काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. २ करोड ८५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
गत वर्षको यसै अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा १९ दशमलव ५१ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ३ करोड ५५ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि १९ दशमलव ५१ प्रतिशत कम रू. ४ करोड ५३ लाखभन्दा बढी भएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ३४ करोड २७ लाख ४४ हजार रहेको छ । यही पूँजीको आधारमा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
दोस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम भने ८२ प्रतिशत बृद्धि भई रू. २६ करोड ३८ लाखभन्दा बढी कायम भएको छ । यो अवधिसम्म रू. १ अर्ब ५२ करोडभन्दा बढी कर्जा सापटी लिएको कम्पनीले रू. १ अर्ब १७ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ ।
कम्पनीले यस वर्ष रू. ३ अर्ब २१ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष २ दशमलव शून्य ९ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष बढेर ४ दशमलव ५७ प्रतिशत पुगेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १६ दशमलव ६९ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १७६ दशमलव ९८ रहेको छ ।
वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्