देश एक प्रकारले ठप्प छ । किनकि देशमा सरकार भन्ने जीव छ पनि, छैन पनि । खाने बेलामा सरकार छ तर काम गर्ने बेलामा छैन । आज नयाँ सरकार बनेको १७औं दिन भैसक्दा पनि सरकारले पूर्णता पाएको छैन । यता हरेक दलभित्र कलहको सलह पसेको छ । कलहको कारण कुर्सी । कुर्सी थोरै आकांक्षी धेरै । सरकारको प्रमुख काम नै कुर्सी व्यवस्थापन । कुर्सीको कमानी खुस्कियो कि सरकार खुस्कियो । यसरी सरकार पनि बाधा वा बन्धनहरूबाट मुक्त छैन ।
प्राकृतिक फूलबाट मुक्त भएर प्लाष्टिक र क्याक्टस सौन्दर्यबोधको नयाँ प्रतीक बनेर हाम्रा ड्रइङरूमहरूमा सजिइरहेका छन् । यसरी हामीले हाम्रो परम्पराबाट मुक्ति प्राप्त गरेर आधुनिकताको मदिरा पिइरहेका छौं ।
सरकार जनतालाई र देशलाई विभिन्न बन्धनहरू, जस्तै– अशिक्षा, गरीबी आदिबाट मुक्त गराउन चाहन्छ । तर ऊ आफै विभिन्न बन्धनमा बाँधिएको छ र तिनबाट उसैलाई मुक्ति चाहिएको छ । सबै सांसदलाई मन्त्री बन्नु छ । प्रधानमन्त्रीले कसलाई मात्रै मन्त्री बनाउनु ? मन्त्री बनाउने समस्याबाट सरकार मुक्त हुनासाथ देशलाई कसरी सबै समस्याहरूबाट मुक्त गराउने भनेर लाग्ने होला । त्यसपछि मात्र संसद्ले बिजनेश पाउने होला ।
नेतागणले त पुरानोबाट मुक्ति दिलाएर सामाजिक मूल्य मान्यताको परिभाषा नै फेरिदिएका छन् । उनीहरूले एकअर्कालाई गर्ने सम्बोधनहरू हामीलाई असभ्य गाली लाग्छन् । तर आश्चर्य ! उनीहरू त्यसैमा तालीे पो खान्छन् । जनताले उनीहरूको भाषा बुझ्दैनन् र अक्क, बक्क र छक्क पर्छन् । उनीहरू पनि जनताको भाषा बुझ्दैनन् र आफैमा मख्ख पर्छन् ।
हामी २१औं शताब्दीमा छौं । तर प्रजातन्त्रका रक्षक अर्थात् नेताहरू भने २१औं शताव्दीबाट मुक्त भई २२औं शताब्दीमा पुगिसके । उनीहरूले नैतिकता, देशभक्ति, सामाजिक तथा मानवीय मूल्य मान्यतालाई उहिल्यैदेखि मुक्ति दिइसकेका छन् । उनीहरू देश, समाजभन्दा पहिल्यै अग्रगामी छलाङ मारेर २१औं शताब्दीमा पुगेका थिए । अग्रगामी छलाङ मार्ने भनेको आफ्नालाई तार्ने, अरूलाई झार्ने हो । त्यसैले उनीहरूको विचार, व्यवहार अहिलेको समाजसँग मिल्दैन । भन्दा समाजवाद, व्यवहारमा दलाल पूँजीवाद । उनीहरूको मूल्य मान्यता भनेकै कुर्सीका लागि धन र धनका लागि कुर्सी हो । किनकि यो नै उनीहरूका लागि परम् आनन्द अर्थात् मुक्तिको मार्ग हो । उनीहरूको विचारमा उनीहरूले पहिला मुक्ति प्राप्त गरेपछि अनि जनताकै पालो आउँछ ।
जनताले अहिले सीधै मुक्ति नपाए पनि क्षेत्रगत हिसाबले भने सरकारले मुक्तिको अभियान चलाइरहेकै छ । उदाहरण :–
देशको अर्थव्यवस्थालाई अर्थमन्त्री, अर्थ मन्त्रालय वा भनौं सरकारको पकडबाट मुक्त गराएर माफियाकोमा पुर्याइसकिएको छ । खासमा सरकारले अर्थव्यवस्थाको जिम्मा सरकारबाट निजीक्षेत्रमा पु¥याउन खोजेको थियो । तर बीचमा बिचौलिया र माफियाकोमा चैं पुग्यो । तर जे होस्, अर्थ मन्त्रालय र सरकारबाट चंै अर्थव्यवस्था मुक्त भएको छ ।
त्यस्तै शिक्षाक्षेत्र त सरकारबाट उहिल्यै मुक्त भइसकेको हो । लकडाउन अगाडि सरकारी स्कूल, कलेजहरू आफ्नो कक्षाको हलमा भन्दा सिनेमा हलहरूमा बढी चल्थे ।
