गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको उत्तरपूर्व भागमा अवस्थित यो गाउँपालिका सदरमुकाम गोरखाबाट करीब ७२ किमी उत्तर पश्चिममा पर्छ । पूर्वतर्फ धादिङ जिल्ला र चीनको स्वशासित क्षेत्रसँग जोडिएको यो गाउँपालिका दक्षिणतर्फ आरूघाट गाउँपालिका र धादिङ जिल्ला, उत्तरमा चुमनुम्ब्री गाउँपालिका र पश्चिममा वारपाक सुलिकोट गाउँपालिकासँग सिमाना जोडिएको छ । यो गाउँपालिका राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत् आयोजना तथा मनास्लु हिमाल र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारको रूपमा रहेको छ । साविकका केरौजा, उहिया, लाप्राक, गुम्दा, काशीगाउँ र लापु गरी ६ ओटा गाविस मिलाएर सातओटा वडामा विभाजित यो गाउँपालिका ६५२ वर्ग किलो मीटर क्षेत्रफलमा फैलिएको छ । यस गाउँपालिको केन्द्र वडा नम्बर ५ माछिखोलामा रहेको छ ।
समुद्री सतहबाट ३४५० मीटर उचाइमा रहेको रुवीनाला ग्लेसियर, धार्चे गाउँपालिका, वारपाक सुलिकोट, गाउँपालिका र चुमनुम्ब्री गाउँपालिकाहरूको मात्र होइन, समग्र नेपालकै पर्यटकीय स्थल हो । कम उचाइमा रहेको यो ग्लेसियर विश्वमै जैविक विविधताको दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ ।
स्थानीय माछाखोला बजारसँगै बूढीगण्डकीको वारिपारि तथा माछाखोला बजारबाट २ घण्टाको दूरीमा रहेको तातोपानी कुण्ड धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण रहँदै आएको छ । प्राकृतिक र जैविक विविधताको केन्द्र धार्चेडाँडामा ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गीहरू पाइन्छन् । समथल पाटन र हरियाली जंगलहरू रहेको धार्चेडाँडा गुफाको दृष्टिले समेत महत्त्वपूर्ण छ । मनास्लु ट्रेकिङ, रुवीनाला ट्रेकिङ र गणेशमान ट्रेकिङको प्रवेशमार्ग रहेको धार्चेमा गाउँपालिकाले ट्रेकिङ रूटहरूको समेत विस्तार गर्न आवश्यक छ । प्राकृतिक सौन्दर्य र विविधतासँगै परम्परागत संस्कृति पुरातात्त्विक सम्पदा विभिन्न संरचनाले पनि धार्चे गाउँपालिकालाई पर्यटकिय गन्तव्य बनाउनुपर्छ ।
बाइसे चौबीसे राजाको पालामा राजकाज सञ्चालन हुने हालको धार्चे गाउँपालिका स्थित गुम्दा र लापुको सिमानामा रहेको भीरकोट, ४०० वर्ष अगाडि मगर राजाहरूको दरबार रहेको काम्लाकोट, घले राजाहरूले राज्य गरेको भनिएको कुम्पाकोट तथा आधुनिक नेपालका एकीकरणकर्ता पृथ्वीनारायण शाहको एकीकरणभन्दा अगाडिसम्म छुट्टै राज्यका रूपमा रहेको खोर्लाकोटजस्ता पुरातात्त्विक तथा ऐतिहासिक सम्पदाहरूले समेत धार्चे गाउँपालिका सम्पन्न छ । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भएको लाप्राक गाउँको पुनर्निर्माणअन्तर्गत प्रवासी नेपालीहरूको संगठन एनआरएनले निर्माण गरेको नमूना गाउँ, दोस्रो विश्वयुद्धमा बेलायती सेनाको रूपमा युद्ध गर्दा वीरगति प्राप्त गरेका थमन गुरुङको सम्झानामा स्थापना गरिएको भीसी हिल पार्क, पश्चिमाञ्जलको पहिलो सगरमाथा आरोही इमान गुरुङको सम्झनामा निर्माण गरिएको इमान गुरुङ स्मृति पार्क, केरौंजाको यारु बगरको पहरामा पेजकिलाको साहाराले झुन्डिरहेको क्यान्टिलिवर पुल, खोर्लाबेंशीको पहरोमा खोपिएको बुद्धको मूर्तिलगायत मानवनिर्मित सम्पदाहरूले पनि धार्चेको पृथकता र मौलिकतालाई प्रतिबिम्बित गरिरहेको छ ।
