काठमाडौँमा ‘मेट्रो रेल’ चलाउन असम्भव

‘काठमाडौँमा मेट्रो रेल चलाइन्छ’ भन्ने नेताहरुको भाषण बिना अध्ययन मुखबाट प्वाक्क निस्किएको शब्द हो भन्न अब चाहिँ हिचकिचाउनुपर्ने अवस्था रहेन । किनकी, सरकारले नै ‘एलिभेटेड इलेक्ट्रिफाइड मेट्रो रेल’ चलाउन नसकिने निष्कर्ष निकालेको छ ।विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्दा गरिएको अध्ययनले २०१२ मा भएको ‘सम्भाव्यता अध्ययन’अनुसार सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक (महाराजगञ्ज) खण्डका एलिभेटेड मेट्रो चलाउन नसकिने निष्कर्ष निकालेको हो ।एलिभेटेड रेल सडकमाथि आकाशे पुल जस्तो संरचना बनाएर चलाईने सवारी साधन हो । यसैगरी यही प्रविधि र यस्तै संरचना बनाएर काठमाडौँमा मेट्रो रेल चलाउन अध्ययन भएपनि नसकिने निष्कर्ष निकालिएको हो । रेल विभागले कोरियन कम्पनीले ९ वर्षअघि तयार पारेको सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार काम गर्न पर्याप्त जमिन नभएको बताएको छ । उक्त रेल चलाउने भनिएको खण्डमा पर्ने लाजिम्पाट लगायतका क्षेत्रमा भएको २ लेनको सडकको बीचमा पिल्लर राख्दा सडक झन साँघुरो हुने र जाम बढ्ने भएकाले यो सम्भव नभएको विभागको निष्कर्ष छ ।'सम्पदा मासिने गरी रेलमार्ग बनाउने कुरा आएन'सडक साँघुरो हुने मात्रै नभई काठमाडौँ मन्दिर र सम्पदा उल्लेख्य भएको क्षेत्र हो । यहाँका सम्पदा मासिने भएकाले पनि उक्त रुटमा मेट्रो सञ्चालन असम्भव देखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोत बताउँछ । अहिले भएका सडकमै बीचमा पिल्लर हालेर रेलमार्ग बनाउन नसकिने, थप जग्गा लिँदा सम्पदा मासिने र जग्गाको मुआब्जा पनि निकै महँगो हुने भएकाले असम्भव देखिएको मन्त्रालय स्रोत बताउँछ । मच्छिन्द्रनाथ लगायतका जात्रामा अग्ला रथहरु बनाएर तान्ने प्रचलन रहेको र मेट्रो मार्ग बनाएपछि त्यो सम्भव नहुने भएकाले पनि मेट्रो चलाउने योजना तत्काल सम्भव नदेखिएको बताइन्छ । के भन्छिन् मन्त्री ?भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव जति नै प्रयास गर्दापनि काठमाडौँमा मेट्रो रेल चलाउन सम्भव नदेखिएको बताउँछिन् । केही दिन अघि मन्त्रालयमा पत्रकारहरुसँग कुरा गर्दै यादवले जग्गा प्राप्ती र संरचना भत्काएर मेट्रो चलाउन सम्भव नदेखिएको बताएकी हुन् ।‘काठमाडौंमा मेट्रो रेल चलाउने भन्ने कुरा लामो समयदेखि उठेको कुरा हो, तर मन्त्रालयले तत्कालका लागि असम्भव भनेको छ’ उनले भनिन्, ‘मेट्रोको सोच भएपनि त्यसका लागि जग्गा प्राप्ति र संरचना भत्काउन सक्ने अवस्था देखिएन ।’