बैशाख १८, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) निकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले अनौपचारिक क्षेत्रमा सामाजिक सुरक्षा भत्ता दिन सरकारले नचाहेको आरोप लगाएको छ ।
अन्तरराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर जिफन्टले शनिवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त आरोप लगाएको हो ।
अनौपचारिक क्षेत्रमा पनि सामाजिक सुरक्षा भत्ता लागू गराउनका लागि कार्यविधि बन्दै गरेको भएपनि सरकार त्यसका लागि तयार नभएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताए । उनले मजदूरलाई भन्दा सो भत्ताबारे सरकारलाई बुझाउन आफूहरुलाई गाह्रो भईरहेको टिप्पणी पनि गरे ।
अध्यक्ष श्रेष्ठले भने, ‘सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने कुरामा मजदूरलाई भन्दा सरकारलाई बुझाउन सकेका छैनौं । यो नै समस्या हो । अनौपचारिक क्षेत्रको पनि कार्यविधि बन्दैछ । अहिले हामी छलफल गरिरहेका छौं । सरकारले चाहेमा यो तुरुन्त लागू हुन सक्दछ । तर अव सरकारले नचाहेको होकि भन्ने हाम्रो आरोप छ ।’
जिफन्टले सामाजिक सुरक्षा भत्ता वितरणको विरोधमा केही मजदूरहरु आफै लागेको भन्दै आपत्ति जनाउँदै आएको छ ।