विद्यार्थीहरू विश्वविद्यालयको बाहिर, सडकमा वा पार्टी कार्यालयमा बढी भेटिन्थे । सरकारी बाहेकका स्कूल कलेजबाट पनि खास शिक्षामुक्त भइ नै सकेको थियो । सामान्य बेलामा पनि शिक्षण संस्थाहरू खुल्ने भन्दा बन्द रहने दिन धेरै रहन्थे ।
हुँदा हुँदा सबैतिरबाट मुक्त भएर गेस पेपरमा खुम्चिन पुगेको शिक्षा अहिले कम्प्युटर र मोबाइलमा फैलिन पुगेको छ । अर्थात् किताबले विद्यार्थीहरूबाट मुक्ति पाएको छ ।
अथवा भनौं विद्यार्थीहरूले किताबबाट मुक्ति पाएका छन् । विगत ३० वर्षदेखि सबै शिक्षण संस्थाको एउटै उद्देश्य शिक्षित युवालाई देशबाट मुक्ति दिलाएर विदेश नै पुर्याउने थियो र छ । यसरी शिक्षा व्यवस्था पनि सबैतिरबाट मुक्त छ । युवाहरू आफै पनि परिवार र अझ देशबाट मुक्ति चाहन्छन् । त्यसैले सधैं विदेश जाने लाइनमै छन् ।
स्वास्थ्य क्षेत्र त सरकारबाट अझ धेरै मुक्त छ । त्यसैले त कतिपय अस्पतालहरूमा बिरामीहरूले समयभन्दा धेरै पहिले जीवनबाटै मुक्ति पाउने गरेका रिपोर्टहरू आइरहन्छन् । निजी अस्पतालको बिल तिर्दा तिर्दा आफ्नो घरजग्गा, श्रीसम्पत्तिबाट मुक्ति पाएर सुकुमवासी बनेका त कति छन् कति ।
मुक्तिको यो चक्करमा गाउँ आफ्नो मूलभूत चरित्र सौहार्द, प्रेम र सहानुभूतिबाट मुक्त भएको छ । त्यहाँको संस्कृति, रीतिरिवाज, परम्परा, श्रम, मूल्य मान्यतामाथि शहरी चमकधमक हाबी छ । यो मुक्तिको मौसममा गाउँलाई टाउन, टाउनलाई नगर, नगरलाई महानगर बनाउने मुिक्तदौड चलिरहेको छ । र, हामी मुक्त मुक्त अनुभव गरिरहेका छौं । प्राकृतिक फूलबाट मुक्त भएर प्लाष्टिक र क्याक्टस सौन्दर्यबोधको नयाँ प्रतीक बनेर हाम्रा ड्रइङरूमहरूमा सजिइरहेका छन् । यसरी हामीले हाम्रो परम्पराबाट मुक्ति प्राप्त गरेर आधुनिकताको मदिरा पिइरहेका छौं । र, पश्चिमी दर्शनलाई आफनो भर्सन बनाउन दौडधुप गरिरहेकै छौं ।
नेपाली संगीत, कला, साहित्यमा पनि मुक्तिवाद नै चलिरहेको छ । त्यसैले सबै कुरामा उपभोक्तावाद हावी छ । विक्री गर्नका लागि लेख र लेख्नका लागि बिक । त्यसैले त अहिले प्रयोगवाद, प्रगतिवाद बिक्दैन, जनवाद बिक्छ, धनवाद बिक्छ । आधुनिकतावाद पुरानो भयो । अब उत्तर आधुनिकतावाद पो बिक्छ । बजारमा आकर्षक खोल ओढाएर विज्ञापन गर्नुस्, सबै कुरा बिक्छ । बेच वा आफै बिक र कुनै पनि दायित्वबाट मुक्त होऊ ।
पहिले सभ्यता, सौम्यता र सौन्दर्यका लागि पनि पूर्ण वस्त्र लगाउने गरिन्थ्यो । अहिले यो बन्धनबाट मुक्ति खोजिँदै छ र कमभन्दा कम लुगा लगाएर शरीरलाई कपडाबाट मुक्त गर्ने चलन आएको छ । ‘आफूसँग भएको चीज किन नदेखाउने’ भन्छन् अभिनेत्रीहरू । यसरी वस्त्रमुक्त हुने मुक्तिको अर्को युग, अर्थात् वस्त्रमुक्तयुुग शुरू भएको छ । उता छिमेकीले सीमा तोड्दै गर्दा यता हामीले आप्mना मर्यादाका सीमा भत्काउँदै छौं । किनकि हामी मुक्ति जो चाहन्छौं ।
यसरी अहिले सबैतिर मुक्तिको आवाज छ । तर के मुक्ति सम्भव छ ? के दानवहरूको बीचमा बसेका सामान्य मानवहरूले रोग, भोग, शोक र अशिक्षाबाट सजिलै मुक्ति पाउन सक्लान् र ? तपाईंलाई के लाग्छ ?