सांस्कृतिक रूपमा पनि धार्चे गाउँपालिका महत्वपूर्ण छ । यहाँ मनाइने मकै विवाहले विश्वकै नवीन मौलिक संस्कृति सँगसँगै कृषिकर्मप्रति श्रद्धा र सम्मानलाई पनि अभिव्यक्त गर्छ । मकै रोप्ने समय माघ र फागुन महीनामा मनाइने मकै विवाहमा मकैको बीउ रोप्नुअघि धर्तीपूजालगायत अन्य पूजाआजा र सांस्कृतिक कर्म गर्ने गरिन्छ । नेपाली समाजमा परिचित रामजानकी विवाहको जस्तो स्वरूप र प्रक्रिया देख्न पाइने मकै विवाहको आफ्नै मौलिक र धार्मिक मान्यता रहेको छ । चण्डीपूर्णिमा, दशैं, तिहार, माघेसंक्रान्ति, ल्होसारलगायत चाडपर्व प्रमुख रूपमा मनाइने यहाँका समुदायहरूमा मारूनीलगायत नाच पनि प्रचलित छन् ।
यहाँ कुट्की, चिराइतो, जटामसी, सुतुवा, निर्मसी, पदमचाल, वनलसुन, यार्सा गुम्वा, पाँचऔंले, शिलाजितजस्ता जडीबुटी पाइन्छ । धार्चे गाउँपालिका प्रकृति र संस्कृतिको सुन्दर संगमस्थल हो । प्रकृति र संस्कृतिको यो सामथ्र्यलाई स्थापित गर्न प्रकृति र संस्कृतिको खुला संग्रहालय धार्चे भन्ने पर्यटन ब्रान्ड नै तय गरिएको पाइन्छ ।
यस क्षेत्रको विकासका लागि एकीकृत पर्यटकीय व्यवस्थापन योजनाको अभावले गर्दा पालिकामा हाल यत्रतत्र अवस्थामा छरिएर रहेका सम्भावित पर्यटकीय आकर्षणहरूको महत्त्वलाई पहिचान गर्न, त्यस्ता आकर्षण स्थलहरूलाई पर्यटन सम्पदाका रूपमा विकास गर्न र पर्यटनसम्बन्धी सेवासुविधालाई पनि प्रभावकारी बनाउन सकिएको स्थिति पाइँदैन । यस क्षेत्रका पर्यटकीय सम्भावना बोकेका अधिकांश स्थल गाउँपालिकाका विभिन्न क्षेत्रमा छरिएर रहेका छन् र यहाँ पर्याप्त र राम्रो पर्यटकीय सेवासुविधा दिइने अवस्था अझै कमी छ । कमजोर व्यवस्थापन, अपर्याप्त र खण्डित अवस्थाबाट ग्रस्त रहेको छ । यसबाट यहाँका बासिन्दाले खास रूपमा फाइदा लिन सकेको स्थिति छैन । त्यसैले, धार्चे गाउँपालिका क्षेत्रका लागि पर्यटकीय सम्भाव्यता अध्ययन गरी व्यवस्थित योजना तर्जुमा गर्नुपर्ने आवश्यकता महसूस गरिएको छ । अतः पर्यटन विकास, पर्यटन सम्पदा तथा पर्यटन सेवासुविधालाई प्याकेजिङ गरी विकास गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ ।
यस क्षेत्रको समग्र आम्दानीमा पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तर गाउँपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत पर्यटन एउटा महत्त्वपूर्ण माध्यम हुनसक्छ । धार्चे गाउँपालिकामा रहेका होटेल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजीक्षेत्रको समेत संलग्नतामा आआफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्त्विक तथा धार्मिक महत्त्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आएको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक देखिन्छ ।
डा. अधिकारी गुणस्तर जीवन विषयमा विद्यावारिधि हुन् ।