संखुवासभा । संखुवासभामा खानेपानी अभाव भएपछि बसाइँ सर्ने क्रम तीव्र भएको छ । खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन् । वर्षौंदेखि खानेपानी अभाव भएका कारण चैनपुर–१० का १४ घरपरिवार बसाइँ सरेका हुन् ।
सल्लेरी, कल्लेरी, इखुम्बा झिलझिले, साल बिसौना र मलाटेकालगायत गाउँमा खानेपानी अभाव भएपछि स्थानीय बसाइँ सर्न बाध्य भएका छन् । चैनपुर–१० वडाबाट २ वर्षमा १४ घरपरिवार तराई बसाइँ सरेको वडाध्यक्ष तेतबहादुर कटुवालले जानकारी दिए ।
गाउँमा खानेपानी अभाव भएपछि इम्खुवा गाउँबाट पदम राई, पूर्णजीत जिमी, धनबहादुर जिमी, इन्द्र तामाङ, मंगल तामाङ बसाइँ सरेका छन् । कल्लेरी गाउँबाट प्रेमबहादुर कटुवाल, राम तामाङ, गोविन्द कटुवाल, खगेन्द्र कटुवाल, यामबहादुर राई गाउँमा खानेपानी अभाव भएपछि तराईतिर बसाइँ सरेका छन् ।
त्यस्तै, सल्लेरी गाउँबाट चतुरमान तामाङ, सिंहबहादुर राई, ज्ञानबहादुर राईलगायतको घरपरिवार बसाइँ सरेको छ । झिलझिले गाउँका टीकाराम खाती गाउँ छाडेर तराई गएका छन् ।
चैनपुर नगरपालिकाका करिब २ हजार ५०० घरधुरीमा खानेपानी अभाव रहेको छ । गाउँमा पानीको मुहान नहुँदा पिलुवा खोलाको धमिलो पानी ल्याएर प्रयोग गर्ने बाध्य छन् ।
पिलुवा खोलामा पानी लिन जाँदा दुई घन्टाभन्दा बढी समय लाग्ने गरेको स्थानीय भरत भण्डारीले बताए । खानेपानी अभाव भएको चैनपुर–१० मा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, चैनपुर नगरपालिका र युनाइटेड वल्ड स्कुल नेपाल संखुवासभाको संयुक्त लगानीमा गत पुसमा लिफ्टिङ खानेपानी शिलान्यास भएको छ ।
खानेपानी आयोजना शिलान्यास भएपछि कल्लेरी, इखुम्बा, साल विसौना, सल्लेरी, झिलझिलेलगायतका स्थानीयवासीले खुसी व्यक्त गर्दै चाँडै सम्पन्न गरिदिन अनुरोध गरेका छन् । रासस