६३ प्रतिशत मुद्दा फर्स्योट

चितवन । जिल्ला अदालत चितवनले गत आर्थिक वर्षमा ६३ दशमलव ५५ प्रतिशत मुद्दा फर्स्योट गरेको छ ।  ३ हजार ८३० मुद्दामध्ये उक्त अवधिमा २ हजार ४३४ फर्स्योट भएका छन् । अदालतका तहसिलदार पुरुषोत्तम पौडेलका अनुसार गत वर्ष नयाँ दर्ता भएका र अघिल्लो आवबाट जिम्मेवारी सरी आएका गरी ३ हजार ८३० मुद्दा रहेका थिए । तीमध्ये गत आवमा परेका २ हजार ४५९ र अघिल्लो आवबाट जिम्मेवारी सरी आएका १ हजार ३७१ मुद्दा हुन् । उनका अनुसार ती मुद्दामध्ये २ हजार ४३४ फर्स्योट भएका छन् । एक हजार ३९६ मुद्दा यस वर्षका लागि जिम्मेवारी सरेको उनले जानकारी दिए । यस्तै, ७६९ जनालाई पक्राउ गरी फैसला कार्यान्वयन गराइएको छ । जिम्मेवारी सरी आएका ५ हजार ३२१ जना र गत वर्षका ७६९ मध्ये सो संख्यामा पक्राउ गरी फैसला कार्यान्वयन गराइएको हो । पौडेलका अनुसार चालू आवका लागि ५ हजार ३२१ जनाबाट फैसला कार्यान्वयनका लागि जिम्मेवारी सरी आएको छ । उनीहरुबाट २ हजार ६६८ वर्ष ६ महिना २० दिन कैद र १५ करोड ९८ लाख ५ हजार ६८९ जरिवाना असुल गर्न बाँकी रहेको उनले बताए । पक्राउ परेकाबाट १ हजार ६१ वर्ष ६ महिना १६ दिन कैद भुक्तान गरिएको छ भने ९ करोड ३४ लाख ४४ हजार ३१० जरिवाना असुल गरिएको छ । कोरोना संक्रमणका कारण स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाको समय अदालतमा काम नहुँदा फैसला कार्यान्वयन बन्द भएपछि फस्र्योट कम भएको देखिएको उनको भनाइ छ । रासस