राष्ट्र बैंकले कडाइ गरेपछि मुद्दती निक्षेप तथा शेयरबाट लगानी झिक्दै लघुवित्त

फागुन २५, काठमाडौं । नेपाल राष्ट्र बैंकले कडाइ गरेसँगै लघुवित्त वित्तीय संस्थाहरूले मुद्दती निक्षेप तथा शेयरबाट लगानी झिक्न थालेका छन्  । विपन्न वर्गलाई वित्तीय सेवा पुर्‍याउने उद्देश्यले स्थापना भएका लघुवित्त संस्थाले मुद्दती निक्षेप र शेयरबजारमा पैसा लगानी गर्न थालेपछि राष्ट्र बैंकले यसमा कडाइ गरेको थियो । यस कारण लघुवित्त संस्थाहरूले लगानीमा रहेको रकम झिकेर कर्जा प्रवाह वृद्धि गरेका हुन् । राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव)को पुससम्ममा लघुवित्तहरूको ९ अर्ब ९१ करोड रुपैयाँ शेयर लगानी तथा मुद्दती निक्षेपमा थुप्रिएको छ । अघिल्लो आवको तुलनामा लघुवित्तहरूको लगानी ३२ प्रतिशतले घटेको छ । गत पुससम्ममा लघुवित्तहरूको लगानी १७ अर्ब ३७ करोड रहेको थियो । बैंक तथा वित्तीय संस्थाहरूले विपन्न वर्गमा अनिवार्य रूपले लगानी गर्नुपर्ने रकम लिएर लघुवित्त संस्थाहरूले शेयरमा लगानी गर्नुका साथै बैंकमै मुद्दती निक्षेपमा राख्दै आएका छन्् । चालू आवको पुससम्ममा लघुवित्त संस्थाहरूको कुल लगानीमध्ये ७७ करोड सरकारी सुरक्षणपत्रमा रहेको छ । यसबाहेक मुद्दती निक्षेपमा ८ अर्ब २७ करोड थुप्रिएको छ । यसैगरी शेयर तथा डिबेन्चरमा ११ करोड ८४ लाख र अन्य लगानीमा ७५ करोड १७ लाख रुपैयाँ रहेको छ । विपन्न वर्गलाई लगानी गर्नुपर्ने रकम लघुवित्त संस्थाहरूले मुद्दती निक्षेपमा राखेर ब्याज खाने र शेयरमा लगानी गर्ने प्रवृत्ति बढ्दै गएपछि राष्ट्र बैंकले यसमा कडाइ गर्न थालेको हो । राष्ट्र बैंकले एकीकृत निर्देशन-२०७८ मार्फत लघुवित्त संस्थाहरूलाई शेयर लगानीमा रोक लगाइसकेको छ । निर्देशनअनुसार लघुवित्तले संगठित संस्थाको शेयर, डिबेन्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगानी गर्न नपाउने व्यवस्था गरेको छ । यसैगरी लगानीमा रहेको शेयर विक्रीका लागि भने २०७९ असारसम्मको समय दिएको छ । यसैगरी लघुवित्तहरूलाई बैंकमा मुद्दती निक्षेप राख्नसमेत राष्ट्र बैंकले रोक लगाइसकेको छ । लघुवित्तले निश्चित प्रयोजनका लागि स्थापित दीर्घकालीन कोषहरूबाहेकको रकम बैंक तथा वित्तीय संस्थामा ३ महीनाभन्दा बढी मुद्दती निक्षेपमा राख्न र नवीकरण गर्न नपाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकको कडाइसँगै लघुवित्तहरूको लगानी भने घट्दै गएको हो । गत आवको पुससम्म लघुवित्तहरूको १५ अर्ब ३० करोड मुद्दती निक्षेपमा र १३ करोड शेयरमा लगानीमा रहेको थियो ।  नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा गत कोभिड महामारीका कारण कर्जा प्रवाह गर्न नसक्दा लघुवित्तको पूँजी मुद्दती निक्षेपमा थुप्रिएको स्वीकार गर्छन् । ‘कोभिडका कारण कर्जा प्रवाह नहुँदा मुद्दती निक्षेप, शेयरमा लगानी भएको हो,’ शर्माले भने । शर्माका अनुसार अहिले अवस्था सामान्य रहेको र राष्ट्र बैंकको समेत कडाइले लगानी घटेर कर्जा वृद्धि भएको छ । अभियान दैनिकको प्रिन्ट संस्करणबाट

