औद्योगिक क्षेत्र निर्माण सुरु गर्ने सहमति

बाँकेको नौवस्ता औद्योगिक क्षेत्र निर्माण र बस्ती व्यवस्थापनका बारेमा सर्वदलीय सहमति भएको छ । सो सहमतिसँगै औद्योगिक क्षेत्रको निर्माण प्रक्रिया अघि बढाइने जनाइएको छ । सुकुम्बासीको अवरोधका कारण निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको सो औद्योगिक क्षेत्र निर्माण सुरु गर्न र बस्तीसमेत व्यवस्थापन गर्नका लागि सर्वदलीय सहमति बनेको औद्योगिक क्षेत्रका कार्यालय प्रमुख कृष्णबहादुर पुनले बताउनुभयो ।

सम्बन्धित सामग्री

औद्योगिक क्षेत्र निर्माण नहुँदै अतिक्रमणको चपेटामा

बाँकेमा औद्योगिक क्षेत्र र औद्योगिक ग्राम घोषणा गरेको लामो समय बिते पनि निर्माण सुरु हुन नसक्दा स्थानीयले अतिक्रमण गरेपछि निर्माणमा थप ढिलाई भइरहेको छ।

नौबस्ता औद्योगिक क्षेत्र निर्माण: बस्तीबाहेक क्षेत्रमा काम थालिने

बैजनाथ गाउँपालिकामा नौबस्ता औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको ८ वर्षपछि निर्माण सुरु हुने भएको छ । प्रस्तावित स्थलमा रहेको बस्तीबाहेकको क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण थालिने भएको हो । बैजनाथ–३ नौबस्तामा सरकारले ५ सय २५ बिघा जमिनमा नौबस्ता औद्योगिक क्षेत्र बनाउने घोषणा गरेको हो । जसमध्ये ३ सय ३८ बिघा जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका नाममा मालपोत कार्यालयबाट ०७३ जेठ २७ मै दर्ता कायम भएको छ ।

औद्योगिक क्षेत्र निर्माणको जिम्मा निजी क्षेत्रलाई दिन माग

चितवन । चितवनका उद्योगी, व्यवसायीले निर्माणाधीन शक्तिखोर औद्योगिक क्षेत्र निर्माण तथा सञ्चालन जिम्मा निजी क्षेत्रलाई दिन माग गरेका छन् । व्यवसायीले कांग्रेस बागमती प्रदेश सभापति तथा संसदीय दलका नेता इन्द्रबहादुर बानिया र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठसमक्ष यस्तो माग गरेका हुन् । नेता बानिया तथा मन्त्री श्रेष्ठ भरतपुरमा निर्माणाधीन चितवन औद्योगिक प्रदर्शनी केन्द्र निरीक्षण गर्न आएका बेला व्यवसायीले यस्तो माग राखेका हुन् । प्रदर्शनी केन्द्र निरीक्षणपछि उनीहरुलाई शक्तिखोर औद्योगिक क्षेत्र निर्माणको अवस्थाबारे जानकारी गराइएको थियो । औद्योगिक क्षेत्रका अभियन्ता तथा उद्योग परिसंघ बागमती प्रदेश अध्यक्ष भेषराज दुवाडी, उद्योग संघ अध्यक्ष त्रिलोचन कँडेल, निवर्तमान अध्यक्ष राजु पौडेललगायतको टोलीले औद्योगिक क्षेत्रको काम यथाशीघ्र अघि बढाउन जोड दिए । सरकारले ०७२ सालमा शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणको निर्णय गरे पनि हालसम्म काम अगाडि नबढेकाले व्यवसायीले यसबारे ध्यानाकर्षण गराएका हुन् । ७ वर्षसम्म औद्योगिक क्षेत्र निर्माणका लागि डीपीआर र वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार गरी रुख कटान गर्ने काम भइरहेको छ । शक्तिखोरमा रहेको १ हजार ७४१ बिघामा ८०० वटा उद्योग स्थापना गर्ने गरी औद्योगिक क्षेत्र निर्माण सुरु भएको अभियन्ता दुवाडीले बताए । २५ प्रतिशत ग्रिनरी रहने गरी बैंक तथा वित्तीय संस्था, औद्योगिक शिक्षालय, रिसोर्ट, विद्यालय तथा क्याम्पस, सुरक्षाकर्मी तथा कामदारका लागि आवास निर्माणलगायत पूर्वाधार निर्माण गर्ने गरी डीपीआर तयार भएको दुवाडीले जानकारी दिए । ९९ वर्षको भोगाधिकारसहित राज्यले निर्माण तथा सञ्चालनको जिम्मेवारी दिए निजी क्षेत्रले औद्योगिक क्षेत्र निर्माण गर्ने अभियन्ता दुवाडीको भनाइ छ । भरतपुरमा निर्माणाधीन औद्योगिक प्रदर्शनी केन्द्रबारे पनि संसदीय दलका नेता बानिया र मन्त्री श्रेष्ठलाई जानकारी गराइएको थियो । कार्यक्रममा बानियाले औद्योगिक क्षेत्रका विकृति अन्त्य गर्न शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण अनिवार्य रहेको बताए । उनले औद्योगिक क्षेत्र निर्माणमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए । मन्त्री श्रेष्ठले शक्तिखोरको औद्योगिक क्षेत्र र औद्योगिक प्रदर्शनी केन्द्रको मुख्यमन्त्री राजेन्द्र पाण्डेले समेत निरीक्षण गरी निर्माणमा चासो देखाएका छन् । ‘मुख्यमन्त्रीले हेरेर जानुभएको छ । व्यवसायीका मागका विषयमा गम्भीर छौं’, उनले भने, ‘औद्योगिक क्षेत्र र औद्योगिक प्रदर्शनी केन्द्र निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्नेछ ।’ निरीक्षणमा चितवनका उद्योगी व्यवसायी तथा राजनीतिक दलका नेता तथा प्रतिनिधिको सहभागिता थियो ।

औद्योगिक क्षेत्र निर्माण प्रक्रिया सुरु

बाग्मती प्रदेश सरकारले प्रदेशका दुई स्थानमा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया सुरु गरेको छ । प्रदेश सरकारले मकवानपुरको मनहरी र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा औद्योगिक क्षेत्र निर्माण सुरु गरेको हो ।