माघ ९, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सबै क्याम्पसलाई माघ ११ गतेदेखि अनलाइन कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
त्रिवि कार्यकारी परिषद्ले कोरोना संक्रमण बढेका कारण हरेक क्याम्पसले ११ गतेदेखि सबै सैद्धान्तिक कक्षाहरु अनलाइनमार्फत सञ्चालन गर्ने निर्णय गरेको हो ।
यसका लागि सबै क्याम्पस तथा विभागहरुले सोमवारभित्र अनलाइन कक्षाको रुटिन बनाएर सम्बन्धित डिनको कार्यालयमा पठाउन भनेको छ ।
त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले आइतवार सूचना जारी गर्दै अनलाइन कक्षा व्यवस्थित गर्नका लागि हरेक क्याम्पसका सहायक प्रमुखको संयोजकत्वमा बढीमा सात सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्नुपर्ने उल्लेख गरेको छ ।
त्यस्तैगरी सबै विभागले विभागीय प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति अनलाईन कक्षा व्यवस्थापन समिति गठन गर्नु पर्नेछ ।
त्रिवि कार्यकारी परिषदले भौतिक उपस्थितमा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, अभ्यास शिक्षण र इन्टर्नशिप लगायतका क्रियाकलाप स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर गर्न सकिने निर्णय गरेको छ ।
अनलाइन कक्षा व्यवस्थित भए÷नभएको अनुगमन गर्न डिनको संयोजकत्वमा अनलाइन कक्षा अनुगमन समिति बन्ने समेत बताइएको छ ।
अनलाइन पठनपाठन र परीक्षासम्बन्धी शिक्षकहरूलाई तालिम दिने र त्यसको विवरण सबै क्याम्पस, विभाग, अध्ययन संस्थानहरूले डिन कार्यालय पेश गर्नुपर्नेछ ।
अनलाइनमा तोकेको कक्षा लिने शिक्षकको हाजिरी अनलाइनमार्फत हुने र सोको रेकर्ड अद्यावधिक राख्ने समेत जारी सूचनामा उल्लेख छ ।