अर्ब ४९ करोड ३५ लाख ७७ हजारको अधारमा ३ दशमलव ५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १ दशमलव ८१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  बोनस शेयरपश्चात कम्पनीको चुक्तापूँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । साथै सर्वसाधारण समूहतर्फबाट प्रतिनिधित्व हुने गरी एक जना सञ्चालक निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । कम्पनीले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभा मार्फत गराउने तयारी गरेको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीहरु मात्र कम्पनीको लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।