खानेपानीको चरम अभाव झेलिरहेका सिन्धुपाल्चोकवासीलाई लिफ्ट खानेपानी आयोजनाबाट पानी वितरण गरिने भएको छ । साँगाचोकमा सञ्चालित आयोजनाको पानी आगामी वैशाखदेखि उपभोक्तालाई उपलब्ध गराउने गरी काम भइरहेको जनाइएको छ ।
कूल रु १८ करोड लागतमा निर्माण भइरहेको आयोजनाबाट गत असारमा सम्पन्न गर्ने गरी दुई वर्षको अवधि तोकी ठेक्का सम्झौता भए पनि कोभिड–१९ महामारीका कारण १० महिनापछि सरेको हो । वैशाखमा उपभोक्ताको घरघरमा पानी वितरण गरिने उपभोक्ता समितिका अध्यक्ष दधिराम पराजुलीले बताउनुभयो ।
उक्त आयोजनाबाट चौतारा साँगाचोकगढी नगरपालिका–१०, ११ र १२ का कूल दुई हजार २२२ घरपरिवारले निजी धारा जडान गरी स्वच्छ पानी उपभोग गर्न पाउनेछन् । विसं २०७२ को भूकम्पले साविकको मुहान सुकेपछि खानेपानीको चरम अभाव भोगिरहेका स्थगानीयवासीले गाउँभन्दा तल पर्ने जादेखोला टुनीबोट मुहानबाट पानी ल्याउने योजना शुरु गरिएको थियो ।