गाडी आयात घटाउने उपाय

कोरोनाले अर्थतन्त्रका सबैजसो क्षेत्र शिथिल बने पनि गत आर्थिक वर्षमा निजी सवारीसाधनको आयात ७० प्रतिशतले बढ्यो भने सार्वजनिक यातायातको प्रयोजनका लागि भित्रिने गाडी भने यो भन्दा पनि बढी प्रतिशतले घट्यो । सरकारले गाडी आयात कम गर्न यसलाई विलासिताका वस्तुभित्र राखेर ज्यादै उच्च दरको कर लगाएको छ जुन सामान्यतया अरू देशमा लगाएको पाइँदैन । २५० प्रतिशतसम्मको कर लगाए पनि निजी प्रयोजनका लागि भित्रिने गाडीको संख्या किन बढिरहेको छ त ? सार्वजनिक यातायात सहज हुनेबित्तिकै निजी गाडीको आयात कम हुन्छ । बढ्दो व्यापारघाटा र विदेशी विनिमय सञ्चितिमा परेको दबाब कम गर्न पनि यस्तो नीति आवश्यक देखिन्छ । अर्थतन्त्र सकारात्मक हुँदै जाँदा सवारीसाधनको आयात र विक्री बढ्नु स्वाभाविकै हो । त्यसमाथि पनि मुलुकका अत्यधिक ठाउँ सडक सञ्जालले जोडिँदै गएपछि निजी सवारीसाधनको माग बढ्नु अन्यथा होइन । त्यसमा पनि विकासोन्मुख मुलुकहरूमा निजी सवारीसाधन इज्जतको पर्यायका रूपमा लिने गरिन्छ जसले गर्दा मानिसहरू ऋणधन गरेर पनि गाडी जोड्नुलाई सफलता ठान्छन् । नेपालमा यी सबै तथ्यका बीच सार्वजनिक यातायातका बेथितिका कारण पनि मानिसहरू निजी सवारीसाधन खरीद गर्न बाध्य बनेको पाइन्छ । विश्वका अन्य देशमा भन्दा नेपालमा गाडी खरीद गर्नु निकै महँगो छ । सवारीसाधन आयातमा मात्र होइन सडक कर, प्रदूषण कर आदि गरेर वार्षिक कर नै अत्यधिक तिर्नुपर्छ जुन अन्य देशमा ज्यादै कम छ वा तिर्नै पर्दैन । यस्तो महँगो हुँदाहुँदै पनि निजी सवारीसाधनको आयात बढ्नुमा सरकारी नीति नै दोषी देखिन्छन् । कोरोना महामारीको समयमा सार्वजनिक यातायात जोखिमपूर्ण भएकाले मध्यम वर्गले दुईपांग्रे वा चारपांग्रे सस्ता गाडी निकै खरीद गरेको पाइन्छ । गतवर्ष नाडाले उपलब्ध गराएको तथ्यांकले यही बताउँछ । कोरोना नियन्त्रणका लागि भनेर सरकारले लामो समयसम्म जोरबिजोर प्रणाली लागू गर्‍यो । यही कारण पनि दुईओटा सवारीसाधन किन्ने मानिसहरू देखिएका छन् । सार्वजनिक यातायातका लागि कोरोनाका यी २ वर्ष संकटका क्षण नै बनेका छन् । त्यसैले सार्वजनिक यातायातका लागि नयाँ सवारीसाधन आउने कुरा छैन । यस्तोमा सक्नेले साना गाडी किन्ने नै भए । विडम्बना के छ भने सरकारले साना गाडीलाई विलासिताका वस्तु भनेर व्यवहार गर्छ, थुप्रै कर लगाउँछ । तर पनि आयात बढिरहेको छ । यसको अर्थ सरकारको नीति गलत छ भन्ने हो । बढी कर लगाउ“दैमा कुनै वस्तुको आयात रोक्न सकि“दैन भन्ने पनि यसले देखाएको छ । गाडी आयात सम्बन्धमा सरकारको नीति पनि अन्तरविरोधी देखिन्छ । सरकार यसबाट प्राप्त राजस्वबाट खुशी देखिन्छ । गतवर्ष बन्दाबन्दीमा गाडी आयात कम हुँदा राजस्व घटेकाले सरकारले नै गाडी आयात गर्न सहजीकरण गरिदिएको थियो । गाडीलाई विलासिताका सामग्री मानेर टन्न कर लिने सरकारले आफू मातहतका कार्यालयहरूमा रहेका हुँदाखाँदाका राम्रा गाडी थन्क्याएर नयाँ गाडी किनिरहेको छ । जनतालाई गाडी महँगो पार्ने अनि जनताले तिरेको करबाट जथाभावी गाडी किन्ने सरकारको नीति नै उदेकलाग्दो देखिन्छ ।   अहिले पुराना गाडीलाई विद्युतीय बनाउने अवसर छ । केही लाख रुपैयाँ खर्च गर्ने हो भने सरकारले फालेका सयौं गाडी विद्युतीय बनाएर मजाले चलाउन सकिन्छ । त्यो पनि नेपालीहरू मिस्त्रीहरूबाट नै गराउन सकिन्छ । ती गाडी सरकाले लिलाम गरिदिए निजीक्षेत्रले किनेर प्रयोगमा ल्याउँथे । जसले गाडी आयातलाई केही मात्रामा घटाउनुका साथै विद्युतीय गाडीको संख्यासमेत बढाउँथ्यो । सार्वजनिक सवारी नियमित र व्यवस्थित नभएकाले नै निजी सवारीसाधन किन्नुपर्ने बाध्यता आइपरेको हो । तत्कालै सरकारले ठूला सार्वजनिक यातायातमा क्रान्तिकारी कदम ल्याउन सक्ने देखिँदैन । तर, विद्युतीय ट्याक्सी चलाउन दिने हो तथा टुटल पठाओजस्ता राइड शेयरिङ कम्पनीहरूलाई फस्टाउन दिने हो भने निजी सवारी किन्नेको संख्या राम्रै घटाउन सकिन्छ । सहज रूपमा ट्याक्सी पाउने मात्रै हो भने पनि लाखौं खर्च गरेर निजी सवारी किन्नेको संख्या कम हुन्छ । त्यसैले सार्वजनिक यातायात सहज हुनेबित्तिकै निजी गाडीको आयात कम हुन्छ । बढ्दो व्यापारघाटा र विदेशी विनिमय सञ्चितिमा परेको दबाब कम गर्न पनि यस्तो नीति आवश्यक देखिन्छ ।

सम्बन्धित सामग्री

खर्च घटाउने अर्थहीन निर्णय

राजस्वबाट उठेको रकमले चालू खर्च धान्न नसक्ने अवस्था आएपछि सरकारले खर्च कटौतीका लागि केही निर्णय गरेको छ । अर्थ मन्त्रालयले खर्च घटाउनेसम्बन्धी मापदण्ड २०७९ जारी गरेको छ । तर, सरकारी खर्चको बोझ जहाँ छ ती शीर्षकलाई छोइएको छैन । सरकारी खर्च पुनरवलोकन आयोगले दिएका सुझावलाई पन्छाइएको छ र पानीको बोतल नकिन्ने, पत्रपत्रिका खरीद नगर्नेजस्ता अति सामान्य शीर्षकको खर्च कटौती गर्ने मापदण्ड बनाइएको छ जुन वाहियात मात्र होइन, हास्यास्पदसमेत देखिन्छ । अर्थतन्त्रमा समस्या छ भन्ने कुरा अर्थमन्त्रीले स्वीकारेका छन् । त्यो समस्या भनेकै चालू खर्च जथाभावी हुने तर विकास खर्च ज्यादै न्यून हुने, त्यो पनि आर्थिक वर्षको अन्त्यमा हतारमा गरेर अपचलन गर्ने प्रवृत्ति हो । त्यसलाई रोक्न नसकेसम्म यस्ता देखावटी निर्णयले केही परिणाम दिँदैन । मापदण्डअनुसार अति आवश्यकबाहेक