रेमिट्यान्समा महिलाको योगदान

समयको परिवर्तनसँगै वैदेशिक रोजगारीमा जाने नेपाली महिलावर्गको पनि संख्या दिनप्रतिदिन बढेको देखिन्छ । कुनै बेला चूल्हो र चौकामा सीमित रहने महिलाहरूको श्रम र शीप अहिले विश्वबजारमा बिक्न थालेको छ । आफ्नो परिवारको वृत्तिविकासमा महिलाहरूको यो त्याग भनौं वा कर्तव्य पक्कै पनि सह्राहनीय रहेको छ । उनीहरूले पनि आफूलाई पुरुष जतिकै वैदेशिक रोजगारीको क्षेत्रमा अब्बल साबित गर्दै लगेका छन् । नेपाल भित्रने कुल रेमिट्यान्स (विप्रेषण) को ११ प्रतिशत महिलाहरूको योगदान रहेको छ । समाजमा अझै पनि महिला र पुरुषका बीचमा लैंगिक विभेद कायम भएको पाइए पनि आर्थिक वृत्तिविकासका सन्दर्भमा महिलाको स्थितिलाई भने कम आँक्न मिल्दैन । नेपाली महिलाका तुलनामा अन्य देशका महिला श्रमिक तालीम प्राप्त, अनुभवी र शीपयुक्त भएका देखिन्छन् । शीप नभएका कारण एउटा कामका लागि स्वीकृत लिएर अर्कैै कामका लागि अर्को कुनै देशमा जानुपर्ने बाध्यता नेपाली महिला श्रमिकको छ । वैदेशिक रोजगारीमा गएका महिलाले आफ्नो परिवारको आर्थिक अवस्था सृदृढ पार्न सफल भएका छन् । उनीहरूले विदेशमा कमाएको रकमबाट परिवारको शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रमा अमूल्य सहयोग भएको छ भने आर्थिक स्तर वृद्धिमा समेत योगदान पुगेको छ । घरेलु उद्योग खोलेर आफ्नो परिवार तथा समाजमा केही योगदान दिने काममा समेत वैदेशिक महिलाको रोजगारीले प्रत्यक्षरूपमा सघाउ पुर्‍याएको छ । देशमा भित्रने कुल विप्रेषणमा ११ प्रतिशतभन्दा बढी विप्रेषण महिलाहरूले पठाएको तथ्यांकमा देखिन्छ । जसले आफ्नो समाज र परिवारप्रति महिलाहरूको उत्तरदायित्व व्यापकरूपमा रहेको झनै स्पष्ट देखिन्छ । यसले महिलाहरू आर्थिक रूपमा पनि दिनप्रतिदिन सबल बन्दै छन् भन्ने उदाहरण प्रस्तुत गरेको छ । त्यसैले भूगोलका कुनै पनि कुनामा गएर नेपाली महिलाले आफ्नो श्रम र शीपलाई विदेशी भूमिमा खर्चिरहेका छन् । विगतका ५ वर्षयता वैदेशिक रोजगारीका लागि विदेशिने महिलाको संख्या बढिरहेको छ । तर, वैदेशिक रोजगारीमा जाने महिलाहरूको आवश्यक दक्षता, अनुभव र शीपमा कमी भएका कारण उनीहरूलाई वैदेशिक रोजगारी थप चुनौती र सकस पनि बढेको देखिन्छ । विदेश जाने महिलाहरूमा शीपविना विदेश जानेको संख्या बढिरहेको तथ्यांकले देखाएको छ । त्यसैले उनीहरूले आफ्नो शीप अभिवृद्धि गर्नुपर्ने देखिन्छ । वैदेशिक रोजगारीमा जाने कुल महिला श्रमिकमध्ये ५८ दशमलव ८४ प्रतिशत त कुनै शीपविना नै विदेश गएको तथ्यांकले देखाउँछ । यसमा उच्च दक्षता भएका महिलाको संख्या शून्य दशमलव शून्य ६ प्रतिशतमात्र रहेको छ । त्यस्तै पुरुषको पनि संख्या हाराहारीमा उही नै रहेको छ । आर्थिक वर्ष २०७५/७६ को प्रगति प्रतिवेदनअनुसार गतवर्ष सबैभन्दा धेरै महिला कामका लागि कुुवेत गएको देखिन्छ भने त्यसपछिका प्रमुख गन्तव्यमा जर्मनी, माल्दिभ्स, माल्टा, डेनमार्क, जर्मनी र इजरायल बनेका छन् । उक्त देशमा व्यक्तिगत रूपमा श्रमस्वीकृत लिनेमा ८० प्रतिशतभन्दा बढी महिला रहेका छन् । प्रतिवेदनअनुसार व्यक्तिगत श्रमस्वीकृति