काठमाडौं महानगरको मेयरमा बालेन साहको विजय निश्चित, ‘विजय जुलुस नगरौं, बरु धन्यवाद र्‍याली गरौं’

जेठ ११, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन) को विजय पक्का भएको छ ।  स्वतन्त्रबाट उम्मेदवारी दिएका उनले आफ्नो विजय निश्चित भएपछि सामाजिक सञ्जालमार्फत् निर्वाचनको परिणामलाई जित–हारको रुपमा नहेर्न अपील गरेका छन् । उनले बुधवार वक्तव्य जारी गर्दै आफ्नो समर्थकहरूलाई विजय जुलुस नगर्न, बरु धन्यवाद र्‍याली गर्न र त्यसकै नाममा विभिन्न जिल्लाबाट काठमाडौं नधाउन पनि अपील गरेका छन् । बुधवार बिहानसम्मको मतपरिणाम अनुसार बालेनले ५५ हजार ७७७ मत प्राप्त गरेका छन् । त्यस्तै सिर्जना सिंहले ३५ हजार ३७१  र केशव स्थापितले ३४ हजार ६२६ मत प्राप्त गरेका छन् । पछिल्लो मतपरिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा(एमाले) का केशव स्थापितले प्राप्त गरेको मतान्तर र गन्न बाँकी मतभन्दा बढी भएकाले उनको जित सुनिश्चित भएको हो । ‘जित- हारलाई मतगणना सकिएसँगै सकिदिऊँ । घोषणापत्रमा भएका कुराहरू लागू गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला’, उनले वक्तव्यमा भनेका छन्, ‘अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौं।’ निर्वाचित हुनेले अरु प्रतिस्पर्धीको तुलनामा ज्याद मत ल्याए पनि बहुमत नल्याएको भन्दै उनले आफूलाई मतदान नगर्नेहरुको भावनामा समेत चोट नपर्ने गरी काम गर्ने प्रतिबद्धता गरेका छन् । उनले महानगरको उन्नतिका लागि सबैसँग सहकार्यको आग्रह गरेका छन् । त्यस्तै उपमेयरमा नेकपा (एमाले) का उम्मेदवार सुनिता डंगोलको पनि विजय निश्चित भएको छ । उनले प्रतिस्पर्धी उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले भन्दा झन्डै तेब्बर मत प्राप्त गरिसकेकी छन् ।  उनले ५३ हजार ६४२ मत ल्याएका छन् भने श्रेष्ठले १७ हजार ७६५ मत ल्याएका छन् ।