सम्बन्धित सामग्री

केन्द्रीय बैंकको नाफा

नेपालका बैंकहरूको नाफालाई लिएर अनेक तर्क भइरहेका बेला नेपाल राष्ट्र बैंकले पनि नाफा कमाएको वासलात सार्वजनिक भएपछि अनेक टिप्पणी गरिएको पाइन्छ । नेपाल राष्ट्र बैंक नियामक निकाय भएकाले यो नाफामूलक संस्था होइन र उसले नाफाका लागि लगानी गर्न पनि पाउँदैन । यस्तोमा उसले कसरी नाफा कमायो त ? ऋण प्रवाह गर्दा विभिन्न शर्त राख्ने र शर्तकै कारण देखाउँदै बैंकहरूले कर्जाको ब्याज बढाएकोमा आक्रोश पोख्ने समूह ठूलै पाइन्छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक वित्तीय विवरणअनुसार गत असारको विदेशी मुद्रा सञ्चितिको दाँजोमा पुस महीनामा बढेको छ । गत असारमा ४० अर्ब रिजर्भमा रहेकामा पुस मसान्तमा यो ४७ अर्बमा पुगेको छ । यसरी राष्ट्र बैंकको विदेशी रिजर्भ बढेको देखिन्छ । त्यस्तै बैंकको रिजर्भ गत असारमा ४ खर्ब २ अर्ब रहेकामा पुस मसान्तमा ४ खर्ब ५१ अर्ब पुगेको छ । यसले केन्द्रीय बैंकले नाफा कमाएको देखाउँछ । राष्ट्र बैंक नाफामूलक संस्था नभए पनि उसले स्वदेश र विदेशमा विदेशी विनिमय सञ्चितिमा राखेको हुन्छ । अहिले डलरको मूल्य बढेकाले यसको नाफा बढेको हुन सक्छ । साथै, विदेशमा राखिएको नगदको पनि उसले ब्याज प्राप्त गर्छ । राष्ट्र बैंकले सरकारी सुरक्षणमा पनि लगानी गर्छ । त्यस्तै बैंकको सामाजिक सुरक्षालगायत कार्यक्रमको रकम उसले बैंकहरूमा मुद्दती खातामा राख्छ, जसबाट उसले नाफा आर्जन गर्छ । यसरी गैरनाफामूलक संस्था भए पनि उसको खातामा नाफा बढेको देखिन्छ । तर, वाणिज्य बैंकहरूले जस्तो उसले नाफाकै लागि लगानी गरेको भने हुँदैन । अहिले नेपालका बैंक तथा वित्तीय संस्थाले मुनाफा कमाएको भनी आलोचना पनि हुने गरेको छ । तर, बैंकहरूले लगानीअनुसार नाफा कमाउन नसकेको पनि बलियोसँग उठेको छ । बैंकहरू पारदर्शी रूपमा सञ्चालन भएकाले नाफा देखिए पनि बैंकले जत्तिकै लगानी गरेका अन्य व्यवसायको नाफा त्यो भन्दा बढी हुने गरेको तर्क पनि चर्चामा रहेको पाइन्छ । खासगरी ऋण प्रवाह गर्दा विभिन्न शर्त राख्ने र शर्तकै कारण देखाउँदै बैंकहरूले कर्जाको ब्याज बढाएकोमा आक्रोश पोख्ने समूह ठूलै पाइन्छ । बैंकहरूले निक्षेपको ब्याज घटाए पनि कर्जाको ब्याज नघटाएको गुनासो छ । तर, कैयन् बैंकले मुद्दती निक्षेप संकलन यसअघि नै गरिसकेका कारण तत्काल ठूलो अन्तरले कर्जाको ब्याज घटाउँदा पनि समस्या नै पर्ने देखिन्छ । यसअवधिमा बैंकहरूले लागत बढेपछि ब्याजदर बढाउनु परेको तर्क गर्ने गरेका छन् । आँकडामा हेर्दा बैंकहरूको मुनाफा देखिन्छ पनि । तर, अहिले बैंकहरू निकै ठूला भएका छन् । त्यसो