काठमाडौँ । साहित्यकार गोविन्द लोहनीको निधनप्रति नेकपा (मसाल) ले श्रद्धाञ्जली तथा परिवार जनप्रति समवेदना प्रकट गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७७ माघ ११ गते जारी वक्तव्यमार्फत पार्टीले श्रद्धाञ्जली तथा समवेदना प्रकट गरेको हो ।
महामन्त्री सिंहको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–
“केही दिनपहिले साहित्यकार गोविन्द लोहनीको ९३ वर्षको उमेरमा मृत्यु भएको थियो । उहाँ नेपाली कम्युनिस्ट आन्दोलनको प्रारम्भतिरको सक्रिय व्यक्तित्व, प्रचारक, प्रशिक्षक आदि हुनुहुन्थ्यो । त्यसरी नेपाली कम्युनिस्ट आन्दोलनको प्रारम्भतिर उहाँको महत्त्वपूर्ण भूमिका रहेको थियो । नेपालमा कम्युनिस्ट आन्दोलनको विकासको लागि विभिन्न प्रचार प्रसार तथा प्रशिक्षण दिने कार्यमा उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँले कम्युनिस्ट आन्दोलनसित सम्बन्धित रहेर विभिन्न साहित्यिक तथा बौद्धिक कृति प्रकाशित गर्नुभएको थियो । त्यसबाट नेपाली कम्युनिस्ट आन्दोलनलाई विस्तार र विकास गर्नका लागि महत्त्वपूर्ण योगदान भएको थियो । तर जब नेपाली कम्युनिस्ट आन्दोलनमा विवाद र फुटको स्थिति पैदा हुँदै गए, त्यसपछि उहाँ नेपाली कम्युनिस्ट आन्दोलनमा सक्रिय हुनुभएन । उहाँ केही समयसम्म पञ्चायतमा पनि सक्रिय रहनुभयो । तर त्यसमा पनि उहाँको सक्रियता कायम रहेन । पछिल्लो समयमा उहाँ स्वतन्त्र, साहित्यिक र बौद्धिक लेखक व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ लेखनकार्यमा आफ्नो जीवनभरि कार्यरत र सक्रिय रहनुभयो । उहाँका कैयौँ कृति सामाजिक परिवर्तनका निम्ति रचिएका छन् । त्यसरी लेखनकार्यबाट पनि सामाजिक परिवर्तनको सन्दर्भमा उहाँले योगदान दिनुभएको थियो ।
हामीले उहाँप्रति श्रद्धाञ्जली प्रकट गर्दै परिवारजनप्रति सहानुभुति प्रकट गर्दछौँ ।”