अन्तरराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गठन

मंसिर १८, काठमाडौं । नेपाली उत्पादनलाई विश्वबजारमा पहुँच अभिवृद्धि गर्ने र युवालाई रोजगारी सृजना गर्ने उद्देश्यले अन्तरराष्ट्रिय नेपाली युवा उद्यमी महासंघ स्थापना गरिएको छ ।             विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई समेटेर स्थापना गरिएको महासंघले नेपाली उत्पादनको विदेशमा प्रदर्शनी, बजारीकरणलगायत विषयमा सहजीकरण गर्ने र बढीभन्दा बढी युवालाई स्वरोजगार बनाउने लक्ष्य लिएको छ ।             उक्त संस्थाको शुक्रवार राति पूर्वराष्ट्रपति डा रामवरण यादवले उद्घाटन गर्दै विदेशी ज्ञान, सीप र प्रविधि भित्र्याएर युवा उद्यमशीलता विकासमा संस्थाले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे।  जन्मभूमिलाई कसरी आर्थिकरुपमा समृद्धि बनाउने भन्ने युवामा सपना र भिजन रहेको भन्दै उनले त्यसलाई साकार बनाउन उचित वातावरण बनाउन सरोकारवालाले सहयोग गर्न जरुरी रहेको बताए ।             पूर्वराष्ट्रपति यादवले नेपाल अनुपम प्राकृतिक सुन्दरता र भौगोलिक विविधतायुक्त मुलुक विश्व पर्यटनका लागि आकर्षक गन्तव्य रहेको भन्दै देश घुम्ने र विश्वभरबाट पर्यटक नेपालमा भित्र्याउन पनि संस्थाले भूमिका खेल्नुपर्नेमा जोड दिए। तराईको जङ्गल र चुरे क्षेत्र विनाश भइरहेको र विकासका नाममा डोजर लगाएर डाँडाकाँडा भत्काइएकोप्रति चिन्ता व्यक्त गर्दै उनले जलवायु परिवर्तनको जोखिम नियन्त्रणका लागि पर्यावरण र चुरे क्षेत्रको संरक्षणमा विशेष ध्यान दिनुपर्ने खाँचो औंल्याए।        नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कला र संस्कृति बनाउन संस्थागत लगानी आवश्यक रहेको भन्दै नेपाली चलचित्रमा आधुनिक प्रविधिको उच्चतम प्रयोगले विश्व बजारमा प्रतिस्पर्धी बनाउन चलचित्र क्षेत्र लागि परेको बताए ।             नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले विदेशी युवा उद्यमीको माध्यमबाट लगानी र प्रविधि भित्र्याएर आर्थिक विकासमा सरिक गराइनुपर्नेमा जोड दिए। नेपाल उद्योग वाणिज्य महासंघका उपनिर्देशक गोकर्णराज अवस्थी, शिक्षा उद्यमी दिराज शर्मा, पर्यटन व्यवसायी सुमन पान्डेलगायतले नेपालमा विदेशी लगानी भित्र्याउन महासङ्घले समन्वयकारी भूमिका खेल्नुपर्ने धारणा राखेका थिए ।             महासंघका अध्यक्ष स्वतन्त्रप्रताप साहले चीन, हङ्कङ, अमेरिका, बेलायत अष्ट्रेलियालगायत ११ ओटा मुलुकका युवा उद्यमीलाई समेटिएको र अन्य मुलुकका युवा उद्यमीलाई पनि संस्थामा आबद्धता गरिने जानकारी दिए। रासस