कर्णाली प्रदेशद्वारा कर्मचारीलाई १२ दिन पर्यटन बिदा दिने योजना

जेठ ३१,  वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले आन्तरिक पर्यटनका लागि कर्मचारीलाई १२ दिन पर्यटन बिदा दिने भएको छ । कोरोनाका कारण धरासायी भएको पर्यटन क्षेत्रलाई उकास्न कर्णाली सरकारले बिदाको योजना बनाएको हो । कर्णाली प्रदेशलाई आकर्षक, साहसिक र विशिष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने र यसका लागि प्रदेश पर्यटन गुरुयोजना अनुसारका गन्तव्य विकास र प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।  ‘यस कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रहरूमा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न कर्मचारीलाई पर्यटन खर्चसहितको १२ दिनको पर्यटन बिदा उपलब्ध गराइनेछ,’ प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले भने ।  नीति कार्यक्रम पेश गर्दै कलौनी भने, ‘प्रदेश पर्यटन गुरुयोजना अनुसार सुनौलो त्रिभुज (काँक्रेविहार–रारा–फोक्सुन्डो) र सुनौलो सिक्री (वीरेन्द्रनगर–हिल्सा–मानसरोवर) जोड्ने अवधारणा अनुसार यस मार्ग र आसपासका (काँक्रेविहार, पञ्चकोशी, पचाल झरना, पिलि, सिँजा जुम्ला, कुभिण्डे दह, स्यार्पु, चित्री पाटन, साङ्ट गुफा, मालारानी गुफा आदि) पर्यटकीय पूर्वाधारको विकासलाई अगाडि बढाइने छ ।’  कालिकोटको पिली, रुकुमको खारा, जाजरकोटको जुनीमा युद्ध संग्रहालय निर्माण र अन्य सामारिक स्थानमा सम्भाव्यताको अध्ययन गरी युद्ध पर्यटन छनौट गर्ने नीति तथा कार्यक्रम समेटिएको जानकारी दिइएको छ । यस्तै रेड पाण्डा, यार्सा र गुरिल्ला ट्रेललगायत अन्य सम्भावित पदमार्गहरूको ‘पदमार्ग परीक्षण’ गरी सञ्चालनमा गर्ने योजना निति तथा कार्यक्रममा उल्लेख छ ।

सम्बन्धित सामग्री

कर्णाली प्रदेश सरकारले कर्मचारीलाई १२ दिन पर्यटन बिदा दिने

काठमाडौँ । कर्णाली प्रदेश सरकारले कर्मचारीलाई १२ दिन पर्यटन बिदा दिने भएको छ । शनिवार प्रदेश सभामा प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रममा केन्द्र सरकारको सिको गर्दै कर्मचारीलाई १२ दिन पर्यटन खर्च सहित पर्यटन बिदा दिने निर्णय गरेको हो । कर्णाली प्रदेश सरकारले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि कर्मचारीहरूलाई १२ दिन बिदा दिने योजना नीति तथा […]