स्वदेश तथा विदेश भ्रमणलाई निरुत्साहित गर्ने, दुईपांग्रे र चारपांग्रे सवारीसाधनको सर्भिसिङ गर्दा मोबिल नफेर्नेजस्ता कुरा राखिएका छन् । मोबिल नफेर्दा सवारीसाधन नै काम नलाग्ने हुन्छ । त्यस्तो निर्णय गरेर जगहँसाइको काम भएको छ । अझ अचम्मको निर्णय के छ भने विभिन्न शीर्षकमा खर्च नगर्ने तर अत्यावश्यक भए खर्च गर्ने भनिएको छ । अत्यावश्यक हो कि होइन भनेर निर्णय गर्ने सरकारी अधिकारी आफै भएकाले यस्तो निर्णय सीधै जनताको आँखामा छारो हाल्न र सस्तो प्रचारबाजीका लागि हो भन्ने देखिन्छ । अझ भन्ने नै हो भने संघीयतामा गएको यति सानो मुलुकमा चारचार जना उपप्रधानमन्त्री नियुक्ति गरिएको छ, जसबाट जनतामा एक किसिमको आक्रोश पैदा हुन थालिसकेको छ । जनताको यो असन्तुष्टिलाई मत्थर पार्ने यो निरर्थक प्रयास हो भन्ने सहजै अनुमान गर्न सकिन्छ । मुलुक संघीयतामा गइसकेपछि थुप्रै विभाग, मन्त्रालय, विकास समितिहरू अनावश्यक छन् । सरकारद्वारा गठित सार्वजनिक खर्च पुनरवलोकन समितिले तिनको नामावलीसहित सरकारलाई खारेज गर्न र गाभ्न सुझाव दिएको थियो । यसले अनुत्पादक र ठूलो बोझ बनेको सरकारी संयन्त्र छिटोछरितो बनाउन मद्दत गर्छ । तर, सरकार छरितो प्रशासन यन्त्र चाहँदैन । संघीयताको कार्यान्वयनपछि संघीय सरकारका कर्मचारीहरू प्रदेश र स्थानीय तहमा सरुवा गर्नुपर्नेमा उल्टो दरबन्दी थप्ने काम भएको छ । यसले प्रशासनिक खर्च निकै बढेको छ । अर्थतन्त्रमा समस्या देखिएपछि सरकारले पटकपटक गर्ने एउटा निर्णय विदेश भ्रमणमा कडाइ गर्ने भन्ने हुने गर्छ । तर, त्यसमा एउटा शब्दावली घुसाइन्छ, अत्यावश्यकबाहेक । व्यवहारमा भने आवश्यकै नपरेका ठाउँमा समेत मन्त्रीदेखि सरकारी कर्मचारीसम्मको लर्को लाग्छ । मौका पाउनेबित्तिकै बेला यही हो भन्दै मरिहत्ते गर्ने मात्र होइन त्यस्ता वैदेशिक भ्रमण कत्तिका उपयोगी छन् भन्ने कुरासमेत ख्याल गरिँदैन । यसअघिका सबै सरकारले गरेकै यही हो । हात्तीको देखाउने दाँतजस्तै सरकारी निर्णय किन गरिन्छन् भन्ने प्रश्न आममानिसमा उठ्छ । सरकारले कहिल्यै पनि त्यस्ता प्रश्नको चित्त बुझ्दो जवाफ दिँदैन । सरकारी कार्यालय परिसरमा नयाँ गाडीलाई थोत्रो बनाएर फालिएको हुन्छ तर अत्यावश्यकका नाममा महँगा विलासी गाडी आयात गर्ने क्रम रोकिएको छैन । मन्त्रालयका नाममा किन्न अप्ठ्यारो परे आयोजनाका नाममा गाडी किन्ने र सरकारी अधिकारी तथा राजनीतिक दलका नेताले चढ्ने गरेको पाइन्छ । सरकारी खर्च बढाउने यस्ता तमाम विकृति छन् जसलाई रोक्न ठोस र पारदर्शी कार्यक्रम आवश्यक हुन्छ । कार्यान्वयनको विश्वासिलो