कात्तिक १, धादिङ । सञ्चालनमा आउने तयारी गरेको हुवासिन सिमेन्ट उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले बिजुली उपलब्ध गराउन स्विचिङ स्टेशन निर्माण गरेको छ ।
धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ ताल्तीमा निर्माण भइरहेको हुवासिन उद्योग चिनियाँ कम्पनी हो । २० मेगावाट बिजुली माग गरेको हुवासिन सिमेन्ट उद्योगका लागि सिद्धलेक गाउँपालिका–६ मा स्विचिङ स्टेशन निर्माण गरी कम बिजुली खपत हुने दशैंका समयमा चार्जजसमेत गरिएको उद्योगका जनसम्पर्क अधिकारी तुलसीजंग थापाले बताए।
मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत तनहुँस्थित तल्लो मस्र्याङ्दी विद्युत् गृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेसनमा भित्रने र बाहिरिनेछ ।
स्विचिङ स्टेशन निर्माणपछि तिहार अगाडि यो उद्योग सञ्चालनमा आउनेछ । हुवासिन सिमेन्टले आफ्नै खर्चमा स्वीचिङ स्टेसन निर्माण गर्न गत वर्ष शुरु गरेको थियो । कम्पनीले स्वीचिङ स्टेसनबाट कारखानासम्म करीब १४ किलोमिटर प्रसारण लाइन र कारखाना परिसरभित्र १३२/ १० केभीको सवस्टेसन निर्माण गरेको छ ।
स्वीचिङ स्टेसनको निर्माणपछि गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागिरहेका उद्योगलाई विद्युत् उपलब्ध गराउन पूर्वाधार तयार भएको छ । साथै त्यहाँबाट स्थानीयरुपमा विद्युत् आपूर्ति गर्न सकिने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। उद्योगले १६ अर्बको लगानी गरेको र तिहारअघि नै परीक्षण उत्पादन गर्ने बताएको छ । रासस