मसुरो खेतीको क्षेत्रफल घट्दै

काठमाडौं। प्रमुख दलहन बाली मसुरो उत्पादन हुने जमीनको क्षेत्रफल पछिल्लो समय क्रमिक रूपमा घट्दै गएको पाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकले मसुरो उत्पादन हुने जमीनको क्षेत्रफल घटेको देखाएको हो । खेती हुने क्षेत्रफल घट्दा उत्पादन घटेको छ । उत्पादन घटेपछि आयात बढेको छ भने निर्यात घटेको छ । मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७६/७७ मा नेपालमा २ लाख ६२ हजार ८ सय ३५ मेट्रिक टन मसुरो उत्पादन भएको थियो । त्यस वर्ष २ लाख १२ हजार ८ सय ७६ हेक्टर जमीनमा यसको खेती गरिएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।  त्यसपछिका वर्षहरूमा मसुरो खेती हुने जमीनको क्षेत्रफल घट्दो क्रममा छ । आव २०७७/७८ मा २ लाख २ हजार ४ सय १६ हेक्टर जमीनमा मसुरो खेती गरिएको थियो । त्यस वर्ष २ लाख ४६ हजार मेट्रिक टन उत्पादन भएको सरकारी तथ्यांक छ । आव २०७८/७९ सम्म आइपुग्दा उत्पादन हुने क्षेत्रफल घटेर १ लाख ९८ हजार ४ सय हेक्टरमा सीमित भएको छ भने उत्पादन २ लाख ५२ हजार मेट्रिक टन भएको देखिन्छ । मन्त्रालयले मसुरोलाई नेपालको मुख्य दलहन बालीका रूपमा राखेको छ । मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले मसुरो खेतीतर्फ किसानको आकर्षण घट्दै गएको बताए । ‘रोगको प्रकोप, बाली भित्त्याउने झन्झटिलो प्रक्रिया, नयाँ जातको बीउप्रति किसानको कम आकर्षण, हिउँदे वर्षाका कारण बाली नष्ट हुने जोखिमका कारण मसुरो खेतीमा किसानको आकर्षण विस्तारै घट्दै गएको छ । हिउँदको समयमा मसुरो खेतीभन्दा किसानको आकर्षण मकै खेतीतर्फ बढेको पाइन्छ,’ उनले भने । साथै बाह्य मुलुकबाट अयात हुने मसुरो दालभन्दा नेपाली मसुरो दाल महँगो पर्ने कारणले बजारमा प्रतिस्पर्धा गर्न पनि समस्या भएको उनले बताए । भन्सार विभागको तथ्यांकअनुसार आव २०८०/८१ को पुससम्ममा ७८ करोड १० लाख ११ हजार रुपैयाँको ७ हजार ७ सय ६६ मेट्रिक टन मसुरो आयात भएको छ । सोही अवधिमा नेपालबाट ३० करोड २६ लाख ८१ हजार रुपैयाँको २ हजार १ सय मेट्रिक टन मसुरो निर्यात भएको देखिन्छ । कृषिप्रधान मुलुक नारामा मात्रै सीमित हुनु, उत्पादित बालीको बजारीकरणमा राज्यको ध्यान नपुग्नु, किसानले समयमै मलबीउ नपाउनु र किसानलाई प्रोत्साहन नहुनुजस्ता कुराले नेपाली कृषि पछि पर्दै गएको नेपाल चामल तेल दाल उद्योग संघका उपाध्यक्ष राहुल अग्रवालले बताए । उनका अनुसार केही वर्षअघिसम्म मसुरो निर्यात गर्दा सरकारले भन्सारमा करीब ४ प्रतिशतसम्म प्रोत्साहन दिन्थ्यो । अहिले बन्द गरिदिएको छ । बरु सरकारले अहिले झन् निर्यात शुल्क लिने गरेको व्यवसायीको गुनासो छ । विगतमा नेपालले बंगलादेश, क्यानडा, अस्ट्रेलियालगायत देशमा मसुरो निर्यात गथ्र्यो । अहिले प्रोत्साहन शुल्क बन्द गरेपछि निर्यात गर्ने क्रम घटेको र आयात गर्ने क्रम बढेको अग्रवालले बताए ।

सम्बन्धित सामग्री

जुम्लामा मार्सीधान खेतीको क्षेत्र घट्दै

जुम्ला-जुम्लामा जेठ पहिलो सातादेखि मार्सीधान रोपाइँ भइरहेको छ । सिंजा, पानसय, असी र चौधबीस भेगका जुम्ली किसान मार्सीधान रोपाइँमै व्यस्त छन् । हाल जुम्लाको आठै तहको करिब ३० प्रतिशत मार्सीधान रोपाई सकिएको छ । यद्दपी जुम्लामा असार पहिलो सातासम्म जुम्लामा रोपाइँ चलिरहन्छ ।जुम्लाको आर्थिक समृद्धिसँगै कर्णाली ब्राण्डका रुपमा बजारीकरण भइरहेको मार्सीधान खेतीको क्षेत्र भने घट्दै […]

जुम्लामा मार्सीधान खेतीको क्षेत्र घट्दै

जुम्ला-जुम्लामा जेठ पहिलो सातादेखि मार्सीधान रोपाइँको चटारो सुरु भएको छ । सिंजा, पानसय, असी र चौधबीस भेगका जुम्ली किसान मार्सीधान रोपाइँमै व्यस्त छन् । हाल जुम्लाको आठै तहको करिब ३० प्रतिशत मार्सीधान रोपाई सकिएको छ । यद्दपी जुम्लामा असार पहिलो सातासम्म जुम्लामा रोपाइँ चलिरहन्छ ।जुम्लाको आर्थिक समृद्धिसँगै कर्णाली ब्राण्डका रुपमा बजारीकरण भइरहेको मार्सीधान खेतीको क्षेत्र […]