प्रदेशसभा सदस्यको वार्षिक आवास खर्च करीब २ करोड

हेटौंडा । बागमती प्रदेशसभाका सदस्यसहित पदाधिकारीको आवास सुविधाबापत आर्थिक २०७७/७८ मा १ करोड ९० लाखभन्दा बढी खर्च भएको देखाइएको छ । प्रदेशसभा सचिवालयका अनुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्षमा १ करोड ९० लाख ४ हजार ७४९ खर्च भएको हो । सचिवालयबाट मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुखबाहेक विभिन्न समितिका सभापति, सत्तापक्ष र विपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतक, प्रदेशसभा सदस्यलाई घरभाडाबापत रकम भुक्तानी दिइएको हो ।      प्रदेशको राजधानीमा घर नभएका सांसदको हकमा भने प्रतिमहिना १५ हजार घर भाडाबापत उपलब्ध गराउँदै आइएको छ । राजधानी हेटौंडामै घर भएका प्रदेशसभा सदस्यले समेत आवास मर्मत शीर्षकमा प्रत्येक महिना ७ हजार ५०० बुझ्दै आएका छन् । मुख्यमन्त्री तथा मन्त्रीले प्रदेश सरकारबाटै आवास सुविधा पाउँछन् ।      प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदको सेवा तथा सुविधालाई व्यवस्थित गर्न २०७५ सालमा ऐन निर्माण भइसकेकोे र सोहीअनुसार सदस्यलाई सेवा तथा सुविधा उपलब्ध गराइएको सचिवालयले बताएको हो । प्रदेशसभा पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७५ अनुसार सभामुख र उपसभामुखका लागि प्रदेश सरकारले आवासको व्यवस्था गर्ने र आवासीय भवन मर्मत र सम्भार पनि सरकारले नै गर्ने व्यवस्था छ । रासस