आधार पनि चाहिन्छ । तर, सरकारी अधिकारीहरूलाई उत्तरदायी नबनाउन्जेल जस्तो निर्णय गरे पनि उपलब्धि हात लाग्ने देखिँदैन । अहिले सरकारले गरेको निर्णय पनि यस्तै परम्पराको निरन्तरता हो । अर्थतन्त्रमा समस्या छ भन्ने कुरा अर्थमन्त्रीले स्वीकारेका छन् । त्यो समस्या भनेकै चालू खर्च जथाभावी हुने तर विकास खर्च ज्यादै न्यून हुने, त्यो पनि आर्थिक वर्षको अन्त्यमा हतारमा गरेर अपचलन गर्ने प्रवृत्ति हो । त्यसलाई रोक्न नसकेसम्म यस्ता देखावटी निर्णयले केही परिणाम दिँदैन । अर्थतन्त्रमा अहिले देखिएको समस्या एकाएक आएको होइन । सरकारी संयन्त्रमा भएका यस्तै समस्या जेलिँदै अहिलेको अवस्था आएको हो । अब पनि त्यही परम्परालाई निरन्तरता दिने हो भने कुनै पनि बखत अर्थतन्त्र सरकारले सम्हाल्न नसक्ने गरी समस्यामा पर्न सक्छ । त्यसैले सरकारी खर्चकटौती देखावटी होइन, वास्तविक हुनुपर्छ ।

आयात नियन्त्रणको गलत बाटो

अर्थतन्त्रको बाह्य पक्षमा दबाब बढ्दै गएपछि सरकारले मालवस्तुको आयातमा कडाइ गर्न थालेको छ । विदेशी विनिमय सञ्चिति घट्दै गएकाले सरकारले एलसी खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेर आयात नियन्त्रणको नीति लिएको हो । यसले आयातलाई असहज बनाए पनि विनियम सञ्चितिमा सकारात्मक परिणाम दिन सक्नेमा भने आशंका नै छ । सरकारले आयातमा कडाइ गर्दा चोर बाटोबाट सामान आयात हुने सम्भावना पनि निकै ठूलो छ । साना परिमाणमा हुने यस्तो आयात व्यापक भयो भने त्यसले विनिमय सञ्चितिमा असर पारेरै छाड्छ । नेपालको अर्थतन्त्रमा नकारात्मक संकेत अहिले अकस्मात् देखापरेको होइन । अघिल्लो आवको अन्त्यतिरदेखि नै बाह्य क्षेत्रमा नकारात्मक बन्न थालेको हो । खासमा कोरोना महामारी शुरू हुनुभन्दा अघिदेखि नै समस्याका संकेत देखापरिसकेका थिए । कोरोनाका कारण आयात ठप्प हुँदा त्यसले केही सकारात्मक देखिएको हो । तर, बिस्तारै अर्थतन्त्र चलायमान हुन थालेपछि यसमा समस्याका भ्वाङहरू देखापर्न थालेका हुन् । यद्यपि अझै पनि अर्थतन्त्र संकटतर्फ नलागेको दाबी अर्थमन्त्रीले गरेका छन् । अर्थतन्त्रको एउटा पक्षमा देखापरेको भ्वाङ टाल्न लिइएको नीतिले अन्य क्षेत्रमा थप भ्वाङ पर्ने सम्भावना बढी हुन्छ । आयातमा कडाइ गर्नेबित्तिकै त्यसले अन्य क्षेत्रमा असर पर्छ । अर्थमन्त्रीले जे बताए पनि आयात नियन्त्रण गर्न खोज्नुको अर्थ अर्थतन्त्रमा समस्या आइसकेको छ भन्ने नै हो । आयात नियन्त्रण गर्नु वा रोक्न खोज्नु भनेको विदेशी विनिमय जोगाउने अन्तिम अस्त्र हो । सरकारले यस्ता अन्तिम अस्त्रलाई शुरूमा नै प्रयोग गर्दा