हुँदा उनीहरूको प्रतिशेयर आम्दानी निकै घटेको छ । कुनै बेला प्रतिशेयर ६०/७० रुपैयाँ कमाएका बैंकको कमाइ अहिले २७/२८ रुपैयाँमा झरेको छ । प्रायः सबै बैंकहरूको प्रतिशेयरका आधारमा निकै घटेको छ । त्यसो त नेपालका बैंकहरूले सार्वजनिक गर्ने वित्तीय विवरणमा अझ सबै कुरा खुलाउने गरिएको छैन । भारतका बैंकहरूले त्योभन्दा बढी शीर्षकमा आफ्ना लगानीबारे जानकारी दिन्छन् । नाफाको लक्ष्य कति हो भन्नेसम्म विवरण उनीहरूले सार्वजनिक गर्ने गरेका छन् । त्यसैले नेपालका बैैंकहरूलाई थप पारदर्शी बनाउन आवश्यक छ । अतः नेपालको केन्द्रीय बैंक तथा अन्य वाणिज्य बैंकहरूको नाफाबारे स्पष्टता आवश्यक हुन्छ । समान लगानी गरेका व्यवसायबाट मनग्यै आम्दानी हुने तर बैंकबाट हुनु हुँदैन भन्ने तर्क व्यावहारिक हुँदैन । राष्ट्र बैंकको हकमा पनि सोही अवधारणाले काम गर्नुपर्छ । तर, यसको अर्थ अन्य क्षेत्र समस्यामा परिरहँदा नाफाजति वित्तीय संस्थाले मात्र गर्नुपर्छ भन्ने हुँदैन । समाजमा एकले अर्काको अस्तित्व स्वीकार्दै र सामाजिक न्यायको सिद्धान्तअनुसार लगानी र क्षमताअनुसार लाभ लिन पाउने व्यवस्था आवश्यक छ । यसका लागि निश्चित मापदण्ड पूरा गरेर स्थापना भएका बैंक हुन् वा उद्योग व्यवसाय, पारदर्शी रूपमा सञ्चालन हुन त आवश्यक छ नै । साथै, हरेक गतिविधिलाई सार्वजनिक गर्दै लैजानु आजको आवश्यकता हो ।

बैंक तथा वित्तीय संस्थालाई ४० करोड लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले उत्पादन तथा पेन्सनकोषको ४० करोड रुपैयाँ मुद्दती निक्षेप गर्ने भएको छ । मंगलबार सूचना निकालेर राष्ट्र बैंकले लिन चाहेको रकम र दिन चाहेको ब्याजदर उल्लेख गरी बैंक तथा वित्तिय संस्थाहरुलाई १ मंसिर साँझ ७ बजेभित्र प्रस्ताव गर्न भनेको छ ।

बैंक तथा वित्तीय संस्थालाई ४० करोड लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले उत्पादन तथा पेन्सनकोषको ४० करोड रुपैयाँ मुद्दती निक्षेप गर्ने भएको छ । मंगलबार सूचना निकालेर राष्ट्र बैंकले लिन चाहेको रकम र दिन चाहेको ब्याजदर उल्लेख गरी बैंक तथा वित्तिय संस्थाहरुलाई १ मंसिर साँझ ७ बजेभित्र प्रस्ताव गर्न भनेको छ ।

निक्षेप संकलन र परिचालनमा बैंकिङ क्षेत्र चुक्दै

नेपालको वित्तीय प्रणालीमा बैंकिङ, बीमा, पूँजीबजार, गैरबैंकिङ वित्तीय क्षेत्र र सहकारी रहेका छन् जसबाट वित्तीय स्रोतका रूपमा निक्षेप संकलन र परिचालन भइरहेको छ । बैंकहरूमा प्राप्त हुने पूँजी वा कोषको ८० प्रतिशतभन्दा बढीको मुख्य स्रोत निक्षेप नै हो । हालका दिनमा अधिक तरलताको समस्या छ र अधिक लगानीले स्रोतको रूपमा रहेको निक्षेपको परिचालन गर्न बैंकिङ क्षेत्र चुक्दै गएका देखिन्छ । बैंक तथा वित्तीय संस्थाहरूको स्थापना र विस्तारमा उदारीकरणको नीति अवलम्बनपछि त्यस्ता संस्थाहरूको संख्यात्मक र