विराटनगर। अमेरिका भ्रमणमा रहेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिसँग भेटघाट गरेका छन् । संयुक्त राज्य अमेरिकास्थित स्थानीय सरकारको व्यावसायिक विकास र सबलीकरणको क्षेत्रमा कार्य गर्ने संस्था इन्टरनेशनल सिटी म्यानेजमेन्ट एसोसिएसन (आइसीएमए)ले आयोजना गरेको सेमिनारमा सहभागी हुन टेक्सास पुगेका मेयर कोइरालाले सिनेटर माइकल जियानारिससहित उच्च पदस्थ व्यक्तिसँग भेटघाट गरेका हुन् ।
सिनेटर माइकलसँगको भेटमा नेपालको राजनीतिक अवस्था, विकासमा स्थानीय सरकारको भूमिका, ऐन कानून कार्यान्वयनमा देखिने समस्या लगायत विषयमा छलफल भएको थियो । मेयर कोइरालाले न्यूयोर्क सिटी शिक्षा समितिका अध्यक्ष एवं न्यूयोर्क राज्यका सिनेटर जोन सी लिउसँग पनि भेटघाट गरे । सो अवसरमा कोइरालाले विराटनगर महानगरपालिकाले शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।
मेयर कोइरालाले शिक्षा क्षेत्रको विकासका लागि सहयोगको आग्रह समेत गरे । शिक्षाको विकासविना कुनै पनि क्षेत्रको विकास नहुने भन्दै उनले सीमित स्रोतसाधनका बीच विराटनगर महानगर शिक्षाको विकासमा लागिपरेको बताए ।