विद्यालयको जग्गा व्यक्तिको नाममा

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–५, सछिपोखरीस्थित रोसाभञ्ज्याङ प्राविको जग्गा व्यक्तिको नाममा रहेको खुलेको छ । जग्गा धनीले अर्कै ठाउँको जग्गा विद्यालयलाई पास गरिदिएपछि विद्यालयको जग्गा चाहिँ व्यक्तिकै नाममा रहेको पाइएको हो । रोसाभञ्ज्याङ प्रावि वि.सं. २०४५ मा स्थापना भएको हो । स्थानीय ओमबहादुर थापा (राजन) ले निःशुल्क उपलब्ध गराएको एक रोपनी जग्गामा भवन निर्माण गरेर विद्यालय सञ्चालन हुँदै आएको थियो । २०७२ जेठ २८ गते जग्गा पास गरियो तर कित्ता नम्बर १७ बाट कित्ताकाट गरेर पास गर्नुपर्नेमा कित्ता नम्बर १५ बाट कित्ता काट गरेर विद्यालयको नाममा पास गरिएको खुलेको हो ।