मुलुकभर आएको बाढीपहिरोबाट मानवीय क्षति हुनुका साथै पूर्वाधारहरूमा व्यापक क्षति पुगेको छ । नेपालमा मौसम भविष्यवाणीको प्रविधिमा आएको सुधार र पूर्वसूचना प्रणालीले कम मानवीय क्षति भएको आकलन गरिएको छ । तर, यसमा सुधारका साथै सम्भावित जोखिमबारे थप अध्ययन र जोखिम न्यूनीकरणका योजनाहरू बनाउनुपर्ने तथ्यलाई सतहमा ल्याइदिएको छ । त्यस्तै, विपद् व्यवस्थापनमा भएको सधैंको कमजोरीलाई पनि अहिलेको विपत्तिले उजागर गरेको छ ।
विश्व तापमानमा आइरहेको परिवर्तनले हिमतालहरू फुट्ने खतरा थपिदिएको छ । यस्तोमा नेपालले जोखिमका बारेमा पर्याप्त अध्ययन गर्नुपर्छ ।
नेपाल बाढीपहिरो र भूकम्पका दृष्टिकोणले जोखिमयुक्त क्षेत्र मानिन्छ । यी प्राकृतिक प्रक्रिया नै हुन् तर मानिसले बनाएका भौतिक निर्माण र मानवीय क्षति पुग्दा यिनलाई विपत्ति मानिन्छ । यस्ता सम्भावित विपत्तिबारे नेपालमा पर्याप्त अध्ययन भएको पाइँदैन । भएका अध्ययनबाट प्राप्त निष्कर्षलाई कार्यान्वयनमा लैजाने पाटो झनै कमजोर छ । सरकार र नागरिक दुवैका तर्फबाट सम्भावित जोखीमप्रति बेवास्ता गर्दै बस्ती बसाउने तथा भौतिक पूर्वाधार बनाउने गर्दा त्यसबाट मुलुकले ठूलो आर्थिक क्षति बेहोर्नुपर्ने हुन्छ । यस्तो क्षति बारम्बार भोग्नु परिरहेको पनि छ । तैपनि थप अध्ययन गराउन तथा अध्ययनबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्न थप सक्रियता देखिएको छैन ।
सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोको समस्या बढी देखिएको छ । अन्य पहाडी भूभागमा पनि पहिरोको समस्या उत्तिकै छ भने तराईका डुबानको समस्या वर्षेनि जस्तै भइरहने गरेको छ । मेलम्चीमा आएको बाढीको प्रकृति हेर्दा नदी थुनिएर पाँगो माटो आएको देखिन्छ । वर्षाको पानी मात्र नभई हिमताल फुटेर आएको हुन सक्ने सम्भावना पनि केही विज्ञले औंल्याएका छन् । मनाङतिर आएको बाढीमा पनि पाँगोको मात्रा बढी भएको भनाइ छ । यसले नेपालको भौगोलिक बनोटका कारण समस्या बढी भएको तथ्यलाई नै संकेत गर्छ ।
नेपालमा हिमतालहरू फुट्ने सम्भावना बढी नै छ । नेपालमा २ हजार ३२३ ओटा हिमताल छन् । यी ताल झन्डै ७६ वर्गकिलोमीटरमा पैmलिएका छन् । महाकाली, कोशी, गण्डकी, कर्णाली चार प्रमुख नदी बेसिनहरू छन् । यी सबै हिमालबाट उत्पत्ति भएर आएका नदी हुन् । हिमताल फुटेर बाढी आए तथा यी नदी थुनिए भने तिनले निम्त्याउने विनाश मेलम्चीको भन्दा निकै भयावह हुने देखिन्छ । विश्व तापमानमा आइरहेको परिवर्तनले यस्ता तालहरू फुट्ने खतरा थपिदिएको छ । यस्तोमा नेपालले जोखिमका बारेमा पर्याप्त अध्ययन गर्नुपर्छ । साथै, यसबाट हुने क्षति न्यून गर्न पनि अध्ययन नै गर्नुपर्ने देखिन्छ ।
क्षतिको सम्भावना भएका क्षेत्रबाट बस्ती अन्यत्र सार्ने, एकीकृत बस्ती बसाल्ने, जोखिमयुक्त क्षेत्रमा बस्ती विस्तार गर्न नदिने तथा पूर्वाधारहरू बनाउँदा वातावरणीय असरबारेमात्र नभई यस्तो जोखिमको पनि अध्ययन गराउने र त्यसैअनुसार पूर्वाधार बनाउन आवश्यक मापदण्ड तयार गर्नुपर्ने देखिन्छ । विकास र प्रकृतिबीच विपरीत सम्बन्ध जस्तै देखिन्छ । दिगो विकासका लागि प्रकृतिमा सकेसम्म कम हस्तक्षेप गर्ने नीति अवलम्बन गरिन्छ । प्रकृतिमाथि कम हस्तक्षेप गर्नेगरी पूर्वाधार बनाउँदा लागत बढी पर्छ जुन नेपालजस्तो अल्पविकसित मुलुकले बेहोर्न गाह्रो पर्छ ।
नेपालका नयाँ शहरहरू नदीकिनारमा विस्तार हुँदै छन् । सडक पूर्वाधार निर्माण गर्दा नदी किनारबाट गर्ने गरिएको छ र यही क्षेत्रमा नयाँ बस्ती विस्तार भइरहेको छ । यस्तो बस्ती नै बढी जोखिममा परेको पाइन्छ । नदी बस्तीमा पसेको हो कि बस्ती नदीको क्षेत्रमा पसेको हो भन्ने बहस बाढी आएका बेला उठाउने गरिन्छ । तर, उचित मापदण्ड बनाएर यसलाई नियमन गर्नु सरकारको जिम्मेवारी हो । नेपालको आर्थिक रूपान्तरणका लागि उच्च सम्भावनायुक्त क्षेत्र जलविद्युत्लाई मानिन्छ । नेपालमा प्राविधिक रूपमा ४२ हजार मेगावाट विद्युत् उत्पादन हुन सक्ने देखिएको छ । यसका लागि वैदेशिक लगानीलाई प्राथमिकता दिइएको छ । नेपालमा ठूला जलविद्युत् आयोजनाहरू बन्न थालेको सन्दर्भमा ती बाँधहरू भत्किए सम्भावित क्षति निकै ठूलो हुने देखिन्छ । त्यसैले बाढीपहिरोबाट यस्ता आयोजनामा हुन सक्ने क्षति र त्यसलाई न्यून गर्ने उपायबारे पनि अध्ययन हुन जरुरी छ । प्राकृतिक घटनाक्रमबाट विकास निर्माणसँग जोडिएका जोखिमहरूबारे अध्ययन हुनुपर्छ । त्यसै अनुसार पूर्वाधार बनाउँदै जानुपर्छ ।