म्याग्दी । अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो खसेपछि बेनी–जोमसोम–कोरला सडक र बेनी–दरबाङ सडक बुधवार बिहानैदेखि अवरुद्ध भएका छन् । मंगलवार रातिको ठूलो वर्षाका कारण म्याग्दी र मुस्ताङ जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत विभिन्न चार ठाउँमा पहिरो खसेर सडक बन्द भएको छ । त्यसैगरी पश्चिम म्याग्दीको मंगला, मालिका र धवलागिरि गाउँपालिका जोड्ने बेनी–दरबाङ सडक खण्ड पनि पहिरोले अवरुद्ध भएको छ । पहिरोले उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३ चमेरे, रघुगंगा–१ बेगखोला र अन्नपूर्ण–३ दानामा बेनी–जोमसोम–कोरला सडक खण्डमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ ।
सडक माथिबाट खसेको लेदो, ढुंगामाटो र गेगरसहितको पहिरोले सडक पुरिएपछि यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताए ।
उता, पश्चिम म्याग्दीका तीन गाउँपालिका र बागलुङका विभिन्न गाउँ जोड्ने बेनी–दरबाङ सडक अवरुद्ध हुँदा यातायात ठप्प भएको छ । सडक माथिबाट खसेको पहिरोले बेनी नगरपालिका–४ घुमाउनेभीर तथा मालिका–६ दरबाङको बांगे पहिरो भन्ने ठाउँमा सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले बताएको छ । सडक खुलाउने प्रयास भइरहे पनि लेदो बगिरहेकाले समस्या भएको प्रहरीले बताएको छ ।
मंगलवार राति म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनको छिस्बाङ खहरे खोलामा आएको बाढीले घर बगाउँदा दुईजनाको ज्यान गएको छ ।