गुणात्मक वृद्धि भएको छ । कोभिड–१९ ले गर्दा सर्वसाधारणको आयको न्यूनस्तरका कारण आन्तरिक बचतको स्तरसमेत न्यून, विप्रेषणमा कमी र वित्तीय साक्षरता समेतको अभावको अवस्थामा निक्षेप संकलन र यसको परिचालन चुनौती पूर्ण बन्नु स्वाभाविक हो । हालका दिनहरूमा बैंकिङ क्षेत्रको ध्यान बढी संस्थागत निक्षेपतर्फ गएको र बैंकहरू शहरमुखी भएबाट पनि निक्षेपको स्रोत खुम्चिँदै गएको छ । संस्थागत निक्षेप संकलन सीमा सम्बन्धमा इजाजतपत्रप्राप्त संस्थाले कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ५० प्रतिशतभन्दा बढी कायम गर्न पाइने छैन भन्ने व्यवस्था कायम नै छ । नेपालमा अधिक प्रतिशत जनता वित्तीय पहुँचभन्दा बाहिर छन् । वित्तीय स्रोत संकलनका लागि आन्तरिक होडबाजीलाई केही हदसम्म मत्थर गरी तरलता अभाव व्यवस्थापनका लागि विदेशबाट ऋण लिन समेत बाटो खुलेको छ पुनर्कर्जाको साथै विभिन्न वित्तीय उपकरणमार्फत नेपाल राष्ट्र बैंकले बजारमा रकम पठाइरहेको छ । तथापि तरलताको मागअनुसार पूर्तिमा अपेक्षित सुधार छैन निक्षेप संकलनको दायरा नेपालमा प्रशस्त भए पनि ग्रामीण क्षेत्रको दूरदराजसम्म बैंकिङ पहुँच कमजोर छ । मुलुक संघीयतामा गएपछि बनेको ७५३ स्थानीय तहमध्ये हाल ७५१ बैंकिङ क्षेत्रको उपस्थिति देखिन्छ । हाल बैंकिङ क्षेत्रको कुल निक्षेप करीब रू. खर्बमा ४८०५ देखिन्छ । कर्जाको रूपमा यसको परिचालन करीब रू. खर्बमा ४५०६ देखिन्छ । अधिकांश बैंकहरूको सीसीडी ९० प्रतिशत कटेको देखिन्छ । निक्षेप संकलनमा होडबाजीको मुख्य कारण तरलतामा आएको न्यूनता हो । विकाससँग सम्बद्ध ठूला आयोजना र सरकारको प्राथमिकतामा परेको कृषि, उद्योग, वाणिज्य क्षेत्रसमेत आवस्यक रकम अभावमा प्रभावित भएका छन् । विप्रेषण आप्रवाह घट्दै गएको, आयात उच्च दरले बढेको, पूँजीगत खर्च हुन नसकेको, अनोपचारिक अर्थतन्त्र मौलाउँदै गएको, उत्पादनशील क्षेत्रमा भन्दा उपभोगको क्षेत्रमा कर्जाको विस्तार भएको, निक्षेप संकलनमा समस्या रहेकोजस्ता कारणले तरललतामा समस्या देखापरेको छ । ब्याजदर आफूअनुकूल हुनु, ब्याजदरमा स्थिरता नहुनु, स्रोत संकलनमा सरकार र केन्द्रीय बैंकमा बढी भर पर्नुजस्ता विषयले गर्दा बैंकिङ क्षेत्र निक्षेप संकलन र परिचालनमा चुक्दै गएको छ । बैंकिङ क्षेत्रको नाफाको प्रमुख आधार ऋण सापटी तथा लगानी नै हो । निक्षेप स्वरूप प्राप्त भएको रकमलाई बैंक तथा वित्तीय संस्थाहरूले धितो राखी वा विनाधितोमा व्यक्ति वा संस्थाहरूलाई ऋण लगानी गरेर यसको परिचालन गर्छन् । लगानीका रूपमा शेयरमा, अन्तरबैंक, ट्रेजरी बिल, बन्ड आदिमा परिचालन गरी निश्चित ब्याज आर्जन गरी नाफा वृद्धि गर्छन् । निक्षेपको परिचालनलाई हेर्दा नेपाल राष्ट्र बैंकमा राखिने अनिवार्य मौज्दात, अल्पकालीन सरकारी ऋणपत्रहरू, म्युचुअल फन्ड, शेयरमा लगानी, दीर्घकालीन ऋणपत्रहरू, विदेशी