पुस २९, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको कुनै निष्क्रिय खाताबाट २० वर्षसम्म नझिकिएको रकम बैंकिङ विकास कोषमा जम्मा गर्न निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ११२ को उपदफा १ बमोजिमको रकम कोषमा जम्मा गर्न भनेको हो । रकम कोषमा जम्मा भए पनि निक्षेपकर्ताको विस्तृत विवरण भने बैंक तथा वित्तीय संस्थाले नै सुरक्षित राख्नुपर्ने केन्द्रीय बैंकले बताएको छ ।
यसरी कोषमा जम्मा भइसकेको रकम उपर निक्षेपकर्ता वा निक्षेपकर्ताको कानूनी हकवालाबाट सम्पूर्ण कानूनी प्रक्रिया पुरा गरी दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले प्रमाणसहित राष्ट्र बैंकमा दाबी पेश गर्नुपर्नेछ ।
आवश्यक कागजातसहित दावी पर्न आएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई बिना ब्याज रकम फिर्ता गरिने राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकको यो कोषमा जम्मा भएको रकम बैंकिङ विकासमा प्रयोग गरिने बताइएको छ ।