लिने कुल १ लाख १५ हजार ३९८ मध्ये २७ दशमलव ६ प्रतिशत अर्थात् ३१ हजार ८२० महिला रहेका छन् भने पुनः श्रमस्वीकृति लिनेमा महिलाको संख्या कुल श्रमस्वीकृत लिनेकै हाराहारीमा अर्थात् ४५ प्रतिशत देखिन्छ । कुल १५ लाख ८७ हजार ६५४ पटक पुनः श्रमस्वीकृति लिएकामा महिलाको संख्या ६४ हजार ५०७ रहेको छ । कुवेतमा हालसम्म संस्थागतरूपमा श्रमस्वीकृतिमा ५ हजार ४१ महिला गएको देखिन्छ भने व्यक्तिगत रूपमा जानेको संख्या २० हजार २७८ देखिन्छ । भारतसहित ६५ भन्दा बढी देशमा १ लाख ५० हजारभन्दा बढी महिला वैदेशिक रोजगारमा आबद्ध छन् । प्रायः नेपाली महिला विदेशमा घरेलु कामदारका रूपमा त्यहाँ जाने गरेको पाइन्छ । वैदेशिक रोजगारीको जिल्लागत विवरण हेर्दा झापा, मोरङ, सुनसरी, चितवन र सिन्धुपाल्चोक श्रमस्वीकृत लिनेमा अगाडि छन् । वैदेशिक रोजगारीमा जाने महिलाको कुल संख्या विश्लेषण गर्दा वाग्मती प्रदेशअन्तर्गतका जिल्लाका महिलाको नै बाहुल्य पाइन्छ । कुवेतमा हालसम्म संस्थागतरूपमा श्रमस्वीकृति लिने ५ हजार १५१ महिला भएकोमा व्यक्तिगत रूपमा त्यहाँ काम गर्न जाने महिला कामदारको संख्या २० हजार २८७ रहेको छ । त्यसपछि जर्मन, डेनमार्क, माल्टा, माल्दिभ्समा बढीमात्रामा श्रमस्वीकृति लिएर जानेको संख्या देखिन्छ । स्वीडेनमा व्यक्तिगत तवरले जाने महिलाहरू बढी रहेका छन् । कुवेत, डेनमार्क, जर्मनी र इजरायलमा व्यक्तिगत श्रमस्वीकृति लिनेमा महिला ८० प्रतिशतभन्दा बढी रहेको पाइन्छ । नेपाली महिलाका तुलनामा अन्य देशका महिला श्रमिक तालीमप्राप्त, अनुभवी र शीपयुक्त भएका देखिन्छन् । शीप नभएका कारण एउटा कामका लागि स्वीकृत लिएर अर्कै कामका लागि अर्को कुनै देशमा जानुपर्ने बाध्यता नेपाली महिला श्रमिकको छ । यसका कारण महिलाहरू बढी हिंसामा पर्न पुगेको देखिन्छ । त्यसो त जोखिम मानिएका देशमा व्यक्तिगत श्रमस्वीकृतिमा जाने महिलाको संख्या ज्यादा रहेको छ । गतवर्षको वैदेशिक रोजगार बोर्डको प्रतिवेदनमा समेत सबैभन्दा बढी महिलाको मृत्यु हुने देश कुवेत र यूएई देखिन्छ । त्यहाँ महिला कामदारलाई मालिकहरूले मानसिक र शारीरिक यातना दिने गरिएको पाइन्छ । रातदिन काम गरेर पनि उनीहरूले तलब पाउन सकेको देखिँदैन । वैदेशिक रोजगारमा जानेहरू म्यानपावर कम्पनीबाट बढी ठगिएको घटना सार्वजनिक भएका छन् । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले वैदेशिक रोजगारका क्रममा अंगभंग भएका, मृत्यु भएका र गम्भीर प्रकृतिका बिरामी भएका परिवारका एक सदस्यलाई निःशुल्क प्राविधिक शिक्षा वा तालीम दिने व्यवस्था गरेको छ । यसबाट वैदेशिक रोजगारीका लागि जानेका परिवारलाई केही भए पनि राहत मिल्ने देखिन्छ । वैदेशिक रोजगारमा जानुपूर्व विभिन्न तयारी गरेर जाने गर्दा वा सम्बद्ध म्यानपावरबाट सबै कुरा बुझेर जाने हो भने पनि केही हदसम्म महिला श्रमिकले पाउने पीडा न्यून हुन पुग्छ । त्यसैले आगामी दिनमा वैदेशिक रोजगारीमा जाँदा महिलाहरूले तालीम, भाषालगायत अनिवार्य विषयमा दक्षताप्राप्त गरेर मात्र कदम चाल्नु उपयुक्त हुन्छ । लेखक ग्रामीण आदर्श कलेजमा अध्यापन गर्छन् ।