विनिमय, संयुक्त लगानी, कर्जा प्रवाह, स्थिर सम्पत्तिको खरीद, प्रशासनिक खर्च एव विविध खर्चहरू पर्छन् । लगानीका विभिन्न अवसर भए तापनि लगानीको ठूलो अंश धितोमुखी कर्जातर्फ केन्द्रित छ । उत्पादनमूलकभन्दा उपभोगतर्फ केन्द्रित भएकाले कर्जा असुली र तरलता व्यवस्थापनमा चुनौती थपिएको हो । निक्षेपको परिचालनका चुनौतीहरूमा कोभिड–१९, मुद्रास्फीति, बैंकिङ आदतमा कमी, पूँजी पलायन, अनौपचारिक क्षेत्र, ब्याजदर, राजनीतिक स्थिरता, आयस्तर, वित्तीय साक्षरता, राष्ट्रिय तथा अन्तरराष्ट्रिय घटना, मौद्रिक तथा वित्तीय नीति, विप्रेषण आदि पर्छन् । यी चुनौतीहरूको कसरी सामना गर्ने भन्ने बारेमा समग्र बैंकिङ क्षेत्रले र अनुगमनकारी निकाय नेपाल राष्ट्र बैंक समेतले बेलैमा सोच्नुपर्ने अवस्था छ । निक्षेप परिचालनमा ध्यान दिनुपर्ने कुराहरूमा ग्राहक सेवा, प्रविधिको विकास, ग्राहक सन्तुष्टि र हेरचाह, कर्मचारीको मीठो र सिस्ट बोलीवचन, वित्तीय साक्षरता आदि विषय हुन् । ब्याजदर तथा मौद्रिक नीति, राजनीतिक अवस्था र प्रतिस्पर्धालाई समेत विशेष ध्यान दिनु जरुरी छ । निक्षेप बैंक तथा वित्तीय संस्थाको प्रमुख साधन भएको हुँदा यस साधनलाई बैंकहरूले आयमूलक कार्यमा र उत्पादनमूलक कार्यमा लगानी गर्नुपर्छ । लगानीको दृष्टिकोणले चल्ती, बचतभन्दा मुद्दती निक्षेप तरलताको अभावबाट प्रभावित बैंक तथा वित्तीय संस्थालाई नेपाल राष्ट्र बंैकले सतर्कतापूर्वक अनुगमन तथा निगरानी गर्नुपर्छ । वित्तीय साक्षतालाई बढाउने, बैंकिङ क्षेत्रको विस्तार र विकास एवं संस्थागत सुशासनलाई कार्यान्वयन गराउने, देशमा आयात प्रतिस्थापनसँग सम्बद्ध उद्योगको विकास तथा विस्तार गर्ने जस्ता उपायहरूबाट मात्र वित्तीय स्रोतको रूपमा निक्षेप संकलनमा प्रभावकारिता आउने हुँदा हाल भइरहेको अस्वस्थ बैंकिङ होडबाजी समेतलाई नियन्त्रण गर्नु जरुरी छ । हालको समयमा थुप्रै मुलुक क्यासलेस भइसकेको कुरा सर्वविदितै छ । तसर्थ बैंकमा बचत गर्नुपर्छ र प्रविधिको उच्चतम प्रयोग गर्नुपर्छ भन्ने सबन्धमा आम जनमानसमा साक्षरता दिने कुरालाई बैंकिङ क्षेत्रले अभियानकै रूपमा विकास गर्नुपर्छ । बचत जहाँबाट पनि गर्न सकिन्छ, बचत गर्दा ब्याज पाइन्छ, आफ्नो बचत गरेको रकम हराउने र चोरिने डर हुँदैन । बैंकमा राखेको पैसा आवश्यकताअनुसार उपयोग गर्न सकिन्छ । कर्जा निकाल्न, विभिन्न आवश्यकताका सामान किन्दा भुक्तानी गर्न सजिलो हुन्छ । प्रविधिको प्रयोगमार्फत लाइनमा समेत बस्नु पर्दैन अर्थात् बैंक तथा वित्तीय सस्थामा भौतिक रूपमा उपस्थिति हुनु पर्दैन भन्नेतर्फ अधिकांश मानिसमा अझै पनि ज्ञान भएको देखिँदैन । तसर्थ यसतर्फ बैंकिङ क्षेत्रले विशेष चासो र कार्ययोजनाका साथ कार्य गर्नु नै तरलता समस्याको मुख्य समाधान हो । लेखक बैंक तथा वित्तीय संस्थासम्बन्धी विज्ञ हुन् ।