विश्व पर्यटन संगठन (डब्ल्यूटीओ) ले सन् २०२२ मा आफूले गरेको विभिन्न गतिविधि र प्रगति विवरणको सूची प्रकाशित गरेको छ । त्यसमा उल्लेख गरिएको तथ्यतथ्यांकका आधारमा हेर्दा सन् २०२२ का १२ महीनामा डब्ल्यूटीओले धेरै प्रगति गरेको मान्न सकिन्छ । हुन त कोरोना भाइरसको महामारीले विश्राम लिने, नलिने कुनै टुंगो नरहेको अवस्था थियो सन् २०२२ । त्यसो भए तापनि डब्ल्यूटीओले न्यूनतम सीमाभित्र रहेर सन् २०२२ मा जेजति गतिविधि गर्यो त्यसलाई धेरै नै सराहनीय काम मान्नुपर्ने हुन्छ । उसले सन् २०२२ को जनवरी महीनामा ‘ग्लोबल टुरिजम एड्भोकेसी’ आयोजना गर्यो । त्यस्तै फेब्रुअरी महीनामा ‘टुरिजम लिडर समिट’ आयोजना गर्यो भने मार्च महीनामा ‘वुमेन इम्पावरमेन्ट हर्ट अफ टुरिजम रि–स्टार्ट’ र ‘बेस्ट भिलेज टुरिजम’ (दोस्रोपटक) आयोजना गर्यो । त्यसै गरेर सन् २०२२ को अप्रिल महीनामा चाहिँ ‘अवेक टुरिजम च्यालेन्ज फर स्टार्ट अप’ आयोजना गर्यो भने मे महीनामा ‘संयुक्त राष्ट्रसंघको साधारणसभामा दिगो पर्यटनका लागि उच्चस्तरीय छलफल’ गर्यो । त्यसै गरेर जुन महीनामा ‘विश्वका ११६ सदस्य देशका कार्यकारी सभाले समुद्रका सम्बन्धमा सम्मेलन’ गरे भने जुलाई महीनामा पहिलोपटक ‘फर्स्ट ग्लोबल युथ टुरिजम समिट’ आयोजना गर्यो । त्यस्तै अगस्त महीनामा ‘अन्तरराष्ट्रिय पर्यटन लगातार सकारात्मक दिशातर्फ गएको’ सन्देश प्रवाह गर्यो ।
सन् २०२२ मा नेपाली पर्यटनलाई टेवा पुग्ने खालका पर्यटन गतिविधि र महत्त्वपूर्ण एवम् दूरगामी कार्यक्रमहरू आयोजना गरिएन । त्यसो भए तापनि त्यस वर्ष नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या भने राम्रैसँग वृद्धि भयो ।
सन् २०२२ को अगस्त महीनामा ‘२५० मिलियन अन्तरराष्ट्रिय पर्यटकले विश्वका विभिन्न देशको भ्रमण गरेको’ तथ्यांक सार्वजनिक गर्यो । त्यस्तै सन् २०२२ को सेप्टेम्बर महीनामा ‘विश्व पर्यटन दिवस’का साथै विश्वका विकसित २० देशका सरकारहरूबीच ‘जी–२० टुरिजम वर्किङ ग्रुप’को छलफल आयोजना गर्यो । साथै सेप्टेम्बर महीनामा सन् २०१९ को अन्तिममा चीनबाट फैलन शुरू भएको कोरोना महामारीअघिको तुलनामा ६० प्रतिशतले विश्व पर्यटनमा प्रगति भएको तथ्यांक पनि सार्वजनिक गर्यो, विश्व पर्यटन संगठनले । अक्टोबर महीनामा डब्ल्यूटीओको ‘नेटवर्क अफ टुरिजम अब्जरभेटरी (इन्स्टो)’ आयोजना गर्यो । साथै उक्त अब्जरभेटरीले डब्ल्यूटीओमा विश्वका अरू देशहरू जो विश्व पर्यटन संगठनको सदस्य बन्न बाँकी रहेका छन्, ती देशहरूलाई पनि सदस्यका रूपमा थप्ने सहमति दियो । त्यस्तै नोभेम्बर महीनामा डब्ल्यूटीओका सदस्य राष्ट्रका पर्यटनमन्त्रीहरूको सम्मेलन आयोजना गर्यो । त्यस्तै सोही महीनामा जलवायुसम्बन्धी कोप–२७ सम्मेलनमा पर्यटनसम्बन्धी एजेन्डामा पनि बहस र छलफल गराउन सफल भयो । २०२२ को अन्तिम महीना अर्थात् डिसेम्बरमा ‘विश्व खानपिनसम्बन्धी ग्यास्ट्रोनोमी फोरम’ र ‘बेस्ट टुरिजम भिलेज एन्ड स्टुडेन्ट लिग–२०२२’ सम्मेलन आयोजना गर्यो । यसरी विश्व पर्यटन संगठनले सन् २०२२ मा गरेका काम कारबाहीहरूको सूची हेर्दा कैयौं ससाना पर्यटन र पर्यटकीय गतिविधि र कार्यक्रमहरू गरेको पाइन्छ । विश्व पर्यटनमा भविष्यमा पर्ने महत्त्वपूर्ण र दूरगामी खालका यस्ता कार्यक्रमको आफ्नै खालको महत्त्व छ ।
नेपाली पर्यटनको सन्दर्भमा भन्नु पर्दा सन् २०२२ मा नेपाली पर्यटनलाई टेवा पुग्ने खालका पर्यटन गतिविधि र महत्त्वपूर्ण एवम् दूरगामी कार्यक्रमहरू आयोजना गरिएन भन्दा हुन्छ । त्यसो भए तापनि सन् २०२२ मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको संख्या भने राम्रैसँग वृद्घि भयो । सन् २०२२ मा बढीमा साढे ३ वा ४ लाख हाराहारी विदेशी पर्यटकले नेपाल भ्रमण गर्लान् कि भन्ने अनुमान गरिए पनि २०२२ को ११ महीनामै ५ लाख ४६ हजार विदेशी पर्यटकले नेपाल भ्रमण गरे । सन् २०२२ को १२ महीनामा ६ लाख १४ हजार ११४ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरे । यो संख्यालाई हामीले धेरै राम्रो मान्नुपर्ने हुन्छ ।
नेपालमा औपचारिक रूपमा विदेशी पर्यटकलाई नेपाल भ्रमण गर्न अनुमति दिएको लगभग ७० वर्ष नाघ्दा पनि हामीले वार्षिक रूपमा १२ लाख विदेशी पर्यटक भित्र्याउन सकेका छैनौं । यो साह्रै दु:खद अवस्था हो । नेपाली पर्यटनको उत्थान, प्रवर्द्धन र नेपालमा पर्यटनको शुरुआती जग बसाल्नमा केही विदेशी नागरिकको महत्त्वपूर्ण योगदान रहेको थियो भन्ने हामीमध्ये जो कसैले पनि बिर्सनु हुँदैन । त्यसमा पनि विशेष गरेर बेलायती, जर्मन, जापानी, स्वीस, रूसी, फ्रान्सेली, इटालेली आदि देशका नागरिक नेपाली पर्यटन प्रवद्र्घन गर्न योगदान गरेका थिए भन्ने नेपाली पर्यटनकर्मी तथा नेपालको पर्यटनको इतिहासका जानकारहरूको भनाइ रहेको छ । त्यसैले हामीले नेपालको पर्यटनको उत्थान तथा प्रवर्द्धन गर्न शुरुआती जग बसाल्ने ती विदेशी नागरिकको महत्त्वपूर्ण योगदानलाई हार्दिक नमन गर्नुपर्ने हुन्छ । व्यक्तिगत रूपमा उनीहरूप्रति मेरो हार्दिक नमन छ । हुन पनि ती विदेशी नागरिकहरू जो नेपाल आएर बसेका थिए उनीहरू शुरूमा शुद्घ पर्यटन व्यवसायी थिएनन् । उनीहरू अन्य कुनै उद्देश्यले नेपाल आएर बसेका थिए । जस्तो कि, बेलायती नागरिक जेम्स ओबेन मेरिओस रबर्ट (जिमी रबर्ट) लाई लिन सकिन्छ । उनी बेलायती सेनाका लेफ्टिनेन्ट कर्णेल थिए । शुरूका दिनमा उनी एक कूटनीतिज्ञ मात्रै थिए । तर, पछि उनले नेपालमै बसेर पर्यटन व्यवसाय अँगाले । यस्ता व्यक्ति थुप्रै छन् जसले नेपालमा बसेर नेपाली पर्यटनमा जग बसाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । तिनीहरूकै योगदानका कारण नेपालमा पर्यटनको जग बसेको हो भन्न सकिन्छ ।
लेखक पर्यटनकर्मी हुन् ।