नेपालमा पछिल्लो समय कम उमेरका व्यक्तिलाई हृदयघातको उच्च जोखिम देखिन थालेको छ । ४० वर्षपछि मात्र हुने भनिएको हृदयघात पछिल्लो केहीवर्षमा २०/२५ उमेरमै देखिएकोमा विज्ञहरु चिन्तित छन् ।
शहीद गङ्गालाल हृदय रोग केन्द्रका निर्देशक डा.चन्द्रमणि अधिकारीले सूर्तिजन्य पदार्थको सेवनबाट धेरै कम उमेरका युवामा हृदयघात भएर अस्पतालमा आउने बताउनुभयो ।
डा. अधिकारीका अनुसार अस्पतालले गरेको एक अध्ययन अनुसार विगत १० वर्षमा हृदयघात हुने सङ्ख्या ४६ प्रतिशतले बढेको छ । हृदयघात हुनेमा सबैभन्दा बढी सूर्तिजन्य पदार्थको सेवन गरेको पाइएको डा.अधिकारीले जानकारी दिनुभयो ।