सीमा मिच्न दशगजामा राखिएको एसएसबीको पोष्ट नेपालीले हटाए

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नं १० स्थित दशगजामा बनाइएको भारतीय सुरक्षा बल एसएसबीको पोष्ट स्थानीयले हटाइदिएका छन् । एसएसबीले बेलौरि नगरपालिका–१० भुडामा सीमा स्तम्भ नम्बर ३४ र ३५ का बिचमा रहेको दशगजा क्षेत्रमा अस्थायी पोस्ट खडा गरेको थियो । त्यसबारे जानकारी पाउनासाथ स्थानीयको पहलमा सो पोष्ट हटाउन लगाइएको अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लवराज भट्टले जानकारी दिनुभयो । भारतीय पक्षले नेपाली भूमी मिच्ने उद्देश्यका साथ सो सीमा पोष्ट खडा गरेको स्थानीयको भनाई छ । सीमा पोष्ट हटाउन सशस्त्र प्रहरीको टोली त्यहाँ पुगेको थियो । पोस्ट हटाउन गएको नेपाली टोलीसँग भारतीय एसएसबीले भारतबाट नेपालमा हुने तस्करी रोक्न पोस्ट राखेको दाबी गरेका थिए । सशस्त्र प्रहरीको दबाब र स्थानीयको विरोधपछि भारतीय सुरक्षा फौज त्यहाँबाट हट्न बाध्य भएको छ । अन्य स्थानमा पनि दशगजा वा नेपाली भूमी भित्र यस्ता गतिबिधीहरु भारतीय पक्षबाट हुन सक्ने भन्दै तत्काल प्रतिवाद गर्न र सूचना सम्प्रेषण गर्न अन्तर्राष्ट्रिय सीमा सरोकार समूहले आग्रह गरेको छ ।