कालिका लघुवित्त र विजय लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज रहेको छ । यी दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १६ गते बुक क्लोज गरेकाले आज अर्थात् चैत १५ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।  कालिका लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत २९ गते १३औं वार्षिक साधारण सभा गर्ने जानकारी गराएको छ । सभा होटल टास्क इन्टरनेशनल प्रालि, पोखरा कास्कीमा बिहान ९ बजे शुरू गर्ने जानकारी दिइएको छ ।  त्यस्तै विजय लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव पारितका लागि कम्पनीले चैत २८ गते दशौं वार्षिक साधारण सभा आयोजना गरेको छ । सभा विजय विकास स्रोत केन्द्र गैंडाकोट-८, नवलपरासीमा हुने कम्पनीले जानकारी दिएको हो ।