समस्या झनै चर्कने सम्भावना हुन्छ । आयात नियन्त्रणको यो उपाय कत्तिको प्रभावकारी हुन्छ आगामी दिनले नै बताउनेछ । तर, अहिलेको समस्याका तीन पक्ष देखिन्छन् । पहिलो कुरा सरकारले आम्दानी बढाउने नीति लिनुभन्दा खर्च घटाउने नीति लिएको छ । यसरी खर्च घटाउँदा त्यसको असर स्वरूप आम्दानी घट्छ । त्यसैले नियन्त्रणको बाटोमा जानुभन्दा आमदानी नै बढाउनेतर्फ लानुपर्छ । आायतमा कडाइ गर्नासाथ विदेशी विनिमय बढ्छ भने आपत्ति जनाउनुपर्ने कारण देखिँदैन । तर, आयात नियन्त्रणकै लागि भनेर सरकारले रोजगारी बढाउने तथा अर्थतन्त्रलाई गति दिन सहयोग गर्ने वस्तुकै आयातमा कडाइ गरेको छ । यो कडाइको व्यवसायीले विरोध गरेका छन् । अहिले २० ओटा वस्तुको आयात गर्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था गर्दा कैयौं व्यक्तिको रोजगारी गुम्न सक्छ । उदाहरणका लागि गाडी आयातमा कडाइ गर्दा एकातिर सरकारले राजस्व गुमाउने त छँदै छ, अर्कातिर गाडी आयात भएपछि त्यसले सृजना गर्ने रोजगारी पनि गुम्ने देखिन्छ । त्यस्तै विलासिताका वस्तु मानेर सुनचाँदीका आयात कडा गर्दा त्यहा“ कार्यरत कर्मचारीले रोजगारी गुमाउनुपर्ने हुन्छ । खासगरी चाँदी आयात रोक्दा हजारौं मानिसको रोजगारी गुम्ने अवस्था आउँछ । सरकारले आयातमा कडाइ गर्दा चोर बाटोबाट सामान आयात हुने सम्भावना पनि निकै ठूलो छ । साना परिमाणमा हुने यस्तो आयात व्यापक भयो भने त्यसले विनिमय सञ्चितिमा असर पारेरै छाड्छ । त्यसैले यस्तो कडाइ त्यति सान्दर्भिक हुँदैन । विप्रेषणमा निर्भर अर्थतन्त्र रहेको हाम्रो जस्तो देशले विनिमय सञ्चितिका लागि विशेष रणनीति तय गर्न सक्नुपथ्र्यो । ण्अहिलेसम्म विदेशी विनिमय आर्जन गर्ने विधि पत्ता लगाएर कार्यान्वयन भइसक्नुपर्थ्यो । यसमा सरकार चुकिसकेको छ । अकस्मात् यो व्यवस्था लागू हुँदा कतिपय व्यवसायीलाई उधारो उठाउन पनि समस्या हुने देखिन्छ । क्रमशः यस्तो कडाइ गर्दै लगेको भए यो नीति बढी प्रभावकारी हुने थियो । विदेशी विनिमय सञ्चिति जोगाउन आयातमा कडाइ गर्दा उद्योग व्यवसायको चक्र नै प्रभावित हुन्छ । त्यस्तै उद्योगहरूमा कामदारको माग नहुँदा समस्या झने बढी चर्कन्छ । त्यसैले विप्रेषण गलत मार्गबाट अआइरहेको छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ । वैदेशिक रोजगारीमा जानेहरूले औपचारिक प्रणालीबाट रकम पठाए त्यसमा प्रोत्साहन स्वरूप केही नगद दिने प्रचलन गर्न सकिन्छ । पर्यटन आगमन बढाउन प्रचारात्मक कार्य हुन सकेको छैन । विदेशी विनिमय आम्दानी हुन सक्ने क्षेत्र खोजी त्यसलाई सुधार गर्न अबेर भइसकेको छ ।