कात्तिक १३, दोलखा । दोलखाको भीमेश्वर नगरपालिकास्थित भीमेश्वर रंगशाला निर्माणको कामले कोरोना महामारीमा पनि तीव्रता पाएको छ ।
भीमेश्वर नगरपालिकाको आफ्नै स्रोतबाट निर्माणाधीन ११० मिटर लम्बाइ तथा ६५ मिटर चौडाई रहेको छ । रंगशाला निर्माण अन्तर्गत पहिलो चरणको काम चालू आर्थिक वर्षभित्र पूरा गरी दोस्रो चरणको कामको लागि आवश्यक प्रक्रिया अगाडि बढाइने भीमेश्वर नगरपालिकाका इञ्जिनीयर सुरेश राउतले बताए ।
नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा टुँडिखेल विस्तार गरी रंगशाला निर्माणका लागि ठेक्का आह्वान गरेको थियो । किराँतेश्वर–सिमपानी जेभीले पहिलो चरणको काम २४ महीनामा पूरा गर्ने गरी २०७७ साउन २५ बाट ठेक्का सम्झौता गरी काम शुरु गरेको थियो ।
अहिले रंगशालाको दक्षिणतिरको ११० मिटर लम्बाइको भवन निर्माणको क्रम जारी छ । भवनको भूईतला तथा पहिलो तलाको स्ट्रक्चरको काम भइरहेको किराँतेश्वर– सिमपानी जेभीका राजु केसीले बताए ।
पहिलो चरणमा दक्षिण र पूर्वतिरको दुई तले भवनसहितको अत्याधुनिक आरसीसी प्याराफिट निर्माण हुने भीमेश्वर नगरपालिकाकाका इञ्जिनीयर सुरेस राउतको भनाइ छ । टुँडिखेल विस्तार गरी रंगशाला निर्माणकालागि २० करोड लागत अनुमान गरिएकोमा पहिलो चरणमा १२ करोड रुपैयाँ लागत अनुमान रहेको उनको भनाइ छ ।
दोस्रो चरणको कामका लागि आर्थिक स्रोत जुटेपछि ठेक्का आह्वान गरिने भीमेश्वर नगरपालिकाले बताएको छ । दोस्रो चरणमा उत्तरतिरको प्याराफिट, खेल मैदान र टिकट काउन्टर, अतिथि आसनलगायतका संरचना तयार हुने बताइएको छ । रंगशाला निर्माण पछि राष्ट्रियस्तरको खेलहरू सदरमुकाम चरिकोटमा संचालन गर्न सकिने छ ।
यसबाट चरिकोटमा खेल पर्यटकहरू आउँदा आन्तरिक पर्यटकहरुको आगमन बढ्ने नगरको विश्वास छ । इञ्जिनियर राउतका अनुसार टुँडिखेलको दक्षिण–पूर्वतर्फ २५/ २५ मिटर लम्बाइका दुई ओटा र ३०/ ३० मिटरको दुई ओटा ब्लक निर्माण हुने छन् ।
भुईंतलामा ४० ओटा व्यापारिक सटर निकालेर दुई तलाको भवन र त्यसमाथि प्याराफिट निर्माण हुने छ । रंगशालाको पूर्वतिर भने भूमिगत पार्किङ, टिकट काउण्टर, क्यान्टिन, शौचालय, बाथरुम तथा खेलकूदका कार्यालय राख्ने कोठा लगाएतका संरचना निर्माण गरिने भीमेश्वर नगरपालिकाले बताएको छ ।