मनाङ । करीब चार महीना लगाएर सञ्चालन भएको बेँशीशहर–चामे सडक खण्ड वर्षाका कारण पुनः अवरुद्ध भएको छ । बेमौसमी वर्षापछि आएको बाढीपहिराले हिमाली जिल्ला मनाङको एक मात्र सडक सञ्जाल अवरुद्ध भएको छ ।
गत जेठ १४, ३१ र असार १ गतेको आएको बाढीपहिराले टुटेको सडक दशैंअघि मात्रै सञ्चालन भएको थियो । लामो समय लगाएर निर्माण गरिएको सडक आइतवारदेखि वर्षासँगै आएको बाढीपहिरोले पुनः अवरुद्ध भएको हो ।
बाढीपहिराले सदरमुकाम चामेभन्दा तल्लो भागका अस्थायी पुल तथा सडकहरूमा क्षति पु¥याएको छ । केही स्थानमा मस्र्याङ्दीमा आएको बाढीले कटानसमेत गरेको छ ।
बेँशीशहरदेखि मनाङको सदरमुकामसम्मको ६५ किलोमिटरमध्ये लमजुङतर्फ उक्त खण्डको म्याग्दीसम्म ३५ किलोमिटरमा पनि सडकमा क्षति पुगेको छ । उक्त सडक खण्डको केही भागमा बाढीपहिराले सवारीसाधन चल्न सक्ने अवस्थामा रहेको छैन । म्याग्दीदेखि मनाङ सदरमुकाम चामेसम्मको विभिन्न स्थानमा बाढीपहिरोले सडक र अस्थायी पुल बगाएकाले सवारीसाधन सञ्चालन हुन नसकेको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिए ।
उनका अनुसार चामे गाउँपालिकाको कोतो नजिकैको भीर, थान्चोक र तिमाङबीचको ठाउँमा पहिरा खसेको छ । ‘स्याक्र्यु खोलाको अस्थायी काठे पुलमा ठूलो मुढा अड्किएको छ । तिमाङखोलाको अस्थायी काठेपुलको केही भाग बगाएको छ,’ प्रजिअ आचार्यले भने । नासोँ गाउँपालिकाको दानक्युको अस्थायी काठे पुलमा बाढीपहिराले क्षति पु¥याएको उनले बताए । यसैगरी बगरछाप, एक्लेभट्टी, खोत्रो, निगालाघारीमा ठाडोखोलाले सडकमा क्षति पु¥याउनुका साथै सडक बगाएको उनको भनाइ छ । उक्त सडकअन्तर्गत माथिल्लो मनाङ जाने सडक तलेखुको माथिल्लो क्षेत्रमा मस्र्याङ्दी नदीले कटान गरी सडकमा क्षति पु¥याएको उनले बताए ।
भ्राताङदेखि तल र तलेखुदेखि माथिको भागमा मस्र्याङ्दीले कटान गर्नाका साथै डुबानमा परेको प्रजिअ आचार्यले बताए । ‘मस्र्याङ्दीमा आएको बाढीले तल्लो मनाङस्थित चामेभन्दा तल्लो भागको धारापानी, तालगाउँलगायत ठाउँमा बसोबास गर्दै आएका मनाङवासीलाई सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छौं,’ उनले भने ।’ मनाङको मेरुदण्डको रूपमा रहेको बेँशीशहर–चामे सडकको १२ देखि १५ स्थानमा बाढीपहिरोले क्षति पु¥याएको उनले बताए । वर्षा रोकिएपछि एकै दिन सडक मर्मत सक्ने गरी योजना बनाएर अगाडि काम गरिने उनको भनाइ छ । रासस