चितवन (अस) । रत्ननगरमा सय बेडको मातृशिशु अस्पताल निर्माण हुने भएको छ । सोमबार रत्ननगरका मेयर नारायण वनले अस्पताल भवन शिलान्यास गरेका हुन् । रत्ननगर अस्पताल परिसरमा प्रदेश सरकार र रत्ननगर नगरपालिकाको लगानीमा अस्पताल बन्न लागेको हो ।
अस्पताल निर्माणमा ९ करोड ५८ लाख रूपैयाँ खर्च हुने मेयर वनले जानकारी दिए । आफ्नो कार्यकालमा मातृशिशु अस्पताल निर्माण सुरु गरेर बिदा हुन लागेको भन्दै मेयर वनले जाँदाजाँदै नगरबासीलाई उपहारका रूपमा अस्पताल निर्माण सुरु गरेको बताए ।
पाँचतल्ले उक्त भवन २०८० सम्म निर्माण सम्पन्न गरेर अस्पताल सञ्चालन गर्ने योजना छ । अस्पतालमा आमा र बच्चाको लागि आइसीयू, सुत्केरी कक्ष, जनरल वार्ड तथा विशेषज्ञ डाक्टर कक्ष हुने वनले बताए ।
‘यो छुट्टै अस्पताल हो,’ उनले भने, ‘यस प्रकारको अस्पताल शायद नेपालमै छैन ।’ अन्य अस्पतालमा ब्लक छुट्ट्याएर आमा र बच्चाको उपचार गरिँदै आए पनि उनीहरुको मात्र उपचार गर्ने नेपालमै यो पहिलो अस्पताल हुने मेयर वनको भनाइ छ ।
उपमेयर विमला दुवाडीले नगरका सबै वडामा स्वास्थ्यचौकी सञ्चालन, रत्ननगर अस्पतालको स्तरोन्नतिपछि मातृशिशु अस्पताल सञ्चालन गर्न लागिएको बताइन् ।